कारोबार


व्यवसायीलाई अर्थमन्त्रीले भने– अब पक्राउ गर्ने लामो सूची छैन, अनावश्यक शंका नगर्नुस्

‘पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी र सहभागिता खुल्ला गर्छौँ’
व्यवसायीलाई अर्थमन्त्रीले भने– अब पक्राउ गर्ने लामो सूची छैन, अनावश्यक शंका नगर्नुस्

महासंघको साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्ले (रासस)


नेपालखबर
बैशाख २१, २०८३ सोमबार १३:२४, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी तथा व्यवसायीहरुलाई नआत्तिन र नडराउन पुनः आग्रह गरेका छन्। 

अर्थमन्त्री बनेयता सधैँजसो यस्तो आग्रह गर्दै आएका उनले सोमबार नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा पनि सोही आग्रह दोहोर्‍याएका हुन्। 

यद्यपि उनले आपराधिक कृत्यमा संलग्न हुनेले भने सजाय भोग्नैपर्ने बताए। 

‘उद्योगी व्यवसायी डराउनुपर्दैन तर उद्योग व्यवसायको आवरणमा आपराधिक कुकृत्यमा संलग्न भएका छन भने उनीहरुले सजाय भोग्नुपर्छ’, उनले भने, ‘हामीले नयाँ अनुसन्धान गरेका होइन, पुराना अनुसन्धान जसलाई राजनीतिक आवरणमा लुकाएको, तामेलिमा राखेको फाइल खोलेका मात्रै हौँ।’

सरकारमाथि अनावश्यक शंका नगर्नुस्’
उनले सरकारमाथि अनावश्यक संशय नराख्न आग्रह गरे। उनले थपे, ‘अनावश्यक संशय राख्नुपर्दैन। तरङ्गित हुन पर्दैन। पक्राउ गर्ने लामो सूची छैन।’

सरकारले के गर्छ भनेर द्विविधा राख्न नपर्ने उनको भनाइ थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाचापत्रमा लेखेका कुरा धमाधम कार्यान्वयन भइरहेको बताउँदै अर्थमन्त्री वाग्लेले त्यहाँ लेखेका र बोलेका कुरा भटाभट कार्यान्वयन भइरहेको बताए। 

‘निजी क्षेत्रलाई पखेटा फिँजाएर उड्न दिने हो। तर, त्यहाँ दह्रो राज्यका संयन्त्रको उपस्थिति हुन्छ।’ 

उनले निजी क्षेत्रलाई बाधा पुर्याएको, लगानी निरुत्साहित गरेका २ दर्जन ऐन खारेज गर्ने भनेको पनि अवगत गराए। 

‘१५ वटा कानुन खारेज गर्ने निर्णय भएको छ’, उनले थपे, ‘आगामी बजेटबाट करहरुको अत्यधिक बोझ घटाउनेछौँ।’

जनताले विपुल मतादेश दिएकाले त्यसलाई न्याय गर्ने उनले उल्लेख गरे। 

‘निजी क्षेत्रले पनि अभूतपूर्व जनादेशलाई शिरोपर गर्नुको विकल्प छैन। देश बनाउन निजी क्षेत्रको सहयोग र सहभागिताविना सम्भव छैन भन्ने बुझेका छौँ’, उनले भने। 

सरकारले मात्रै पुँजीगत खर्च गरेर देश नबन्ने भएकाले पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी र सहभागिता खुल्ला गर्ने पक्षमा रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad