अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गल्ती नगरेका उद्योग व्यवसायी अहिलेको सरकारसँग डराउन नपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार काठमाडौँमा आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटको छलफल कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै वाग्लेले उद्योग व्यवसायको नाममा आपराधिक काम गर्नेलाई भने नछाड्ने बताए।
‘गल्ती नभएका उद्योगी व्यवसायी डराउनु पर्दैन। उद्योग व्यवसायको नाममा अपराधी नै बनेर हिडेका व्यक्तिहरु चाहिँ डराए हुन्छ,’ वाग्लेले भने।
आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको लागि बुस्टअप गर्ने योजना ल्याउन लागेको वाग्लेले बताएका छन्।
‘निजी लगानी प्रवर्द्धन र आकर्षित गर्ने कार्यक्रम बजेटमा आउँछ’ वाग्लेले भने, ‘बजेटले स्वास्थ्य र शिक्षामा मध्यमवर्गको बोझ घटाउने र मध्यमवर्गको संख्या विस्तार गर्ने कार्यक्रम आउँछ।’
आगामी पाँच सात वर्षसम्म ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र अर्थतन्त्रको आकार १०० अर्ब डलर बनाउन योगदान गर्ने बजेट बनाउने तयारी गरिरहेको वाग्लेले बताए।
अबको बजेटले आर्थिक राजकाजको जहाज मोड्ने पक्षमा आफू रहेको वाग्लेको भनाइ छ।
आगामी दिनमा विगतका निस्प्रभावी आयोजना खारेज गर्ने, करको दर र कर प्रणाली सुधार गर्ने गरि बजेट बनाउन लागेको अर्थमन्त्रीले बताए।
‘पैसा खन्याएर भन्दा पनि नीति सुधारेर जाने पक्षमा छौँ। सार्वजनिक प्रशासनलाई डिजिटल प्रणालीमा सुधार गर्न प्रतिवद्ध भएर लागेका छौँ’ वाग्लेले भने।
Shares

प्रतिक्रिया