कारोबार


पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी

वाशुदेव मिश्र
पुस २६, २०७७ आइतबार १५:३१,

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी भएका छन्। संघको ३३ औं महाधिवेशनअन्तर्गतको शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विन्दु कोइरालालाई ४१० मतले पराजित गर्दै नारायण अध्यक्ष भएका हुन्। यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहेका नारायणले १३७५मत पाए भने उद्योगतर्फकी उपाध्यक्ष रहेकी विन्दु कोइराला सुवेदीले ९६७ मत प्राप्त गरिन्।

संघको वरिष्ठ उपाध्यक्षमा भने यसअघि नै पवनकुमार प्रजापति निर्विरोध निर्वाचित भएका थिए। संघको उद्योगतर्फको उपाध्यक्षमा गोकर्ण कार्की विजयी बने। कार्कीले १३२७ मत पाउँदा प्रतिष्पर्धी चिनु गुरुङले १०१४ मत पाइन्। वाणिज्यतर्फको उपाध्यक्षमा यसअघि संघका महासचिव रहेका अर्जुन पोखरेल विजयी बने।

अर्जुनले १२४४ र उनका प्रतिष्पर्धी सोवित पौडेलले १०९६ मत ल्याए। संघको महासचिवमा सुरेन्द्रमान बिजुक्छे विजयी भए। सुरेन्द्रले १५१४ र उनका प्रतिष्पर्धी धनीराम बरालले ८२८ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा बलराम आचार्य विजयी बने। बलरामले १२६५ र उनका प्रतिष्पर्धी तारानाथ ढुंगानाले १०७० मत ल्याए। उपमहासचिवमा केशवबहादुर खत्री विजयी बने। उनले १३२३ मत ल्याए भने प्रतिष्पर्धी धर्मराज बर्तौलाले १०१३ मत प्राप्त गरे।

संघको कार्यसमितिको सदस्य पदमा शोभा गौतम (१७००), देवेन्द्र केसी (१६८५), कुमारी मुना बास्तोला (१६२६), उत्तममान बुद्धाचार्य (१५९७),सुदीप प्रधानाङ्ग (१४१४),हरिराज पन्त (१३८८),भरत केसी (१३२३), दिनेशचन्द्र बास्तोला (१२८२), सुदनबहादुर कोइराला (१२७९), र पवित्रादेवी गुरुङ (१२४१) विजयी बने।

बस्तुगत सदस्यमा बालकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल विजयी भए। २९ सदस्य रहेको बस्तुगततर्फको निर्वाचनमा बालकृष्णले १८, राजनले १६ र बाँकी २ जनाले १५÷१५ मत ल्याएका थिए। अर्का प्रतिष्पर्धी उदयबहादुर केसीले पनि १५ मत ल्याएपछि ३ जनाबीच गोलाप्रथा भएको थियो। गोलाप्रथाबाट उदयबहादुर बाहिरिएका हुन्। संघको औद्योगिक सदस्यमा भने यसअघि नै हिरामणि पण्डित निर्विरोध विजयी भएका थिए।

एसोसियटततर्फ पनि हर्कबहादुर अधिकारी र हरिहर सापकोटा निर्विरोध भएका थिए। स्पष्ट दुई प्यानलमा विभाजित भएर चुनाव लडेकोमा अहिले विजयी भएकामध्ये अधिकांश नारायण कोइरालाको प्यानलका रहेका छन्। उद्योग उपाध्यक्षमा गोकर्णले स्वतन्त्र रुपले उम्मेदवारी दिएका थिए। सदस्यमा उत्तममान बुद्धाचार्य र सुदीप प्रधानाङ्ग स्वतन्त्र रुपले चुनावमा होमिएका थिए। विन्दुको प्यानलबाट पवित्रादेवी गुरुङले मात्रै विजय प्राप्त गरिन्। उनले ३ मतले आफ्ना प्रतिद्धन्द्धी किर्तिबल्लभ त्रिपाठीलाई पराजित गर्दै अन्तिम १० भित्र आफूलाई सुरक्षित गरेकी हुन्। बस्तुगततर्फ गोलाप्रथाबाट विजयी भएका रुपनारायण भुजेल पनि विन्दुकै समूहका हुन्।

नारायण कोइरालाको समूहबाट चुनाव लडेका र यसअघि कार्यसमितिमा रहेका किर्तिबल्लभ त्रिपाठी, ऋषिराम शर्मा भण्डारी, रामेश्वर अधिकारी पराजित बन्न पुगे। किर्तिले १२२३८, ऋषिरामले ११८२ र रामेश्वरले ११११ मत प्राप्त गरे। यता रामप्रसाद गौतमले ८००, विनोद केसीले ९२७ र उत्तमसेवक कार्कीले ९१३ मत प्राप्त गरे।

नवनिर्वाचित अध्यक्ष कोइरालाले सोमबार सपथ ग्रहण गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। निर्वाचन समितिका सामु उनलाई निवर्तमान अध्यक्ष दामु अधिकारीले पद तथा गोपनीयताको सपथ खुवाएका थिए। अध्यक्षले पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई सपथ खुवाए। अध्यक्षमा पराजित विन्दु कोइराला सुवेदीले पराजयबाट आफू विचलित नभएको बताउँदै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .