नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालत परेको मुद्दा जितेको छ। तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटलियन कम्पनी सीएमसीलाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवादमा इन्भेष्टमेन्ट बैंकले मुद्दा जितेको हो।
बैंकले तनहुँ जलविद्युत परियोजनाका ठेकेदार कोपरेटिभ मुराटोरी एण्ड केमेन्टिस्टी (सीएमसी) ले कार्य सम्पादनका लागि ग्यारेन्टी दिएको थियो। उक्त कम्पनीले बीचैमा काम छोडेर हिँडेपछि लेनदेनको विवाद अदालतसम्म पुगेको थियो।
आजको फैसलालले नेपाल इन्भेष्टमेन्ट बैंकलाई २ अर्ब ५ करोड नेपाली रुपैंयाँ फिर्ता गर्न सीएमसीलाई भनेको छ। अदालतको पूर्ण इजालासले उक्त फैसला सुनाएको हो।
इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डेका अनुसार सीएमसीले हालेको यो मुद्दामा पहिला एक जना न्यायाधीश रहने एकल इजलासले बैंक विपक्षमा फैसला गरेको थियो। बैंक उक्त फैसलामा पुनरावलोकनको लागि अपिल गरेको थियो। पछि ३ जना न्यायाधीशको पूर्ण इजलासले बैंकको पक्षमा फैसला गरेको छ।
सो फैसला अनुसार बैंकले ८५ करोड १४ लाख १६ हजार १२७ नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार यूरो गरी कुल २ अर्ब ५ करोड रुपैयाँ फिर्ता पाउनेछ।

प्रतिक्रिया