नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने ‘नाडा अटो शो’ आगामी भदौ ३ देखि ८ गतेसम्म हुने भएको छ।
१७औँ संस्करणको शोका लागि आजबाट रजिस्ट्रेसन खुल्ने भएको हो।
शो काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुनेछ। उक्त प्रदर्शनीको लागि यही फागुन २७ देखि चैत ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिस्ट्रेसन गर्नसकिने नाडाले जनाएको छ।
प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करणहरूजस्तै यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइनेछ।
प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूलगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूहअनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ।
यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोबाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकोले गत बर्षहरूको तुलनामा यस वर्ष छिटै रजिस्ट्रेसन खुल्ला गरिएको हो।
नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पुर्याउँदै आइरहेको सवारीसाधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा एवं नवीनतम प्रविधिहरूको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएको छ।
Shares

प्रतिक्रिया