कारोबार


गुनासा व्यवस्थापन गर्न काठमाडौं महानगरमा तीन समिति

गुनासा व्यवस्थापन गर्न काठमाडौं महानगरमा तीन समिति

नेपालखबर
साउन १६, २०७६ बिहिबार ७:१४,

काठमाडौं महानगरपालिकाले नगरसभामा उठेका गुनासा तथा सुझाव व्यवस्थापन गर्न ३ वटा समिति गठन गरेको छ। यसरी गठन भएका समितिहरुमा लेखा, विधायन र सुशासन समिति छन्। ती समितिलाई सोही बैठकले नै कार्य विवरण पनि दिएको महानगरका प्रवक्ता ईश्वरमा डंगोलले जानकारी दिए।

प्रवक्ता डंगोलका अनुसार महानगरको चौथो अधिवेशनका क्रममा नगरसभा सदस्यहरुले राखेको प्रस्ताव र सुझाव तथा गुनासालाई सम्बोधन गर्न मचाराजा महर्जनको संयोजकत्वमा समिति गठन गरिएको थियो। महर्जन नेतृत्वको समितिले पाँचौँ नगरसभामा प्रतिवेदन प्रस्तुत गर्दै यस प्रकारका समितिको सिफारिस गरेपछि नगर सभाप्रति जिम्मेवार हुने गरी समितिहरु गठन गरिएका हुन्।
गएको असार २९ गते सम्पन्न पाँचौं सभाको तेस्रो बैठकले यसबारे अध्ययन गर्न महर्जनको नेतृत्वमा समिति बनाएबमोजिम तीन समिति गठन गरेको महानगरपालिकाले जनाएको छ।

यसअघि महानगरले नगर कार्यपालिकाप्रति जिम्मेवार हुने गरी ११ वटा समिति गठन गरिसकेको छ। ती समिति र अहिले गठन गरिएका समितिको कार्यविवरण र जिम्मेवारी फरक रहेको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

लेखा समिति
काठमाडौं महानगरपालिकाको वित्तिय सुशासन कायम गरी नियमितता, मितव्ययिता, कार्यदक्षता, पारदर्शिता, प्रभावकारिता र औचित्यता पुष्टि हुने गरी वित्त प्रशासन सञ्चालन गर्न आवश्यक राय, सुझाव तथा शिफारिस गर्नेसहित ५ बुँदामा कार्य विवरण प्राप्त लेखा समितिको संयोजकमा वडा ४ का सदस्य ध्रुवप्रसाद त्रिपाठी छन्। ९ सदस्यीय समितिको सदस्यमा वडा १२ का सदस्य रत्नकाजी महर्जन, वडा १८ का सदस्य रचना शर्मा, वडा २६ का सदस्य तीर्थकाजी डंगोल, वडा २५ का सदस्य डार्बिन श्रेष्ठ, वडा ३ का सदस्य शर्मिला परियार, वडा १ का सदस्य राजकुमार श्रेष्ठ, वडा २२ का सदस्य अनिल हाडा र वडा १० का सदस्य रोहिणी श्रेष्ठ छन्।

नगर सभाबाट स्वीकृत नीति, योजना तथा कार्यक्रम अनुरुप खर्च भए नभएको अध्ययन विश्लेषण तथा मुल्याङ्कन गर्ने, बेरुजु फछ््र्यौट गर्न सिफारिश गर्ने, वार्षिक वित्तिय विवरण (आय तथा खर्च) को लेखाजोखा गरी प्रमुखमार्फत नगर सभामा प्रतिवेदन पेश गर्ने काम समितिले गर्नेछ। त्यस्तै केन्द्र, विभाग, वडा कार्यालय, आयोजना समेतको खर्च व्यवस्थापन कानून बमोजिम पारदर्शी ढङ्गले भए नभएको सुपरिवेक्षण गरी सुधार गर्नुपर्ने देखिए शिफारिस गर्ने, बार्षिक प्रतिवेदन सभामा पेश गर्ने र नगर सभाले तोकेका अन्य काम गर्ने समितिलाई कार्यविवरण दिइएको छ ।

विधायन समिति
महानगरको वडा २७ का सदस्य नरेशमान महर्जनको संयोजकत्वमा बिधायन समिति गठन भएको छ । नगर सभाले जारी गर्ने स्थानीय कानूनहरुको लागि नगर सभाले तोकेबमोजिमको काम गर्ने गरी ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा वडा ९ का सदस्य टेकराज अधिकारी, वडा १४ का सदस्य बसन्त महर्जन, वडा २१ का सदस्य श्याम शाक्य, वडा २३ का सदस्य चन्द्रदेवी मानन्धर, वडा १ का सदस्य रसला तण्डुकार, वडा २९ का सदस्य इन्द्र कर्माचार्य, वडा ३० का सदस्य निरजराज सत्याल र वडा १७ का सदस्य कविता दास छन्।

नगर कार्यपालिकाको निर्णयबाट नगर सभामा पेश भएका विधेयक वा सभाका कुनै सदस्यले पेश गरेको प्रस्ताव उपर विस्तृत छलफलको लागि समितिमा पठाउन नगर सभावाट निर्णय भएमा प्राप्त भएको विधेयक तथा प्रस्ताव उपर दफावा र छलफल गर्ने, शंसोधन पेश गर्ने सदस्यहरुलाई प्रष्ट पार्न बैठकमा बोलाउने र समय उपलव्ध गराउने, राय लिने र निष्कर्षमा पुग्ने काम समितिको हुनेछ । त्यस्तै समितिमा विधेयक वा प्रस्ताव उपरको छलफल समाप्त भएपछि समितिले गरेको निर्णय अनुरुपको प्रतिवेदन तयार गरी अध्यक्षको अनुमतिले सभामा पेश गर्ने, समितिले सभामा पेश गरेको विधेयक वा प्रस्ताव सभाको बैठकबाट पारित गर्न निर्णयार्थ पेश गर्ने, बार्षिक प्रतिवेदन सभामा पेश गर्ने काम समितिको हुनेछ । समितिलाई सभाले अन्य काम पनि तोक्न सक्नेछ ।

सुशासन समिति
नगर सभाले वडा ३१ की सदस्य हुमादेवी आचार्यको संयोजकत्वमा ९ सदस्यीय शुशासन समिति गठन गरेको छ । काठमाडौं महानगरपालिका र मातहतका कार्यालय, विभाग तथा आयोजना समेतबाट गर्ने काम कारवाहीलाई सुशासनयुक्त बनाउन नगर सभाबाट जारी हुनुपर्ने नीति, रणनीति तथा कार्यक्रम सिफारिस गर्ने, संस्थागत सुशासनका लागि तर्जुमा गर्नुपर्ने स्थानीय कानूनहरुको व्यहोरासहित समितिले सिफारिसकाे काम गर्ने बताइएकाे छ। त्यस्तै काठमाडौं महानगरपालिकाले स्थानीय सरकारको हैसियतले गर्ने स्थानीय शासन प्रवर्धन गर्न सुशासनलाई आन्तरिकीकरण गर्नुपर्ने विषयहरुको अध्ययन, अनुसन्धान तथा शिफारिस गर्ने, सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन आवश्यक प्रवन्धहरुको शिफारिस गर्ने, बार्षिक प्रतिवेदन नगर सभामा पेश गर्ने जिम्मेवारी प्राप्त समितिलाई सभाले अन्य काम पनि तोक्न सक्नेछ ।

समितिको सदस्यहरुमा वडा १५ की सदस्य मैया महर्जन, वडा ७ का सदस्य कृष्णमणि भट्टराई, वडा १६ का सदस्य पुष्प महर्जन, वडा २८ का सदस्य देवेन्द्र खड्गी, वडा २ का सदस्य पदमकाजी महर्जन, वडा १९ का सदस्य मधु श्रेष्ठ, वडा २५ का सदस्य राजेश डंगोल र वडा ५ का सदस्य मीना सिंह छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad