कारोबार


टोयोटा बीजेटको चीनमा ‘क्रेज’ : सार्वजनिक भएको पहिलो घण्टामै आयो १० हजार वटा माग

टोयोटा बीजेटको चीनमा ‘क्रेज’ : सार्वजनिक भएको पहिलो घण्टामै आयो १० हजार वटा माग

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १८:३६, काठमाडौँ

टोयोटाले चीनमा बीजेट ब्रान्डअन्तर्गत आफ्नो तेस्रो पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गरेको छ। यो कारले सार्वजनिक भएको पहिलो घण्टामै १० हजार माग पाएको थियो।

यो इलेक्ट्रिक एसयूभीको सुरुवाती मूल्य १ लाख ९ हजार ८०० युआन (१५,१०० अमेरिकी डलर) राखिएको छ। यसमा लिडार तथा मोमेन्टाको असिस्टेड ड्राइभिङ प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ। यसको अधिकतम रेन्ज ६१० किमि छ।

बीजेट३एक्सको आधारभूत संरचना जीएसी आयन भीमा आधारित छ। यसको आकार, मोटरहरू र समग्र ड्राइभ ट्रेन उस्तै भए पनि ब्याट्री फरक छ। यो ५-ढोका, ५-सीटर एसयूभी हो। यसको लम्बाइ/चौडाइ/उचाइ क्रमशः ४६००/१८५०/१६०० एमएम छ भने ह्विलबेस २७६५ एमएम छ। 

फोरह्विलर प्रणालीमा आधारित यो गाडीको एकल इलेक्ट्रिक मोटरले अधिकतम १५० किलोवाट वा १६५ किलोवाट शक्ति उत्पादन गर्छ। यसको उच्चतम गति १६० किमि/घण्टा छ।

यो कारमा लिथियम आयरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ। जुन तीन भेरियन्ट ५०.० केडब्लुएच, ५८.४ केडब्लुएच र ६७.९ केडब्लुएचमा उपलब्ध छ। 

यसको रेन्ज क्रमशः ४३० किमि, ५२० किमि र ६१० किमि सीएलटीसी परीक्षणअनुसार निर्धारण गरिएको छ। 

टोयोटाले यसमा लिडार र उन्नत चालक-सहायता प्रणाली (अड्यास) समावेश गरेको छ, जुन चिनियाँ स्वायत्त ड्राइभिङ स्टार्टअप मोमेन्टाको प्रविधिमा आधारित छ।

५२० प्रो र प्रो प्लस भेरियन्टहरूमा रोबोसेन्सको लिडार र मोमेन्टा ५.० असिस्टेड ड्राइभिङ प्रविधि उपलब्ध छ। जबकि ६१० म्याक्स भेरियन्टमा ऐच्छिक रूपमा लिडार र मोमेन्टा ५.० अड्यास राखिएको छ। बाँकी ट्रिमहरूमा स्ट्यान्डर्ड टोयोटा पाइलट चालक सहायता प्रणाली छ।

मोमेन्टा ५.० को सहयोगमा बीजेट३एक्सले एचडी नक्साविना नै एनओआ (नेभिगेट अन अटोपाइलट) फिचर सक्षम बनाएको छ। यसको इन्टेरियर टेस्लाको जस्तो न्यूनतम डिजाइनमा आधारित छ, जहाँ १४.६ इन्चको ठूलो स्क्रिन मुख्य आकर्षण हो। 

यद्यपि, यसमा पुरानो क्वाल्कम स्न्यापड्रागन ८१५५ चिप प्रयोग गरिएको छ, जब कि नयाँ ईभीहरूमा स्न्यापड्रागन ८२९५ चिप प्रयोग भइसकेका छन्। लिडार भएको ट्रिमहरूमा निभिडिया अरिन एक्स चिप राखिएको छ। यसको कम्प्युटिङ क्षमता २५४ टीओपीएस छ।

टोयोटाका अनुसार बीजेट३एक्स चीनमा संयुक्त रूपमा उत्पादन गरिएको पहिलो कार हो, जसमा लिडार प्रयोग गरिएको छ।

यसको ६५ प्रतिशत भागहरू चिनियाँ आपूर्तिकर्ताहरूबाट आउँछ भने केवल १ प्रतिशत भाग मात्र आयात गरिने टोयोटाले जनाएको छ।

टोयोटा बीजेट३एक्स जीएसी-टोयोटा संयुक्त उद्यमद्वारा निर्माण गरिएको हो र हाल चीन-विशेष कार हो।

टोयोटाले चीनमा पहिले नै दुईवटा पूर्ण इलेक्ट्रिक बीजेट सिरिजका कारहरू ल्याइसकेको छ: बीजेट४एक्स एसयूभी र बीजेट३ सेडान।

बीजेट३ टोयोटा र बीवाईडीको सहकार्यमा विकास गरिएको हो, जसमा बीवाईडीका इलेक्ट्रिक मोटर र ब्याट्री प्रयोग गरिएको छ। जब कि बीजेट४एक्सको चीनमा वितरण बन्द भइसकेको छ। बीजेट३ को बिक्री अपेक्षाभन्दा राम्रो रहेको छ। जनवरीमा टोयोटाले यसको ३५१० युनिट बिक्री गर्यो, जुन वार्षिक रूपमा ४५ प्रतिशत वृद्धि हो।

टोयोटाका अनुसार बीजेट३एक्सले सार्वजनिक भएको पहिलो घण्टामै १० हजार अर्डर प्राप्त गरेको थियो। जसका कारण यसको सर्भर क्र्यास भएको थियो। प्रारम्भिक खरिदकर्ताहरूलाई सीमित अवधिको लागि ५,००० युआन (७०० अमेरिकी डलर) छुट प्रदान गरिएको छ। यसको बिक्री प्रदर्शनलाई नजिकबाट निगरानी गरिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad