चिनियाँ कम्पनी बीवाईडीले युरोपमा पनि कार बिक्रीमा अमेरिकी कार निर्माता टेस्लालाई उछिनेको छ।
युरोपमा ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी)को बिक्री बढेको हो।
प्लगइन हाइब्रिड (पीएचईभी) समेत उत्पादन गर्ने चिनियाँ कम्पनीले अप्रिलमा ७ हजार २ सय ३१ वटा बीईभी बिक्री गरेको हो। जुन वर्षगत तुलनामा १६९ प्रतिशतले बढी हो।
बजार अनुसन्धाता कम्पनी जातो डाइनामिक्सले २८ देशबाट संकलन गरेको तथ्यांकअनुसार बीवाईडीको बिक्री बढेको देखिएको हो। सोही अवधिमा टेस्लाको बिक्री ४९ प्रतिशतले घटेर ७ हजार १ सय ६५ युनिट रहेको छ।
अप्रिलमा युरोपमा ११ लाख नयाँ कार दर्ता भएकामा बीईभीको हिस्सा १७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो हिस्सा १३.४ प्रतिशत थियो। त्यसैगरी पीएचईभीको बिक्री ६.९ प्रतिशतबाट ९ प्रतिशत पुगेको छ।
युरोपेली देशले कर थोपरे पनि बीवाईडीले युरोपमा बिक्री बढाउन सफल देखिएको हो। गत वर्षभन्दा चिनियाँ बीईभीको बिक्री दर ५९ प्रतिशत अर्थात् झण्डै १५ हजार ३ सय युनिट पुगेको छ। यस्तो दर युरोप, जापान, दक्षिण कोरिया र अमेरिकी कम्पनीको २६ प्रतिशतले बढेको छ।
Shares

प्रतिक्रिया