कारोबार


बालेन सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

बालेन सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १७:४४, काठमाडौँ

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुवै सदनको संयुक्त बैठकमा आगामी आवको आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन्। यो बजेट हालसम्मकै ठूलो हो।

अर्थमन्त्री वाग्लेले चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत बजेट विनियोजन गरेका हुन्। 

त्यसैगरी पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत बजेट छुट्याएको मन्त्री वाग्लेले बताए। 

यो बजेट चालू आवको संशोधित अनुमानको २५ प्रतिशत बढी हो।

चालू आर्थिक वर्षका लागि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए। 

यसमा चालू खर्चको लागि ११ अर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरिएको थियो। 

तर ०८२ भदौको जेनजी प्रदर्शनपछि उक्त बजेट कार्यान्वयन भने सुशीला कार्की नेतृत्वमा बनेको सरकारले गरेको थियो। कार्की सरकारका अर्थमन्त्री रामेश्वर खनालले उक्त बजेट पूरै खर्च नहुने अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान गरेको थियो।  

अर्धवार्षिक समीक्षाअनुसार सुरु विनियोजनको ८५.९६ प्रतिशत मात्रै खर्च हुने अनुमान छ। यसअनुसार चालू आवमा १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ कुल बजेट खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad