कारोबार


नाडाका नवनिर्वाचित पदाधिकारीको शपथको बाटो खुल्यो

नाडाका नवनिर्वाचित पदाधिकारीको शपथको बाटो खुल्यो

नेपालखबर
फागुन २८, २०८२ बिहिबार ११:५७, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दायर गरिएको रिट निवेदन उच्च अदालतबाट खारेज भएको छ।

योसँगै नवनिर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहणको बाटो खुलेको नाडाले जनाएको छ।

अदालतमा मुद्दा परेकाले नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम नाडाले अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको थियो।

नाडा अध्यक्षमा गत पुस तेस्रो साता सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका थिए। उप्रेती अघिल्लो कार्यसमितका महासचिव थिए। उनी स्पेयर पार्ट्स व्यवसायी हुन्।

नाडा कार्यसमितिका तत्कालीन सदस्य आकाश गोल्छाले पुस ६ गते उच्च अदालतमा रिट दायर गरेपछि निर्वाचित पदाधिकारीले शपथ लिन पाएका थिएनन्।

बुधबार पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको छ र नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको नाडाले जनाएको छ।

यसै सन्दर्भमा, नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा सम्पन्न गर्ने नाडाको तयारी छ।

नाडाले सम्मानित अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णयले सम्बन्धित विषयमा स्पष्टता ल्याएको तथा संस्थालाई आगामी दिनमा थप स्थिरता र एकताका साथ अघि बढ्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

साथै, नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad