कारोबार


भन्सार जाँचपासका लागि तातोपानी नाकाबाट पनि चोभार आउन थाले सवारी साधन

भन्सार जाँचपासका लागि तातोपानी नाकाबाट पनि चोभार आउन थाले सवारी साधन

नेपालखबर
फागुन १८, २०८१ आइतबार १६:४६, काठमाडौँ

चोभार सुक्खा बन्दरगाहमा तातोपानी नाका हुँदै आएका सवारी साधनहरूको समेत भन्सार जाँचपास सुरु भएको छ।

२०७८ चैत २२ देखि सञ्चालनमा आएको बन्दरगाहमा हालसम्म दक्षिणी नाका (वीरगञ्ज) बाट मात्र कन्टेनराइज्ड कार्गो र नयाँ सवारी साधनहरु भन्सार जाँच पासका लागि आउने गरेका थिए। 

तर यही फागुन १५ देखि तातोपानी नाकाबाट समेत चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि मालवाहक सवारी साधनहरु आउन सुरु गरेको हो। यही फागुन १५ गते कोभेक-क्रिग-कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेको ४ वटा कन्टेनरहरु पहिलोपटक तातोपानी नाकाबाट भन्सार जाँचपासको लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेको हो।  

अर्थ मन्त्रालयले गत कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि सामान ल्याउन चाहने पैठारीकर्ताको लागि सडक मार्ग तोकेको थियो। 

यसअघि दक्षिणी नाकाहरु वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट मात्र चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि सामान ल्याउन पाउने व्यवस्था थियो। 

तातोपानी नाकाबाट समेत भन्सार जाँचपासको लागि कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको र उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि थप टेवा पुग्ने नेपाल इन्टरमोडल यातायात विकास समितका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। 

पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्कलगायत स्तरीय सेवा प्राप्त हुने भएकोले आगामी दिनमा आयात निर्यातकर्ताहरुले नियमित रुपमा मालवाहक सवारी साधन सवारी चोभार आउने जानकारी समेत कार्यकारी निर्देशकले बताए। 

त्यसैगरी आगामी दिनमा रसुवानाकाबाट पनि भन्सार जाँचपास गर्न सवारी साधन तथा कन्टेनर आउने वातावरण बनेको छ।

काठमाडौमा आयात हुने सामान र काठमाडौ वरिपरिबाट निर्यात गर्न चोभार सुक्खा बन्दरगाहबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न व्यवसायीहरुलाई कार्यकारी निर्देशक आशिष गजुरेलले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad