कारोबार


काठमाडौं महानगरमा सम्पत्ति मूल्यांकनका आधारमा लाग्ने कर यथावत्

१ करोडको १ हजार, १० करोडमाथिको ०.६ प्रतिशत
काठमाडौं महानगरमा सम्पत्ति मूल्यांकनका आधारमा लाग्ने कर यथावत्

नेपालखबर
साउन ३, २०८३ आइतबार १६:४०, काठमाडौँ

चालू आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले सम्पत्तिको कुल मूल्याङ्कनका आधारमा न्यूनदेखि अधिकतम शून्य दशमलव ६ प्रतिशतसम्म करको विगत दरलाई यथावत् कायम राखेको छ।

नगर सभा १९ औँ अधिवेशनबाट पारित आर्थिक ऐनमा यस सम्बन्धी व्यवस्था छ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ अगाडिसम्म घरजग्गा कर लिने गरेको थियो। त्यस वर्षदेखि सम्पत्ति कर लिन थालिएको हो। वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाका अनुसार त्यस वर्ष निर्धारण गरिएको सम्पत्ति कर अहिलेसम्म परिवर्तन गरिएको छैन। 

सम्पत्तिको मूल्याङ्कन जति बढ्दै जान्छ, करको दर पनि सोही अनुपातमा बढ्दै जाने ऐनमा व्यवस्था गरिएको छ। जसअनुसार सुरुको १ करोड रुपियाँसम्मको मूल्याङ्कनमा शून्य दशमलव ०१० प्रतिशत अर्थात् १ हजार रुपियाँ कर लाग्नेछ। २ करोड रुपैयाँसम्मको मूल्याङ्कनमा थप शून्य दशमलव ०१५ प्रतिशत अर्थात् २ हजार ५ सय रुपियाँ कर लाग्नेछ। ३ करोडसम्ममा जम्मा थप शुन्य दशमलव ०२० प्रतिशत अर्थात् ४ हजार ५ सय रुपियाँ, ४ करोडसम्मको मूल्याङ्कनमा थप शून्य दशमलव ४० प्रतिशत अर्थात् ८ हजार ५ सय रुपियाँ सम्पत्ति कर लाग्नेछ। ५ करोडसम्मको मूल्याङ्कन भएमा थप शून्य दशमलव ६० प्रतिशत अर्थात् १४ हजार ५ सय रुपैयाँ कर बुझाउनु पर्नेछ।

त्यसैगरी, ६ करोड रुपियाँ मूल्याङ्कन भएमा थप शून्य दशमलव १०० प्रतिशत अर्थात् २४ हजार ५ सय रुपैयाँ, ८ करोडसम्मको मूल्याङ्कनमा थप शून्य दशमलव ३०० प्रतिशत अर्थात् ८४ हजार ५ सय रुपियाँ र १० करोड रुपैयाँसम्मको सम्पत्ति मूल्याङ्कन भएका करदाताले थप शून्य दशमलव ४५० अर्थात् १ लाख ७४ हजार ५ सय रुपैयाँ वार्षिक कर बुझाउनु पर्नेछ। १० करोड रुपियाँभन्दा माथिको जतिसुकै मूल्याङ्कन भए पनि त्यसमा अधिकतम शून्य दशमलव ६०० प्रतिशतका दरले कर निर्धारण गरिनेछ। 

होटल, पार्किङ र गरिब परिवारलाई विशेष सहुलियत
महानगरपालिकाले व्यावसायिक क्षेत्रलाई प्रोत्साहन गर्न होटल तथा रिसोर्टको हकमा चालु आर्थिक वर्षको सम्पत्ति करमा १० प्रतिशत थप छुटको व्यवस्था गरेको छ। यस्तै, व्यावसायिक रूपमा सवारी साधन पार्किङका लागि निर्माण गरिएका भवनलाई निर्माण सम्पन्न भएको १० वर्षसम्म सम्पत्ति कर छुट दिने व्यवस्था गरेको छ। सामाजिक न्यायमा आधारित राजस्व प्रशासनलाई टेवा दिँदै ‘गरिब घरपरिवार पहिचान कार्यक्रम’ अन्तर्गत परिचय पत्र प्राप्त गर्ने करदातालाई सम्पत्ति करमा ५० प्रतिशत भारी छुटको व्यवस्था गरिएको छ। 

२०८२ को जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनालाई पनि करमा राहत दिइनेछ। यस क्रममा नोक्सान भएका संरचना यकिन गरी सो को सम्पत्ति कर वापत आर्थिक वर्ष २०८२/८३ को हकमा छुट दिइनेछ। आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति कर तिरिसकेका करदाताको हकमा चालु आर्थिक वर्षको सम्पत्ति÷बहाल कर छुट दिइनेछ।

बनोटका आधारमा भवनको मूल्याङ्कन 
बनोट र प्रकृतिलाई आधार मानेर भवनको मूल्याङ्कन हुनेछ। भित्र काँचो र बाहिर पाको इट्टामा माटोको जोडाई भएका भवन तथा काठबाट बनेका भवनहरूको मूल्याङ्कन दर प्रतिवर्गफिट १ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। भित्र र बाहिर दुवैतर्फ पाको इट्टा वा ढुङ्गा र माटोको जोडाई भएका सबै किसिमका भवनका साथै प्रिफ्याब भवन, गोदाम भवन र ट्रस संरचनाहरूको दर प्रति वर्गफिट १ हजार ८ सय रुपैयाँ तोकिएको छ।

भित्र र बाहिर पाको इट्टा प्रयोग गरी सिमेन्टको जोडाईबाट निर्माण गरिएका भवनहरूको हकमा भने प्रतिवर्गफिट २ हजार ३ सय रुपैयाँ मूल्याङ्कन दर निर्धारण गरिएको छ। आधुनिक निर्माण शैली अन्तर्गत पर्ने स्टील स्ट्रक्चर भएका भवनहरूको प्रति वर्गफिट २ हजार ४ सय रुपियाँ कायम गरिएको छ। सबैभन्दा बढी मूल्याङ्कन दर आरसीसी फ्रेम स्ट्रक्चरमा आधारित भवनहरूको रहेको छ। जसको प्रति वर्गफिट २ हजार ६ सय रुपियाँ कायम गरिएको छ। 

भवनको वर्गीकरण अनुसार ह्रासकट्टीसम्बन्धी व्यवस्था 
ऐनको अनुसूचमा भवनको बनोट र प्रकृति अनुसार वार्षिक ह्रास कट्टी दर र त्यसको अवधि निर्धारण गरिएको छ। यसमा सबै प्रकारका भवनहरूको मूल्याङ्कनमा ‘समान ह्रासकट्टी पद्धति’ (स्ट्रेट लाइन मेथड) अवलम्बन हुनेछ। यस पद्धति अनुसार भवनको संरचनात्मक दरिलोपना र प्रयोग भएका सामग्रीका आधारमा फरक–फरक वार्षिक ह्रास र अवधि तय गरिएको छ।

यस अनुसार आरसीसी फ्रेम स्ट्रक्चर भवन र भित्र–बाहिर पाको इट्टा र सिमेन्टको जोडाई भएका भवनहरूको वार्षिक ह्रास कट्टी दर सबैभन्दा कम अर्थात् १ दशमलव ५ प्रतिशत कायम गरिएको छ। यी दुवै प्रकारका भवनहरूको ह्रासकट्टी अवधि ५० वर्ष निर्धारण गरिएको छ। त्यसैगरी, स्टील स्ट्रक्चर भएका भवनहरू तथा भित्र–बाहिर पाको इट्टा वा ढुङ्गा र माटोको जोडाई भएका भवनहरूको हकमा वार्षिक २ प्रतिशतका दरले ३५ वर्षसम्म ह्रास कट्टी गरिने व्यवस्था छ।

प्रिफ्याब भवन, गोदाम भवन र ट्रस संरचनाहरूको ह्रासकट्टी दर वार्षिक ३ प्रतिशत तोकिएको छ भने यस्ता संरचनाको ह्रासकट्टी अवधि २५ वर्ष रहनेछ। भित्र काँचो र बाहिर पाको इट्टामा माटोको जोडाई भएका भवन तथा काठबाट बनेका भवनहरूको हकमा पनि वार्षिक ३ प्रतिशतकै दरले २५ वर्षसम्म ह्रासकट्टी गर्ने प्रावधान राखिएको छ। 

यस प्रकारको ह्रासकट्टी वर्गीकरणले भवनको वास्तविक मूल्य निर्धारण र कर प्रणालीलाई थप व्यवस्थित बनाउने विश्वास लिइएको छ।

एकीकृत कर र प्रशासनिक सहजता
एकै व्यक्ति वा संस्थाको नाममा विभिन्न वडामा घरजग्गा भएमा अब एकीकृत सम्पत्ति कर निर्धारण गरिनेछ।

करदाताले जुनसुकै वडाबाट कर बुझाउन सक्नुहुनेछ। भवनको नक्सा स्वीकृत भएको दुई वर्षसम्म सम्पत्ति कर नलाग्ने व्यवस्था गरिएको छ। तर, सो अवधिभन्दा अगावै भवन प्रयोगमा आएमा वा खरिद–बिक्री भएमा कर लाग्नेछ।

नक्सा पास नगरी बनाइएका भवनको हकमा प्राविधिक प्रतिवेदनका आधारमा निर्माण भएकै वर्षदेखि कर असुल गरिनेछ।

बैंक लिलामी र संयुक्त आवासको व्यवस्था
संयुक्त आवास वा अपार्टमेन्टको हकमा इकाइले ओगटेको क्षेत्रफलका आधारमा कर निर्धारण हुनेछ।

बिक्री नभएका इकाईलाई अधिकतम ५ वर्षसम्म ‘स्टक’ मा राखी कर छुट दिइनेछ। बैंक वा वित्तीय संस्थाले धितो लिलाम सकार गरी नामसारी गर्दा प्रचलित कानुनबमोजिम सबै राजस्व चुक्ता गर्नुपर्नेछ।

त्यसका लागि वडामा धरौटी रकम जम्मा गरी १५ दिनभित्र हिसाब मिलान गर्नुपर्ने प्रावधान ऐनमा व्यवस्था गरिएको छ। 

आर्थिक ऐनको यो व्यवस्थाले कर प्रणालीमा पारदर्शिता ल्याउने र करदातालाई स्वेच्छिक रूपमा कर तिर्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad