ad ad

कारोबार


सवारीसाधन कर्जा : कुन बैंकमा सस्तो? यस्तो छ ब्याजदर (सूची)

सवारीसाधन कर्जा : कुन बैंकमा सस्तो? यस्तो छ ब्याजदर (सूची)

वसन्त अर्याल
चैत ४, २०७९ शनिबार ८:५४, काठमाडौँ

सवारीसाधन कर्जाको ब्याजदर कृषि विकास बैंकमा सबैभन्दा सस्तो र सबैभन्दा बढी लक्ष्मी बैंकको देखिएको छ। 

वाणिज्य बैंकहरुले सवारीसाधन कर्जामा केही प्रतिशत घटाएर ब्याजदर सार्वजनिक गरेका हुन्। 

बैंकहरुले निजी डिजेल/पेट्रोलका साधन, बस, ट्रकलगायतका कमर्सियल भेहिकल र विद्युतीय सवारीसाधनमा फरक ब्याजदरमा ऋण दिने गरेका छन्। 

बैंकहरुले स्थिर र परिवर्तनीय ब्याजदर गरी २ शीर्षकमा सवारीसाधन कर्जा प्रवाह गर्ने गरेका छन्। स्थिर ब्याजदरको अवधि १ वर्ष, ५ वर्ष ७ वर्ष तोकिएको छ। 

परिवर्तनीय ब्याजदर बैंकको आधारदरको आधारमा हरेक ३ महिनामा फरक हुनसक्छ। यसअघि वाणिज्य बैंकहरुले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तोके पनि अब आधारदरमा ५ प्रतिशत मात्रै लिन पाउनेछन्। बैंकहरुको आधारदर हरेक ३ महिनामा परिवर्तन हुन्छ।

उदाहरणको लागि ग्लोबल आईएमई बैंकको आधारदर १०.७३ प्रतिशत छ। नयाँ गाडी खरिद गर्ने ग्राहकले ग्लोबल आईएमईबाट सवारीसाधन कर्जा लिन चाहे स्थिर ब्याजदरमा लिँदा ११.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। उसले अवधिको आधारमा ब्याज लिन्छ। आधारदर बढ्नु वा घट्दा यस्तो ब्याजदरमा फरक हुँदैन। 

तर परिवर्तन हुने ब्याजदरमा ग्लोबल आईएमई बैंकबाट ऋण लिएमा १०.७३ प्रतिशत आधारदरमा कम्तीमा २.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म बढी ब्याज तिर्नुपर्नेछ।  

सबै बैंकहरुले सवारीसाधन कर्जालाई एउटा प्रोडक्ट बनाए पनि ऋण प्रवाह नगरेको व्यवसायीले बताएका छन्। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बैंकहरुले जोखिमभारको कारण सवारीसाधन कर्जा प्रवाह नगरेको बताए। उनले बैंकमा तरलता बढ्दा अन्य क्षेत्रमा लोन प्रवाह भए पनि अटो क्षेत्रमा ऋण प्रवाह नभएको बताएका छन्। 

‘विद्युतीय गाडीमा केही बैंकहरुले ऋण दिएका छन्’, थापाले नेपालखबरसँग भने, ‘निजी सवारीमा फाट्टफुट्ट ऋण पाइएको छ। कमर्सियल गाडीमा शून्यजस्तै छ।’

उनले राष्ट्र बैंकले सवारीसाधन कर्जामा ऋण प्रवाहमा जोखिमभार घटाए बैंकहरुले ऋण प्रवाह गर्ने बताए। राष्ट्र बैंकको तथ्यांकअनुसार पनि माघमा हायर पर्चेज कर्जा ९.९ प्रतिशतले घटेको छ। 

राष्ट्र बैंकका अधिकारीहरु भने ऋण प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नको लागि अटो क्षेत्रको जोखिम भार बढाएको बताउँछन्। 

‘राष्ट्र बैंकको नीति नै उत्पादनमूलक क्षेत्रमा बढी ऋण प्रवाह होस् भन्ने हो’, एक कार्यकारी निर्देशकले भने, ‘बैंकहरुले चाहे ऋण प्रवाह गर्नसक्ने अवस्थामै छन्। ऋण दिने नदिने बैंकहरुको कुरा हो।’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेपुटी सीईओ महेश ढकालले तरलताको अवस्था केही सहज हुँदा ग्रिन इनर्जी (हरित ऊर्जा)मा लगानी भइरहेको बताए। 

‘तरलता सहज हुँदै जाँदा इलेक्ट्रिक भेहिकलमा ऋण गइराखेको छ’, ढकालले भने, ‘अन्य साधनमा दिनैपर्छ भन्ने भएन। आवश्यकताको आधारमा बैंकले ऋण दिन्छन्।’

कुन बैंकको कति प्रतिशत ब्याजदर?
नबिल बैंकले सवारीसाधन कर्जा आधारदरमा ५ प्रतिशत थपेर लिने उल्लेख गरेको छ। नबिलको आधारदर १०.१० प्रतिशत छ। 
स्थिर ब्याजदरमा लिने सवारीसाधन कर्जातर्फ भने बैंकले ५ वर्षको लागि १३.४९ प्रतिशत ब्याजदर तोकेको छ।  

यता एनआईसी एसियाले आधारदरमा ५ प्रतिशत र फिक्स्ड रेट (स्थिर ब्याजदर)मा १४.९९ प्रतिशतसम्म तिर्नुपर्ने जनाएको छ। एनआईसी एसियाको आधारदर १०.७१ प्रतिशत छ। 

एनएमबी बैंकले परिवर्तनीय ब्याजदरमा सवारीसाधन कर्जा लिनेसँग आधारदरमा ५ प्रतिशतसम्म लिएको छ। एनएमबीको आधारदर १०.७० प्रतिशत छ। त्यस्तै फिक्स्ड सवारीसाधन कर्जा १ वर्षको लागि १४ र ७ वर्षको लागि १५ प्रतिशत तोकेको छ।  

प्रभु बैंकको हायर पर्चेज (सवारीसाधन) कर्जाको ब्याजदर आधारदरमा थप ५ प्रतिशत तोकिएको छ। प्रभुको आधारदर ११.०३ प्रतिशत छ। फिक्स्ड अटोलोन ५ वर्षको लागि १३.५० प्रतिशतमा पाइने पनि बैंकले जनाएको छ। ५ वर्षमाथिको अटोलोनमा उसले १४.५० प्रतिशत ब्याज लिएर कर्जा दिने उल्लेख गरेको छ। 

१०.८६ प्रतिशत आधारदर रहेको हिमालय बैंकमा सवारीसाधन कर्जा आधारदरमा थप ५ प्रतिशतसम्म छ। बैंकको फिक्स्डमा हायरपर्चेज कर्जाको ब्याजदर वार्षिक १४.९१ प्रतिशत छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आधारदरमा ५ प्रतिशतसम्म लिने उल्लेख गरेको छ। यसको आधारदर १०.३९ प्रतिशत छ। उसले १ वर्षको लागि फिक्स्ड रेट १४ प्रतिशत तोकेको छ। 

त्यस्तै कुमारी बैंकको आधारदरमा थप ३ देखि ५ प्रतिशतसम्म ब्याज लिने उल्लेख गरेको छ। १ देखि ५ वर्षको लागि फिक्स्ड ब्याजदर १३ प्रतिशत छ। कुमारी बैंकको आधारदर ११.२१ प्रतिशत छ।

सरकारी बैंकमा सवारीसाधन कर्जा सस्तो
यता सरकारी बैंकको आधारदर कम हुँदा सवारीसाधन कर्जा पनि कम ब्याजदरमा पाउने सुविधा छ। कृषि विकास बैंकको आधारदर बढी भए पनि प्रिमियममा कम लिने नीति छ। 

यसअनुसार कृषि विकास बैंकको ११.०६ प्रतिशत आधारदर छ। बीचमा परिवर्तन हुने दरमा ऋण लिने ग्राहकले आधारदरमा थप २.५ प्रतिशतसहित कर्जा पाउन सक्छन्। तर यता सवारीसाधन कर्जा फिक्स्डतर्फ लिनेले भने ११.०६ प्रतिशत ब्याज तिर्नुपर्छ। 

राष्ट्रिय वाणिज्य बैंकको आधारदर ९.२९ प्रतिशत छ। उसले गाडी कर्जामा आधारदरमा ४ प्रतिशतसम्म मात्रै प्रिमियम लगाएको छ।

यसअनुसार बैंकले विद्युतीय सावरी साधन कर्जामा भने आधारदरमा २.७५ मात्रै प्रिमियम लगाएको छ। स्थिर ब्याजदरमा ७ वर्षसम्मको लागि गाडी कर्जाको ब्याज १४.७५ प्रतिशतमा र विद्युतीय गाडीमा १३.२५ प्रतिशत छ। 

नेपाल बैंकले लिमिटेडले ५ वर्षको लागि ऋण लिनेलाई आधारदरमा ३ देखि ४.५ प्रतिशत ब्याजमा गाडी उपलब्ध गराएको छ। विद्युतीय गाडीको लागि भने ३ देखि ४ प्रतिशत मात्रै छ। नेपाल बैंकको आधारदर ९.९ प्रतिशत छ। वार्षिक फिक्स्डमा ऋण लिँदा १२.५० देखि १३.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ।

एभरेष्ट र सनराइजको १३ प्रतिशत, लक्ष्मी बैंकको महंगो
नेपाल एसबीआई बैंकले सवारीसाधन कर्जामा आधारदरमा थप ५ प्रतिशतसम्म लिएको छ। एसबीआईको आधारदर ११.१७ प्रतिशत छ।अटोलोन फिक्स्ड ब्याजदरमा प्रयोग गर्दा ग्राहकले १३.५ प्रतिशत तिर्नुपर्ने बैंकले जनाएको छ।   

माछापुच्छ्रे बैंकले फिक्स्ड सवारीसाधन कर्जाको ब्याजदर ५ वर्षसम्मकामा १४ प्रतिशत तोकेको छ। समयअनुसार परिवर्तन हुने ब्याजदरअनुसार प्रवाह हुने कर्जामा भने आधारदरमा थप ५ प्रतिशतसम्म लिने उल्लेख गरेको छ। माछापुच्छ्रेको आधारदर ११.४० प्रतिशत छ। 

त्यस्तै प्राइम कमर्सियल बैंकले कमर्सियल र प्राइभेट गाडी खरिदमा आधारदरमा ५ प्रतिशतसम्म ब्याजदर लगाएको छ। प्राइम कमर्सियलको आधारदर ११.३४ प्रतिशत छ। फिक्स्डतर्फ १ वर्षमाथिकामा ऋण लिनेले १४ देखि १५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने बैंकले जनाएको छ। 

यता एभरेष्ट बैंकको भेहिकल लोन (सवारीसाधन कर्जा) ब्याजदर ७ वर्षको लागि १३ प्रतिशत छ। समयअनुसार परिवर्तनीय ब्याजदरमा ऋण लिनेका लागि भने आधारदरमा थप ४.५० प्रतिशत तोकिएको छ। एभरेष्ट बैंकको आधारदर ९.८६ प्रतिशत छ। 

सनराइज बैंकको फिक्स्ड सवारीसाधन कर्जाको ब्याजदर १३ प्रतिशत छ। बैंकको आधारदर ११.४९ प्रतिशत छ। परिवर्तनीय अटो कर्जा भने आधारदरमा थप ५ प्रतिशतसम्म लिने बैंकले जनाएको छ। 

लक्ष्मी बैंकले सवारीसाधन कर्जाको ब्याज आधारदरमा थप ५ प्रतिशतसम्म लिएको छ। बैंकको आधारदर ११.०८ प्रतिशत छ। फिक्स्ड लोनमा १३.९९ प्रतिशतदेखि १५.९९ प्रतिशतसम्म लिएको बैंकले जनाएको छ। 

१०.८५ प्रतिशत आधारदर रहेको सानिमा बैंकले सबै प्रकारका फिक्स्ड लोनमा १४ प्रतिशतसम्म ब्याज लिएको छ। सानिमाले १३ महिनाको लागि १४ प्रतिशत, २ वर्षसम्मको लागि १४.५ प्रतिशत र ३ वर्षसम्मको लागि १५ प्रतिशत ब्याज लिएको छ। 

सिद्धार्थ बैंकले आधारदरमा ५ प्रतिशतसम्म ब्याज लिएर अटो लोन दिन्छ। उसले स्थिर ब्याजदरमा ५ वर्षसम्मको हकमा १३.५० र ५ वर्ष माथिको हकमा १४ प्रतिशत तोकिएको छ। सिद्धार्थ बैंकको १०.७१ प्रतिशत आधारदर रहेको छ। 

सिटिजन बैंकको आधारदर ११.४५ छ। बैंकले ८ वर्षसम्मका लागि सवारीसाधन कर्जा प्रवाह गरिरहेको छ। उसले स्थिर ब्याजदरमा प्राइभेट गाडीको लागि ५ वर्षसम्मका लागि १४.५० र १० वर्षसम्मको लागि १४.७५ प्रतिशत ब्याजमा ऋण दिइरहेको छ। कमर्सियल भेहिकलमा ५ वर्षसम्मको लागि १४.७५ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .