कारोबार


विराटनगरमा घर निर्माण मेला: ७० ब्रान्डका स्टलदेखि वास्तु र होम अटोमेसनसम्मको ‘फुल प्याकेज’

विराटनगरमा घर निर्माण मेला: ७० ब्रान्डका स्टलदेखि वास्तु र होम अटोमेसनसम्मको ‘फुल प्याकेज’

नेपालखबर
चैत १२, २०८२ बिहिबार १२:२८, काठमाडौँ

उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा आज (बिहीबार) देखि ‘घर निर्माण प्रदर्शनी २०२६’ सुरु भएको छ। विराटनगरस्थित जैन भवनमा आगामी चैत १६ गतेसम्म चल्ने प्रदर्शनीमा निर्माण क्षेत्रका नवीनतम् प्रविधि र सामग्रीको प्रदर्शनी गरिनेछ।

कोशी प्रदेशमा पहिलो पटक यस प्रकृतिको बृहत् प्रदर्शनी आयोजना गरिएको सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा ७० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका स्टलहरू रहेका छन्।

यस्ता छन् आकर्षण
प्रदर्शनी केवल सामग्री प्रदर्शनमा मात्र सीमित नभई ज्ञान आदानप्रदानमा समेत केन्द्रित रहने आयोजकले जनाएको छ। ५ दिने मेलामा विभिन्न ११ वटा थिमेटिक सेसन (विषयगत सत्र) सञ्चालन हुनेछन्।

सुरक्षित निर्माण (चैत १३): निर्माण सामग्रीको गुणस्तर, विद्युतीय सुरक्षा र अग्नि नियन्त्रण प्रणालीबारे ४ वटा सत्रमा विज्ञहरूबीच छलफल हुनेछ।

स्मार्ट डिजाइन (चैत १४): आधुनिक इन्टेरियर डिजाइन र वास्तुशास्त्रका पछिल्ला अवधारणाहरुबारे प्रस्तुति दिइनेछ।

आधुनिक जीवनशैली (चैत १५): होम अटोमेसन र सोलार प्रविधिमार्फत 'स्मार्ट होम' बनाउने विषयमा केन्द्रित सत्रहरू हुनेछन्।

मर्मत र रेट्रोफिटिङ (चैत १६): अन्तिम दिन घरको मर्मत सम्भार, सिपेज (चुहावट) नियन्त्रण र रेट्रोफिटिङका प्राविधिक विषयमा ३ वटा सत्र सञ्चालन हुनेछन्।

सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको यस मेलामा अवलोकनकर्ताले निर्माण क्षेत्रका प्राविधिकहरूसँग घर निर्माणका प्राविधिक पक्षबारे निःशुल्क परामर्श समेत लिन पाउने व्यवस्था मिलाइएको छ। निर्माण क्षेत्रका विभिन्न आयामबारे आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको सङ्गठनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad