कारोबार


पासपोर्ट ठेक्का प्रक्रियामा पूर्वपरराष्ट्रमन्त्री आरजु राणामाथि पनि अनुसन्धान, हाजिर हुन म्याद तामेली

पासपोर्ट ठेक्का प्रक्रियामा पूर्वपरराष्ट्रमन्त्री आरजु राणामाथि पनि अनुसन्धान, हाजिर हुन म्याद तामेली

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८३ बिहिबार १४:२३, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइको ठेक्काका विषयमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि पनि अनुसन्धान गरिरहेको छ। 

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अख्तियारले आरजुलाई पनि हाजिर हुन सूचना जारी गरेको हो। 

गएको मंगलबार आरजुको नाममा पनि म्याद तामेली गरिएको छ। म्याद तामेलीका लागि सुरुमा बूढानीलकण्ठस्थित जलेको र भत्काइएको घरमा पुगेको अख्तियारको टोलीले देउवाका स्वकीय समेत रहेका भानु देउवालाई म्याद बुझाएको छ।

मंगलबार अख्तियारका कर्मचारी र प्रहरी बूढानीलकण्ठस्थित देउवाको घर रहेको स्थानमा पुगेका थिए। तर त्यहाँ म्याद तामेल गर्न कसैलाई पनि नभेटेपछि भानु देउवालाई बूढानीलकण्ठ नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले फोन गरेका थिए। 

उनले म्याद तामेलीबारे जानकारी गराएपछि भानुले आफूलाई पत्र पठाइदिनु भन्दै म्याद बुझिदिने बताएपछि उनैलाई पत्र दिएको थियो।

पत्रमा राहधानी छपाइको विषयमा अनुसन्धान भइरहेको र त्यस विषयमा थप बुझ्न आवश्यक देखिएको भन्दै हाजिर हुन भनिएको छ।

सूचनामा बाटोको म्यादबाहेक तीनदिन भित्रमा उपस्थित हुन भनिएको छ। 

‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहधानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानकाृ सिलसिलामा तपाईसँग बयान लिनु पर्ने भएकाले यो सूचना बुझेको वा तपाईंको घर दैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ दिनभित्र यस आयोगको महाशाखा नं १२ कोठा नं १ टंगाल, काठमाडौँमा उपस्थित हुन आउनु होला, नआए कानुन बमोजिम हुनेछ’, सूचनामा भनिएको छ। 

तर आरजु भने पति शेरबहादुर देउवासहित हङकङमा रहेको बताइएको छ। 

राहदानी छपाइको ठेक्का प्रक्रिया गर्दा आरजू परराष्ट्रमन्त्री थिइन्। मिलेमतोमा बढी मुल्यमा ठेक्का दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ। 

यही कसुरमा राहधानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, ठेक्का पाउने जर्मन कम्पनी म्युहलबाहुर आइडी सर्भिसको नेपाली एजेन्ट नमस्ते ग्लोबल कम प्रालिका प्रमुख कार्यकारी अधिकृत मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई हिरासतमा राखेर अख्तियारले बयान लिइरहेको छ। 

अन्य कर्मचारी तथा ठेक्कापट्टासँग सम्बन्धीत व्यक्तिमाथि पनि अख्तियारले अनुसन्धान गरिरहेको छ।

यो पनि–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad