कारोबार


सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा उद्योगीको हस्तक्षेप

सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा उद्योगीको हस्तक्षेप

नेपालखबर
असोज १६, २०७६ बिहिबार १२:२१,

नेपालमा सुर्ती उद्योगीको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण हुन नसकेको एक अध्ययनले देखाएको छ। प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)ले गरेको अध्ययनका अनुसार सुर्ती उद्यमीले विभिन्न नाममा ब्राण्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने, कानुन कार्यान्वयनमा भाँजो हाल्ने गरेका छन्।

यो अध्ययन नेपालसहित ३३ वटा मुलुकमा गरिएको थियो। ३३ वटा मुलुकमा नै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पहिलो पटक नेपालमा बिहीबार प्रतिवेदन सार्वजनिक गरिएको हो। सो प्रतिवेदनलाई विहिवार नै रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले विश्व स्वास्थ्य संगठनका कन्ट्रिरिप्रिजेन्टिटिभको उपस्थितिमा स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीलाई हस्तान्तरण गरेका थिए। 

विभिन्न संघसंस्थाले ३३ ओटा मुलुकमा गरेको अध्ययनमध्ये उद्योगीको हस्तक्षेप कम भएको मुलुकको ८औं स्थानमा नेपाल रहेको छ।  अध्ययन अनुसार दक्षिण एसियामा भारत, श्रीलंका र बंगलादेशमा सवैभन्दा वढी उद्यमीको हस्तक्षेप रहेको छ।  अध्ययनअनुसार नेपालमा उद्यमीले नीति निर्माण चरणमा नै नीति निर्मातालाई आर्थिक लाभ दिने गरेका छन्। सुर्ती उद्योगको नाममा सामाजिक उत्तरदायित्वको काम गरी प्रचार गरिरहेका छन्। निर्माता निर्देशकलाई प्रभाव पारी विभिन्न चलचित्रहरुमा कलाकारलाइ धुम्रपान गर्न लगाएका छन्।

surti program 2

सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन र नियमावली अनुसार सुर्तीबाट हुने हानी देखिने रंगीन चित्र सुर्तीको प्याकेटमा ९० प्रतिशत हालिएको छैन। प्रतिवेदन सार्वजनिक गर्दै प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सुर्ती उद्योगलाई उच्च करदाताको सम्मान दिएर राज्यले जनताको स्वास्थ्यमा खेलवाड गर्न प्रोत्साहन गरिरहेको बताए। अर्थमन्त्रालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालयले सुर्ती उद्यमीसँग गरेका छलफल र निर्णय पारदर्शी नहुनु हस्तक्षेपको नमूना भएको प्रतिवेदनमा उल्लेख छ।

सुर्ती उद्योगले गर्ने प्रचार तथा प्रवद्र्धनात्मक खर्च र आम्दानी पारदर्शी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। सुर्ती उद्योगको हस्तक्षेपलाई न्यूनीकरण गर्न स्थानीय तह र सहायक जिल्ला अधिकारीलाई वढी जिम्मेवारी र शक्तिसम्पन्न गर्नुपर्ने कुरा प्रतिवेदनमा लेखिएको छ। प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनका कन्ट्रिरिप्रिजेन्टिटेटिभ डा. जोस भेन्डेलरले सुर्ती प्याकेटमा पूरै ढाकिने गरी रंगीन चित्र राख्नुपर्ने र ब्रान्डको नाम सवभन्दा सानो अक्षर बनाउनतिर विश्वको ध्यान जानुपर्ने बताए।

नेपालमा अन्तराष्ट्रिय कानुन र राष्ट्रिय कानुन विपरित खुल्ला रुपमा सुर्तीको बेचविखन हुने गरेको बताए। उनका अनुसार नेपालमा सुर्ती सेवनकै कारण वर्षेनी २७ हजार १ सय ३७ जनाको ज्यान गइरहेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीले सुर्ती सेवनमा मात्रै नेपालीले वार्षिक ४७ अर्ब रुपैयाँ खर्च गरिरहेको जानकारी दिए। उनले भने, ‘सुर्तीका कारण १० वर्षअगाडिसम्म १६ हजारको मात्र मृत्यु हुन्थ्यो, अहिले एकाएक २७ हजार पुगिसकेको छ।’

नेपालमा कानुनभन्दा सामाजिक मुल्य मान्यताले काम गर्ने भएकाले सुर्ती नियन्त्रणका लागि सामाजिक अभियान चलाइ सुर्ती खानुहुँदैन भने संस्कार बसाउनुपर्ने तर्फ उनको जोड रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव पुष्करराज नेपालले लगभग ३१ प्रतिशत नेपालीले सुर्ती सेवन गर्ने गरेको र मृत्युको १७ प्रतिशत प्रमुख कारण सुर्ती रहेको छ । ९० लाख सुर्ती सेवनकर्ता नेपालीमध्ये १० लाखलाई जोखिमपूर्ण दीर्घ रोग रहेको पनि उनले जानकारी दिए।

सञ्चारकर्मी भगवती तिमिल्सिनाले सुर्तीजन्य पदार्थका असरका सम्वन्धमा पर्याप्त सूचना हुँदाहुँदै पनि प्रवक्तामार्फत लिनुपर्ने वाध्यताका कारण जनताले समयमै सही सूचना प्राप्त गर्न नसकिरहेको बताए।
उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले पुरस्कारको लोभमा आवश्यक गृहकार्य नगरी सुर्तीको प्याकेटमा ९० प्रतिशत हानिकारक चित्र ल्याउने व्यवस्था ल्याउँदा सुर्ती उद्यमीले चलखेल गर्ने मौका पाएको र मुद्दाको किनारा लाग्न समय लागेको बताए।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्राडा शरदराज वन्तले सुर्ती उद्यमीको बदमासीका विरुद्ध सशक्त आवाज उठाउन हामी फ्रेमभन्दा बाहिर पनि जान सक्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad