ad ad

कारोबार


२५ सिटसम्मका बसमा विद्युतीयकै वर्चस्व, बजार चीनतिर ‘सिफ्ट’

२५ सिटसम्मका बसमा विद्युतीयकै वर्चस्व, बजार चीनतिर ‘सिफ्ट’

नेपालखबर
चैत ८, २०८० बिहिबार ९:३, काठमाडौँ

नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने माइक्रो र मिनी बसभन्दा विद्युतीय बस बढी भित्रिनथालेका छन्। २५ सिट क्षमतासम्मका बसमा विद्युतीय बसको हिस्सा बढेको हो। 

नेपालमा निजी गाडीसँगै सार्वजनिक यातायातको रुपमा प्रयोग हुने माइक्रो समेत विद्युतीय नै बढी आउनथालेका छन्।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म १९६ वटा पेट्रोलियम पदार्थबाट चल्ने माइक्रो तथा मिनिबस भित्रिँदा ३३१ वटा विद्युतीय माइक्रो भित्रिएका छन्। 

चालू आर्थिक वर्षको ८ महिनामा १५ देखि २५ सिटसम्मका १६८ वटा भित्रिएका छन्। ११ देखि १४ सिट क्षमताका माइक्रोबस २८ वटा भित्रिएका छन्। 

विद्युतीय माइक्रो ११ देखि २५ सिटसम्मका धेरै आउने गरेका छन्। ११ देखि १४ सिटसम्मका २८२ वटा विद्युतीय माइक्रो भित्रिएका छन्। १५ देखि २५ सिटसम्म ७७ वटा मिनिबस आएका छन्। 

२५ सिटमाथिका डिजेल बसको तुलनामा विद्युतीय बस भने कम छन्। ३७२ वटा ठूला बस भित्रिँदा विद्युतीय ११ वटा मात्रै नेपाल भित्रिएका छन्। 

गत आर्थिक वर्षको ८ महिनासम्म विद्युतीय बसको तुलनामा डिजेलबसको आयात बढी थियो। १४७ वटा २५ सिटसम्मका डिजेल बस आउँदा बिजुलीका १३७ वटा भित्रिएका थिए। २०७९ फागुनसम्म १५ सिटमाथिका मिनिबस भित्रिएका थिएनन्। 

सरकारले चालू आर्थिक वर्षमा ११ देखि १४ सिटसम्मका विद्युतीय माइक्रोमा १० प्रतिशत भन्सार महशुल लगाउने व्यवस्था गरेको छ। १५ सिटमाथिका विद्युतीय माइक्रोमा भने १ प्रतिशत भन्सार लाग्छ। 

जसकारण सार्वजनिक यातायातसँगै स्कुल, कलेजले विद्यार्थी ल्याउन र लैजान विद्युतीय गाडी खरिद गर्न लागेका छन्। 

चालू आर्थिक वर्षमा बढी आयात भई रेकर्ड राख्दा ६ हजार ४३५ आयात भएका छन्। सोही अवधिमा पेट्रोल इन्जिनका २ हजार ३५९ भित्रिएका छन्। डिजेल इन्जिनका ४१० वटा मात्रै आयात भएका छन्। 

अहिले सिन्धुली–बर्दीबासको सडक खण्डमा विद्युतीय माइक्रोको हिस्सा बढ्दै गएको छ भने काठमाडौं–चितवन सडकखण्डमा पनि बढिरहेको व्यवसायीले बताएका छन्। काठमाडौंको सुन्धाराबाट एकताबस्ती रुटमा अहिले विद्युतीय माइक्रो सञ्चालन हुनथालेका छन्। 

सामान्यतया एकपटक चार्ज गरेपछि २५० किलोमिटरसम्म गुड्ने यस्ता विद्युतीय माइक्रो खरिद र सञ्चालन गर्नेको डिजेलको खर्च जोगिने र मर्मतसम्भारमा पनि कम खर्च हुने भएकाले आकर्षण बढेको छ। विद्युतीय माइक्रोबाट छोटो समयमै धेरै कमाउन सकिने हुँदा व्यापार समेत बढ्दो छ। 

सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको किङलङ र केवाईसी काठमाडौं उपत्यकासहित लामो दूरीमा समेत चल्नथालेका छन्।

केवाईसीका ११ सिटे भ्यान काठमाडौं–कुलेखानी–हेटौंडा–सिमरा–पथलैया हुँदै वीरगन्जसम्म गुड्नथालेका छन्। यता काठमाडौंबाट चितवन हुँदै नवलपरासीसम्म र पूर्वमा काठमाडौंदेखि गाईघाटसम्म विद्युतीय माइक्रो चल्नथालेको व्यवसायी बताउँछन्।

सीजी मोटर्ससँगै विशाल ग्रुप, एमएडब्ल्यू ग्रुप, दिगोग्रुपलगायतले पनि विद्युतीय माइक्रो बिक्री गर्दै आएका छन्। 

चिनियाँ ब्रान्डले खोस्दै भारतीय र जापानी कम्पनीको बजार 
नेपालमा भित्रिने पेट्रोलियम पदार्थका माइक्रो तथा मिनीबस भारत र जापानबाट भित्रिने गरेका थिए। तर विद्युतीय माइक्रोको बजार हिस्सा बढ्दै जाँदा चीनको एकलौटी हुँदै गएको छ। 

पछिल्लो ८ महिनाको तथ्यांकअनुसार नेपालमा भित्रिने विद्युतीय माइक्रो चीनबाटै भित्रिएका छन्। आइस इन्जिनका १९६ मध्ये ४२ वटा जापानबाट आयात भएका छन् भने बाँकी भारतबाटै आयात हुने गरेका छन्। 

नेपालमा माइक्रोको एकछत्र बजार हिस्सा ओगटेको टोयोटाको हाइस जापानबाटै आयात हुँदा मूल्य बढी छ। पछिल्लो समय जापानी ब्रान्ड निसानले समेत आइस इन्जिनमा माइक्रो भित्र्याएको थियो। तर बजार लिन नपाउँदै विद्युतीय गाडीको बजार माग ह्वात्तै बढ्यो। 

विद्युतीय माइक्रो ४५ देखि ५५ लाखमा आउँदा हाइसको मूल्य ७० लाख बढी छ। १५ देखि २५ सिटसम्मका मिनी बस भारतबाट आउने गरेका छन्।  

नेपालमा निजी सवारीमा भारतबाट आयात हुने गाडीको वर्चस्व रहेकोमा विद्युतीय गाडी भित्रिएसँगै बजारमा चिनियाँ हिस्सा बढ्दै गएको छ।

बीवाईडी, सेरेस, अमोडा, नेटा, जीडब्लुएमलगायतका ब्रान्डले ठूला भनिएका सुजुकी, हुन्डाई, महिन्द्रा, टाटालाई अप्ठ्यारो बनाइरहेका छन्।

नेपालमा टाटाका निजी विद्युतीय गाडीको उपस्थिति भने बलियो छ। तर टाटाका साना तथा ठूला विद्युतीय बस नहुँदा चिनियाँ कम्पनी हावी भएका छन्। 

२५ सिटमाथिका ठूला बसमा भने टाटा, आइचर, अशोक लेल्यान्ड लगायतका बजार हिस्सा छ। नेपालमा ठूला बिजुली बस भित्र्याउने साझा यातायात, सुन्दर यातायातले सीमित मात्रै सञ्चालन गरिरहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .