नेपाल चीनबीचको तातोपानी नाका सञ्चालनमा आएको छ। माघ १४ गतेदेखि बन्द रहेको नाका आजदेखि सञ्चालनमा आएको हाे।
बीचमा केहि दिन सञ्चालन भएपनि नाका पुनः बन्द भएको थियो। आजदेखि भने सामान आयात निर्यात सुचारु भएकाे छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जालमा अन्ततः चीन र नेपालको संयुक्त प्रयासबाट झ्याङमु (तातोपानी) नाका आजदेखि सञ्चालनमा आएको बताएकी छन्।
उनले भनेकी छन्, ‘अबदेखि झ्याङमु (तातोपानी र जिलङ (रसुवा) दुवै नाकाबाट नेपालमा दैनिक आवश्यक सामग्री आपूर्ति गर्न सहज हुनेछ। मेरा नेपाली साथीहरुलाई दशैँको शुभकामना।’

चीनबाट विशेषतः नेपालमा कपडा आयत हुने गर्छ। तर आयात रोकिँदा दशैंको लागि बजारमा कपडा नै अभाव हुने अवस्था आएकाे थियो।
व्यवसायीहरुले चीनतर्फको नाका खुलाउन प्रयास गर्दै आएका थिए। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनको वाणिज्य मन्त्रालयको एशिया मामिला विभागसँग छलफल गरेको थियो।
यहि असोज ८ गते भएको छलफलमा नेपालको तर्फबाट आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले नेतृत्व गरेका थिए भने चीनको तर्फबाट महानिर्देशक पेङ गार्ङले नेतृत्व गरेका थिए। सो छलफलले रसुवागढी र तातोपानी दुवै नाका सञ्चालनमा ल्याउने सहमति गरेको थियो।
सोही अनुसार आजदेखि तातोपानी नाका सञ्चालनमा आएको हो।

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले पहिलेदेखि नै सामान रोकिएकोले व्यवसायीलाई समस्या परेको बताए। चाडबाड लक्षित सामान ल्याउन नपाउँदा झन् समस्या थपिएको उनले बताए। तर अब नाका सुचारु भएपछि व्यापारीदेखि उपभोक्तासम्मलाई सुविधा हुने उनको विश्वास छ।

प्रतिक्रिया