हिमालयन रिइन्स्योरेन्स तथा अन्य पब्लिक कम्पनीका सहायक कम्पनीको रकम दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टले उधारोमा सेयर कारोबार गर्ने र त्यसलाई भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीले सघाउने गरेको तथ्य पत्ता लागेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ले यस्तो तथ्य बाहिर ल्याएको हो।
प्रतिवेदनअनुसार भट्टले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीबाट २०८२ साउन ५ देखि चैत १ सम्म ३ अर्ब ८० करोड ५३ लाख ८३ हजार ०८७ रुपैयाँ ९० पैसा बराबरको धितोपत्र (सेयर) खरिद गरेका र त्यसबापतको कुनै पनि रकम भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ। तर, उक्त कारोबार भने भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीले पैसा नै नलिई राफसाफ तथा फर्छ्योट गरेको पाइएको छ।
भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीबाट भट्टले धितोपत्रहरु नबिल डिबेन्चर २०८५, नबिल डिबेन्चर २०९०, नेपाल एसबीआई बैंक डिबेन्चर २०८३, एसबीएल डिबेन्चर २०८९ र नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र कारोबार गर्दा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम अग्रिम भुक्तानी गर्नुपर्ने कम्तीमा २५ प्रतिशत रकम नदिई/नलिई कारोबार भएको देखिएको हो।
प्रतिवेदनअनुसार भट्टले गत असार १६ गतेसम्म भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिलाई १ अर्ब ३६ करोड ९ लाख ३२ हजार ३४९ रुपैयाँ ३२ पैसा तिर्न बाँकी देखिन्छ। उनले उक्त अवधिमा नेपाल रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर खरिद बिक्री गरेको देखिएको छ।
सुलभ–दीपकको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा, हिमालयन रिबाट पनि कागजात नियन्त्रणमा
भृकुटीले सेयर खरिदबिक्री तथा धितो (कोल्याट्रल)बापत लिइने रकमलाई नियमानुसार अलग्गै राख्नुपर्नेमा राफसाफ (सेटलमेन्ट) प्रक्रियामा प्रयोग गरेको देखिएको छ। उक्त कम्पनीले एक करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेका लगानीकर्ताको रकमसमेत अन्य कारोबार मिलाउन प्रयोग गरेको पाइएको छ।
विशेषगरी, दीपक भट्टले खरिद गरेको सेयरको भुक्तानी नगरी अन्य व्यक्ति तथा संस्थाहरूको बाँकी रकम प्रयोग गरी राफसाफ गरिएको अनुसन्धानमा देखिएको छ।
भट्टको एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्गसको ४.५ प्रतिशत स्वामित्व रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी लिको शतप्रतिशत स्वामित्व रहेको हिमालयन क्यापसर्व, भट्टकै १५ प्रतिशत स्वामित्व रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी समेतको मिलेमतोमा नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य बढाउने प्रपञ्च रचेको प्रतिवेदनमा उल्लेख छ।
यसरी सेयर खरिदबिक्रीका लागि रकम लेनदेन नगर्ने काम गरेर बजारमा नेपाल रिइन्स्योरेन्सको सेयर मूल्यमा कृत्रिम माग सिर्जना गराई गत साउन ५ मा रहेको सेयर मूल्य एक हजार ४६१ रुपैयाँबाट बढाएर भदौ १० मा एक हजार ६८६ रुपैयाँ १० पैसा पु¥याइएको प्रतिवेदनमा उल्लेख छ। यसरी दोस्रो बजार प्रणालीलाई झुक्याई नेपाल रिइन्स्योरेन्सको सेयरको मूल्य बढाउने कार्य गरी धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुर गरेको प्रतिवेदनमा उल्लेख छ।
यो काममा मुख्यगरी रुपमा दीपक भट्ट र भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालि तथा सहयोगीको रुपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ताको रकम प्रयोग भएको देखिएको प्रतिवेदनमा उल्लेख छ।
त्यति मात्रै होइन, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका तत्कालीन अध्यक्ष सुलभ अग्रवालकी शुभी अग्रवालले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीलाई ६२ करोड ८९ लाख ५६ हजार ३७१ रुपैयाँ नतिरेको तथ्य पत्ता लागेको छ।
धितोपत्र बोर्डले गरेको अनुसन्धानअनुसार, शुभी अग्रवालले सुलभ अग्रवाल अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सको सेयर कारोबार गर्दा भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीलाई पैसा नतिरेको तथ्य पत्ता लागेको हो। उनले २०८१ असोज २२ गतेदेखि अहिलेसम्म कारोबार गर्दा कुनै पनि रकम भुक्तानी नगरेको देखिएको हो।
त्यस्तो कारोबारमा अग्रिम रकम नराख्दा पनि शुभीले धमाधम कारोबार गर्न पाएकी थिइन्। अनुसन्धान प्रतिवेदनअनुसार, २०८२ माघ २३ गतेदेखि यता भएको कारोबारमध्ये कुनै पनि रकम भुक्तानी भएको छैन।
व्यवसायी दीपक भट्ट र शंकर समूह आबद्ध रहेको आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरुको अनलाइन कारोबार प्रणाली (टीएमएस) समेत एकै व्यक्तिले चलाउने गरेको तथ्य अनुसन्धानले पत्ता लगाएको छ।

Shares

प्रतिक्रिया