कारोबार


कोरोना कहरमा पनि अधिकांश बैंकहरुको नाफा बढ्यो, कुन बैंकको कति?

कोरोना कहरमा पनि अधिकांश बैंकहरुको नाफा बढ्यो, कुन बैंकको कति?

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ११:३२,

वाणिज्य बैंकहरुले कोरोना कहरमा पनि गत वर्षको तुलनामा आफ्नो नाफा बढाएका छन्। केही बैंकलाई छोड्ने हो भने बैंकहरुको नाफा बढेको देखिएको छ।

तर अधिकांश बैंकहरुमा कोरोनाको असर भने देखिएको छ। नाफाको वृद्धिदरमा विगत वर्षको तुलनामा गिरावट आएको छ।

कोरोना कहरको कारण नेपालको समग्र अर्थतन्त्रमै असर गरेको छ। त्यसको प्रभाव बैंक तथा वित्तीय संस्थाहरुको सबैजसो सूचकमा देखिएको छ।

कुन बैंकको सूचक कस्तो?

NICBank3

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंक लिमिटेडले चालू आव २०७७÷०७८को दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार यो बैंकले भने नाफामा वृद्धि गरेको छ।

कोभिड १९ को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि यस बैंकले गत वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई २ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको स्वपुँजीमा प्रतिफल २२.६६ प्रतिशत रहेको छ। जुन मुलुकका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ।

बैंकको यस दोस्रो त्रयमाससम्ममा कर्जातर्फ ५९.३१ अर्ब रुपैयाँले वृद्धि भई कुल कर्जा रकम २ खर्ब ३३ अर्ब ८ करोड पुगेको छ। जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ३ खर्ब १० अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको २२ प्रतिशतको हिस्सा रहेको छ।

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ६७.३० अर्ब रुपैयाँले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २ खर्ब ७६ अर्ब २० करोड रुपैयाँ पु¥याउन बैंक सफल भएको छ। जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ३ खर्ब ७ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १९ प्रतिशत रहेको छ।

यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस दोस्रो त्रयमाससम्ममा ०.४३ प्रतिशतमा झार्न बैंक सफल भएको छ।

global ime bank building

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडले सार्वजनि गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३१ करोड नाफा आर्जन गरेको छ। समीक्षा अवधिसम्म बैंकले गरेको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३७.३२ प्रतिशतले बढी हो।

गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। तर यो बैंक गत वर्ष जनता बैंकसाग मर्ज भएको थियो। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४३ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ३ अर्ब २३ करोड आर्जन गरेको छ। यो पनि गत वर्षको तुलनामा ३६.६६ प्रतिशतले बढी हो। गत वर्ष सञ्चालन मुनाफा २ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो।

nmb bank

एनएमबी बैंक
आर्थिक वर्ष २०७७÷०७८ को दोस्रो त्रैमासिकमा एनएमबी बैंकको खूद नाफा १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। यस्तै, वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।

सोही आवको दोस्रो त्रैमासिकसम्ममा बैंकको कुल निक्षेप १ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा सापट १ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। बैंकले यस आवको ६ महिनाभित्र निक्षेपमा १४ अर्ब ६१ करोड रुपैयाँ र कर्जा तथा सापटमा २१ अर्ब ८८ रुपैयाँले वृद्धि गर्न सफल भएको छ।

बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेपतर्फ ३.८६ प्रतिशतबाट वृद्धि भई ३.९५ प्रतिशत र कर्जातर्फ ४.१९ प्रतिशतबाट वृद्धि भई ४.४३ प्रतिशत पुस मसान्तसम्ममा पुगेको छ।

prabhu bank hq

प्रभु बैंक
प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ। यस बैंकले पनि गत आर्थिक वर्षको सोही तुलनामा ३९.८७ प्रतिशतले नाफा बढाउन सफल भएको हो।

बैंकले गत वर्ष सोही अवधिमा १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको थियो। दोस्रो त्रैमासिकसम्म बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। ११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले चालू आवको ६ महिनासम्म १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। यस्तै, बैंकले १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

citizens bank nepal

सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेशनलको नाफा २७.२६ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशत बढेको हो।

चालू आर्थिक वर्षको पुस मसान्त अर्थात् ६ महिनामा बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा १८ करोड ७४ लाख रुपैयाँले बढी हो। बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

यो अवधिमा बैंकले १ अर्ब ६१ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको तुलनामा १२ प्रतिशतले बढी हो। बैंकले गत आवको सोही अवधिमा एक अर्ब ४३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

सानिमा बैंक
सानिमा बैंक लिमिटेडले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंकको नाफा करिव ८ करोड घटेको हो।

गत आर्थिक वर्षको यहि अवधीमा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो। ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको जगेडा कोषमा ३ अर्ब ६८ लाख रुपैयाँ र शेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको बेस रेट ६.८३ प्रतिशत, ४.२१ प्रतिशत रहेको छ।

mega bank logo

मेगा बैंक
मेगा बैंक नेपालले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३० करोड ४४ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा ९५ करोड २ लाख ४ हजार रुपैयाँ रहेको थियो। गत वर्षभन्दा यस वर्ष ३७ दशमलव २८ प्रतिशतले बैंकको खुद नाफा बढेको हो।

यस वर्ष सञ्चालन नाफा ३४ दशमलव ४६ प्रतिशत बढेको छ। गत वर्ष १ अर्ब ३५ करोड ९७ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ८२ करोड ८४ लाख ५१ हजार रुपैयाँ नाफा गरेको छ। बिहीबार सार्वजनिक बैंकको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ६८ करोड १३ लाख २० हजार छ।

कुमारी बैंक
कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ ६ महिनामा खुद मूनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.४९ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८० करोड ३० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो। यस अवधीमा बैंकको वितरण योग्य नाफा ६३ करोड ७५ लाख रुपैयाँ ५५ हजार रहेको छ।

9Rastra banijya bank

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले आव २०७७÷०७८ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरणहरु सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा यो बैंकको नाफा भने घटेको देखिएको छ।

नेपाल सरकारको अधिकांश स्वामित्व रहेको बैंकले यस अवधिमा १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत वर्षको सोही अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा बैंकको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड, कुल सञ्चालन आम्दानी ४ अर्ब ६५ करोड तथा खुद सञ्चालन आम्दानी ४ अर्ब ५० करोड, सेयरधनी कोष २५ अर्ब ४७ करोड, लगानी ७४ अर्ब ५८ करोड पुगेको छ।

२०७७ पुस मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित वृद्धि भएको छ।

himalayan bank 22

हिमालयन बैंक
हिमालयन बैंकको नाफामा उच्च गिरावट आएको छ। बैंकले चालू आर्थिक वर्षको पुस महिनासम्म ६५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ६२.५० प्रतिशत कम हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब ७४ करोड नाफा कमाएको थियो।

पुस मसान्तमा बैंकले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको तुलनामा क्रमशः ४ अर्ब र ८ अर्ब रुपैंयाँले बढी हो।

हिमालयनले यो अवधिमा १ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो वर्ष सो बैंकको ब्याज आम्दानी र ब्याज खर्च दुवै घटेको भए पनि खर्च भन्दा आम्दानी धेरै घट्दा खुद ब्याज आम्दानीमा गिरावट आएको हो।

यो अवधिमा बैंकको कर्मचारी खर्च घटेको छ भने अन्य सञ्चालन खर्च स्थिर छ। बैंकले कर्मचारी खर्चमा ७४ करोड ५९ लाख र अन्य सञ्चालन खर्चमा ४० करोड रुपैयाँ खर्च गरेको छ।

हाल १० अर्ब ६८ करोड चुक्ता पुँजी भएको बैंकसँग १ अर्ब १ करोड रुपैयाँको नबाँडिएको नाफा र ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको जगेडा कोष छ। सो बैंकको जगेडा कोषमा २६ करोडले बढेको छ। यो अवधिमा बैंकले इम्पेरिमेन्ट चार्जबापत १४ करोड ७१ लाख रुपैंयाँ छुट्याएको छ।

बैंकको पुँजीकोष अनुपात १३.८४ प्रतिशत रहेको छ। निष्क्रिय कर्जा अनुपात २.१३ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा बढेको कारण बैंकको इम्पेरिमेन्ट नकारात्मक देखिएको हो। ब्याज तथा गैरब्याज आम्दानीमा आएको उच्च गिरावट पनि नाफा घट्नुको प्रमुख कारणको रुपमा रहेको छ।

बैंकको पुँजीकोषको लागत ४.६४ प्रतिशत रहँदा सीसीडी अनुपात ७१.१७ प्रतिशत रहेको छ। बैंकको आधारदर ६.८३ प्रतिशत र ब्याजको स्प्रेडदर ३.७६ प्रतिशत रहेको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ७२ करोड ७६ लाख ३९ हजार मात्र नाफा गरेको हो।

गत वर्ष बैंकले गरेको नाफाको तुलनामा ४०.६९ प्रतिशतले कम हो। गत वर्ष १ अर्ब २२ करोड ६९ लाख १३ हजार खुद नाफा गरेको थियो। बैंकले अघिल्लो वर्ष १ अर्ब ७६ करोड ३ लाख ५३ हजार संचानल नाफा गरेको थियो भने यसपटक १ अर्ब ४ करोड ४० लाख ६५ हजार मात्र नाफा आर्जन गरेको हो।

सञ्चालन नाफा कम भएपनि वितरण योग्य नाफा भने ६१ करोड ६४ लाख ३३ हजार रहेको विवरणमा उल्लेख छ। हाल बैंकको चुक्तापुँजी ८ अर्ब ५७ करोड २२ लाख ३१ हजार रहेको बैंकले जनाएको छ।

त्यस्तै जगेडा कोषमा ५ अर्ब ७७ करोड ६७ हजार कायम रहेको छ। ८३ हजार ५० करोड ८५ लाख २९ हजार निक्षेप संकलन गरेको छ भने ५३ अर्ब १२ करोड ४८ लाख ९४ हजार ऋण प्रवाह गरेको छ।

चालू आवमा निक्षेप संकलन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत कमी भएको हो। कर्जा प्रवाह करिब १ प्रतिशतले बृद्धि भएको छ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले चालू आर्थिक बर्षको पुस मसान्तसम्म ९१ करोड ८७ लाख ४० हजार खुद नाफा कमाएको छ। दोस्रो त्रैमासिक वित्तीय विवरणले गत वर्ष भन्दा कम नाफा कमाएको हो।

बैंकले गत आवको सोही अवधीमा १ अर्ब २ करोड ६५ लाख खुद नाफा कमाएको थियो। बैंकको वित्तरणयोग्य नाफा भने १३ करोड ६९ लाख ३७ हजार रुपैयाँले घाटामा रहेको छ।

बैंकले समिक्षा अवधीसम्ममा १ खर्ब ५७ अर्ब ७९ करोड १४ लाख निक्षेप संकलन गरेको छ। यस्तै, कर्जातर्फ बैंकले १ खर्ब ३८ अर्ब ३६ करोड ८७ लाख प्रवाह गरेको छ। बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई ४ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad