नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध भएका छन्।
अध्यक्षमा उप्रेतीको एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका हुन्।
नाडाले निकालेको चुनावी तालिकाअनुसार आज ११ बजेसम्म मनोनयन दर्ता गर्ने समय थियो। उक्त समयमा अन्य व्यक्तिले अध्यक्षमा उम्मेवारी नदिएपछि उप्रेती निर्विरोध निर्वाचित भएका नाडाका निवर्तमान एक सदस्यले नेपालखबरलाई जानकारी दिए।
उप्रेती निवर्तमान कार्य समितका महासचिव थिए। उनी स्पेयर पार्ट्स व्यवसायी हुन्
उप्रेती यसअघि नाडाका महासचिव थिए। उप्रेती सिएट टायर बिक्री गर्ने एसटीसी ग्रुपका प्रबन्ध निर्देशक हुन्।
अध्यक्षमा एकल उम्मेदवारी पर्दा सदस्यमा भने १८ जनाको उम्मेदवारी परेको छ। नाडाको विधान अनुसार १७ जना कार्यसमिति सदस्य निर्वाचित हुने प्रावधान छ।
‘१७ सदस्य आवश्यक पर्नेमा १८ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये एक जना उम्मेदवारको मनोनयन दर्ता फिर्ता गराउन पहल भइरहेको छ। यस्तो भएका नाडाका सम्पूर्ण कार्य समिति निर्विरोध निर्वाचित हुनेछन्’, ती सदस्यले भने, ‘मनोनयन फिर्ता लिने उम्मेदवारलाई नयाँ कार्यसमितिले सदस्यमा नियुक्त गर्ने विषयमा छलफल भइरहेको छ।’
नाडाका विधान अनुसार अध्यक्षले दुई सदस्यलाई मनोनित गर्ने प्रावधान छ। नाम फिर्ता लिने उम्मेदवारलाई पनि मनोनित गरिने ती सदस्यको दाबी छ। साथै दुई जना आमन्त्रित सदस्य रहनेछन्।
केन्द्रीय कार्यसमितिका सदस्यहरूको निर्वाचन यही पुस २५ मा हुने तय थियो। एक सदस्यले उम्मेदवारी फिर्ता लिएमा सबै निर्विरोध हुनेछन्। त्यसका लागि प्रयास भइरहेको जनाएको छ।
Shares

प्रतिक्रिया