नेपालमा रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारले खरिद गरेको रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुग्ने क्रम जारी छ।
हाल ३० हजार मेट्रिकटन डीएपी मल भारतको विशाखापट्टनम बन्दरगाहमा र २७ हजार मेट्रिकटन डीएपी मल भारतको कोलकत्ता बन्दरगाहमा आइपुगेको छ।
दुवै पोर्टमा हाल प्याकिङ भइरहेको र विशाखापट्टनम पोर्टबाट मल रेकमा लोड भई बुधबार हिँडेको र कलकत्ताबाट पनि छिट्टै मल लोड हुने क्रममा रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सरकार-सरकार (जीटुजी) सम्झौताअन्तर्गत खरिद गरिएको अर्को डीएपी मल साउन ३ गते कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका छ।
त्यस्तै ३० हजार र ३० हजार गरी दुईवटा युरिया मल लोड भएका जहाजहरू साउन १ गते कोलकाता बन्दरगाहमा आइपुग्ने कार्यक्रम छ।
हाल मल वितरक दुवै कम्पनीसँग मौज्दातमा रहेका मलहरू मल वितरण व्यवस्थापन कार्यविधिबमोजिम बिक्री वितरण भइरहेको, कोलकाता बन्दरगाहमा आइपुगेका र आउने क्रममा रहेका मलहरूलाई आवश्यक भन्सार तथा ढुवानी प्रक्रिया पूरा गरी चरणबद्धरूपमा नेपाल भित्र्याइने मन्त्रालयले जनाएको छ।
कृषि उत्पादन वृद्धिमा किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन आपूर्ति व्यवस्थापन र समन्वयलाई तीव्र बनाइएको कृषि, वन तथा पर्यावरण मन्त्रालयको स्वकीय सचिवालयले जनाएको छ।

प्रतिक्रिया