चीन र भारतबीचको चर्किँदो सीमा तनावपछि महाराष्ट्र सरकारले तीनवटा ५० अर्ब भारुबराबरका परियोजना ‘होल्ड’ गरेको छ।
चीनसँगको झडपमा पूर्वी लद्दाखमा २० भारतीय सैनिक मारिनुअघि उक्त परियोजनाबारे चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो। भारतीय विदेश मन्त्रालयले उक्त परियोजनाबारे चिनियाँ कम्पनीसँग अरु सम्झौता नगर्न सुझाएको उद्योगमन्त्री सुभाष देसाईलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।
भर्खरै सम्पन्न ‘म्याग्नेटिक महाराष्ट्र २.० इन्भेष्टर मिट’मा उक्त लगानीसम्बन्धी सम्झौता भएको थियो। तीन सम्झौतामध्ये ३ हजार ७ सय ७० करोड भारुको ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम)सँग पुनेनजिकै अटोमोबाइल प्लान्ट बनाउने सम्झौता भएको थियो।
त्यस्तै पीएमआई इलेक्ट्रो मोबिलिटीले फोटोन (चाइना)सँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा १ हजार करोड भारु लगानी गर्ने र १५ सय रोजगारी सिर्जना गर्ने सम्झौता भएको थियो। त्यस्तै चिनियाँ कम्पनी हेंग्ली इन्जिनियरिङसँग पनि २ सय ५० करोड भारु लगानीसम्बन्धी सम्झौता भएको बताइएको छ।
म्याग्नेटिक महाराष्ट्रमा १२ वटा सम्झौता भएको थियो। जसमा सिंगापुर, दक्षिण कोरिया र अमेरिका तथा अरु भारतीय कम्पनीहरुले लगानी गर्ने प्रतिबद्धता जनाएका थिए। कुल १ अर्ब डलरको सम्झौता भएको बताइएको छ।

प्रतिक्रिया