सरकारले चासो दिन थालेपछि सेयरबजारमा सकारात्मक प्रभाव पर्न थालेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार मात्रै धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जका पदाधिकारीसँगै ब्रोकर र लगानीकर्तासँग भेटेका थिए। सो क्रममा उनले पुँजीबजारलाई देशको आर्थिक समुन्नतिमा जोड्ने भन्दै विशेष प्राथमिकता दिने बताएका थिए।
प्रधानमन्त्रीबाटै यस्तो आश्वासन पाएसँगै बजारमा सुधार आउन थालेको हो।
मंगलबार नेप्से तीव्र उतारचढावका बीच ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेको हो। योसँगै कुल ६ अर्ब ६७ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यस दिन १०३ वटा सेयर बढ्दा १६२ वटा घटेका र १२ वटा अघिल्लो मूल्यमै कारोबार भएको छ। मंगलबारको कारोबारमा एभरेष्ट कलर लिमिटेडको सेयर १४.९८ प्रतिशतले बढेको छ। बाँकी सेयर भने अधिकतम ७.५० प्रतिशतसम्म बढेका छन्।
आज अधिकतम ७.४४ प्रतिशतसम्मको गिरावट देखिएको छ भने ५५ करोडसम्मको अधिकतम कारोबार भएको छ। यस दिन वाणिज्य बैंक, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूह बढे पनि बाँकी घटेका छन्।
Shares

प्रतिक्रिया