प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले पुँजी बजार, बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीसँग सम्बन्धित सांसदहरूले उठाएका विषयमा १० दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ।
अर्थ समितिमा बुधबार सांसदहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)का पदाधिकारीसँग छलफल गरेका थिए।
उक्त छलफलपछि सांसदले उठाएका विषय समेटेर अध्ययन गर्न र कार्यान्वयन गर्न सकिने तथा नीतिगत रूपमा सुधार गर्नुपर्ने विषय छुट्याई १० दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।
अर्थ–समितिको हलमा भएको बैठकमा सांसदहरूले पुँजी बजारको दीर्घकालीन रणनीति र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने कार्ययोजना ल्याउन सेबोनका पदाधिकारीलाई भनेका थिए।
सांसदहरूले सर्ट सेलिङ, नयाँ वित्तीय उपकरण कार्यान्वयन, बजारमा संस्थागत लगानीकर्ता विस्तार, बैंक तथा पुँजी बजारबीचको समन्वय, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा नीतिगत स्थायित्वमा ध्यान दिन सेबोनका पदाधिकारीहरुलाई भनेका थिए।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले भनिन्, ‘नेपालमा ७९ लाख डिम्याट खाता र ७० लाखभन्दा बढी मेरो शेयर प्रयोगकर्ता रहेको तथ्यांक प्रस्तुत भयो। यति ठूलो लगानीकर्ताको आधार हुँदाहुँदै मार्केट डेप्थ र तरलता सीमित देखियो। दीर्घकालीन तथा संस्थागत लगानी बढाउने ठोस रणनीतिहरु के छ?’
सेबोनले कर्पोरेट बन्ड मार्केट, एसएमई एक्सचेन्ज, आरईआईटी, ईटिएफ, भेन्चर क्यापिटल लगायत नयाँ उपकरणहरूको कुरा वर्षौंदेखि गरेको सुनेको तर ती उपकरण कहिल्यै सञ्चालनमा नआएको भन्दै राणाले सेबोनका पदाधिकारीसँग स्पष्ट कार्ययोजना र समयसीमा मागेकी थिइन।
नेकपा (एमाले) का सांसद डा. पुष्पराज कडेलले प्रारम्भिक सेयर निष्काशन (आईपीओ) र हकप्रद शेयर स्वीकृतिमा सेबोनले ढिलाइ गरेको बताए। उनले भने, उनले भने, ‘आपिओ र राइट शेयरका लागि सयौं कम्पनीहरू अहिले पाइपलाइनमा छन्। बोर्ड अध्यक्ष सँधै परिवर्तन भइराख्ने र निर्णय गर्न डराउने भएकोले धेरै कम्पनीहरु पेन्डिङमा बसेको जस्तो लाग्छ। यी काम छिटो गरौँ।’
नेपालको पुँजी बजारले अझै उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी परिचालन गर्न नसकेको कडेलको भनाई छ। कडेलले भने, ‘प्रोडक्टिभ सेक्टरमा अथवा अलि लङ–टर्म इन्भेस्टमेन्ट जानु पर्ने ठाउँमा हाम्रो लगानी भइरहेको छैन। आगामी दिनमा जुन क्षेत्रमा बढी फाइदा हुन्छ त्यही क्षेत्रमा लगानी बढाउन आवश्यक छ।’
त्यसैगरी, नेपाली काँग्रेसका सांसद नरेन्द्र केरुङले निजी क्षेत्र र लगानीकर्तामा सरकारप्रतिको विश्वास कमजोर बन्दै गएको बताए। शेयर बजारमा आएको निरन्तर गिरावटले निराशा बढाएको उनको भनाई छ। उनले बैठकमा लगानीकर्ताको मनोबल उकास्ने ठोस उपायबारे सरकार र नियामकको योजना माग गरेका छन्।
केरूङले बैठकमा भने, ‘निजी क्षेत्र किन हामीसँग विश्वस्त हुन सकिरहेका छैनन्? हामीसँग लगानीको वातावरण पनि छ, तर निजी क्षेत्र विश्वस्त हुन सकिरेको छैन स्थिर सरकार पनि छ, बजार धेरै घट्यो। समितिमा ध्यानाकर्षण गराइदिनु पर्यो। अर्थमन्त्रीलाई भनिदिनुप¥यो भनेर फोन आउने गरेको छ।’
नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले बैंकिङ प्रणालीमा तरलता पर्याप्त हुँदा पनि बैंक र पुँजी बजार दुवै सुस्त हुनुको कारण सोधेका थिए। उनले भने, ‘बैंक र क्यापिटल मार्केटको सम्बन्ध किन मिलेको छैन। बैकमा यति धेरै पैसा थुप्रिएको छ। कि बैंक चल्नुपथ्र्यो कि धितोपत्र बजार चल्नुपथ्र्यो। हाम्रो त दुइटै चलेन। किन यस्तो भयो?’
नेपाली काँग्रेसका सांसद खडकबहादुर बुढाले दुईतिहाइ नजिकको स्थिर सरकार हुँदासमेत पुँजी बजार अपेक्षाअनुसार सुधार हुन नसकेको टिप्पणी गरे। उनले बजारमा चलखेल, कमजोर नियमन र स्वार्थ समूहको प्रभाव अन्त्य गर्न सेबोनले थप प्रभावकारी र कडाइका साथ नियामकीय व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया