उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको नेतृतत्वमा उखु किसान र उद्योगीसहित भएको सम्झौता कार्यान्वयन नहुँदा किसानहरुले पुनः आन्दोलन गर्न बाध्य पारिएको बताएका छन्।
काठमाडौंमा आन्दोलनरत किसानहरुसँग पुस १३ गते सम्झौता गरेर २१ दिनभित्र बक्यौता उठाइदिने भने पनि त्यसको कार्यान्वयन नभएको भन्दै किसानहरुले पुनः आन्दोलनको तयारी गरिरहेको बताएका हुन्।
किसानहरुले ९० करोड रुपैयाँ बक्यौता रहेको दाबी गर्दै आएका छन्। तर उद्योगीहरुले ६५ करोड रुपैयाँ मात्रै बक्यौता रहेको बताएका छन्।
उद्योग मन्त्रालय, गृह मन्त्रालय, कृषि विकास तथा पशुपन्छी मन्त्रालयको रोहवरमा भएको २१ दिनभित्र ६५ करोड रुपैयाँ भुक्तानी गराइने र बाँकी रकम बक्यौता रहे नरहेको भन्नेबारे भने अध्ययन गर्ने सम्झौता भएको थियो।
२१ दिनको समय सोमबार सकिसकेको छ। तर पनि ६५ करोड रुपैयाँ बक्यौता उठान नभएको भन्दै आन्दोलनको सल्लाह गरिरहेको किसानको भनाइ आएको हो।
उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रको अनुसार उद्योगीले कति बक्यौता प्रतिबद्धताको जानकारी समेत किसानलाई आएको छैन। साथै किसानले अहिलेसम्म ४५ करोड हाराहारीमा मात्रै बक्यौता आएको जानकारी पाएका छन्। यो सम्झौताको पूर्ण कार्यान्वयन नभएको किसानहरुको भनाइ छ।
उनले भने, ‘हामीले सरकारले यसमा थप सक्रियता नदेखाएको खण्डमा पुनः आन्दोलनमा जानेबारे छलफल गरिरहेका छौं। आज अर्थात् मंगलबारसम्म हेर्ने हो, त्यसपछि हामी नयाँ रणनीति अपनाउँछौँ।’
बक्यौता बाँकी रहेका ४ मिलमध्ये श्रीराम सुगर मिलले ४० करोड ४६ लाख भुक्तानी गर्नुपर्नेमा ३५ करोड ७५ लाख ४४ हजार, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख भुक्तानी गर्नुपर्नेमा ४ करोड १६ लाख, अन्नपूर्ण चिनी मिलले १७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेमा ११ करोड २७ लाख, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख भुक्तानी गर्नुपर्नेमा १ करोड ५० लाख रूपैयाँ बक्यौता रहेको तथ्याङ्क उद्योग मन्त्रालयले संकलन गरेको छ।
यसबारेमा जानकारी दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज पत्रकार सम्मेलन समेत आयोजना गर्ने भएका छन्।
Shares

प्रतिक्रिया