ad ad

कारोबार


अर्बपति ठेकेदार : कसैले ठड्याए धरहरा, कोही खोतल्दै छन् सुरुङ

१ अर्बदेखि ५ अर्बसम्म कारोबार गर्ने यी हुन् १६ ठेकेदार कम्पनी
अर्बपति ठेकेदार : कसैले ठड्याए धरहरा, कोही खोतल्दै छन् सुरुङ

वसन्त अर्याल
असोज १७, २०७९ सोमबार ७:३, काठमाडौँ

नेपालमा डेढ दर्जन बढी अर्बपति ठेकेदार छन्। तिनमा राजनीतिमा सक्रिय विक्रम पाण्डेदेखि इन्द्र बाँनियासम्म छन्।

नेपालमा चर्चित यी ठेकेदारले वार्षिक १ अर्बदेखि ५ अर्बसम्म कारोबार गर्दै आएका छन्। उनीहरू ठूलठूला सडक, पुल, भवन, हाइड्रोको ठेक्का लिई वार्षिक अर्ब बढीको कारोबार गर्छन्। 

नेपालमा ठूला निर्माण कम्पनीको रुपमा टुन्डी कन्स्ट्रक्सन, कालिका कन्स्ट्रक्सन, शर्मा एन्ड कम्पनी, समानान्तर निर्माण सेवा, पप्पु कन्स्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, रसुवा कन्स्ट्रक्सन चर्चित कम्पनी हुन्।  

सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनसँगै नेपाली निर्माण व्यवसायीले ५ अर्बसम्मको ठेक्का लिन पाउँछन्। तर एउटा कम्पनीले एकै पटक ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था छ। अर्ब बढीको कारोबार गर्नेमा अधिकांश ‘क’ वर्गका कम्पनी छन्। 

निर्माण व्यवसायी नियमावलीअनुसार ‘क’ वर्गको निर्माण व्यवसायी बन्न १ करोड चालू पुँजी देखाई उद्योग विभागमा दर्ता हुनुपर्छ। घटीमा एक करोड ५० लाख रुपैयाँको चार अलग–अलग वा कुल ३ करोड २० लाख रुपैयाँबराबरको सार्वजनिक निर्माणकार्य आफैँले सम्झौता गरी काम सम्पन्न गरेको हुनुपर्छ। 

२० वर्षको सार्वजनिक निर्माण अनुभव प्राप्त कम्तीमा दुई जना सिभिल इन्जिनियर रहेको कम्पनी वा विगत १० वर्षमा ६ करोड रुपैयाँ निर्माण कार्य गरेको अनुभव भई इन्जिनियर सेयर प्रमोटर रहेको कम्पनीलाई ‘क’ वर्गको निर्माण व्यवसायीमा वर्गीकरण गर्न सकिने व्यवस्था छ।

पूर्वाधारका काम, अर्बमाथिको कारोबार 
टुन्डी कन्स्ट्रक्सन

टुन्डी कन्स्ट्रक्सन पुरानो निर्माण कम्पनी हो। यो कम्पनीले सडक, पुल, सिँचाइ, विमानस्थल, खानेपानी पूर्वाधारमा काम गरिसकेको छ।

कम्पनीले करिब १८ अर्ब बढीका ठेक्का लिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ठेक्काबाट मात्रै ३ अर्ब १३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो कम्पनीले मुख्यतः सरकारी निर्माणमा काम गरिरहेको छ। ऋषि प्रसाद सुवेदी अध्यक्ष रहेको कम्पनीमा उनकी श्रीमतीसहित छोराबुहारीको नाममा सेयर रहेको छ। 

टुन्डी कन्स्ट्रक्सनले अहिले शेराटन होटल, सिंहदरबारमा बन्दै गरेको संघीय संसद् भवन, रानी जमरा कुलेरिया सिँचाइ आयोजनालगायतमा काम गरिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन, त्रिभुवन विमानस्थलमा ग्रामीण क्षेत्रमा उडान गर्ने जहाजको पार्किङ निर्माणको काम सकेको छ। 

शर्मा एन्ड कम्पनी
राधाकृष्ण शर्माले १९६६ मा स्थापना गरेको शर्मा एन्ड कम्पनी निर्माण क्षेत्रको पुरानो कम्पनी हो। अहिले रमेश शर्मा अध्यक्ष रहेको कम्पनीले वार्षिक पौने २ अर्ब सञ्चालन आय गर्छ। आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आय रहेकोमा २०७७/०७८ मा १ अर्ब ८९ करोड रुपैयाँ थियो। २०७६/०७७ मा भने कम्पनीको आम्दानी १ अर्बभन्दा तल ८८ करोडमा सीमित भएको थियो।  

शर्मा एन्ड कम्पनीले मेडिसिटी हस्पिटल, वीर हस्पिटल सर्जिकल ब्लक, होटल साफरोन, कान्ति बाल हस्पिटल, मेट्रो अपार्टमेन्ट, सीतापाइला हाउजिङ निर्माण गरेको थियो। 

कालिका कन्स्ट्रक्सन
राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन कम्पनीले साढे ३ अर्ब रुपैयाँसम्म वार्षिक आम्दानी गरेको छ। आर्थिक वर्ष २०७६/०७७ अघि वार्षिक ३ अर्ब बढी आम्दानी गरेकोमा २०७७/०७८ मा २ अर्ब ६८ करोड रुपैयाँ थियो। 

२०७५/०७६ मा ३ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेकोमा २०७६/०७७ मा ३ अर्ब ५५ करोड रुपैयाँको आम्दानी गरेको थियो। हाल अध्यक्ष तथा प्रबन्धनिर्देशक रहेका पाण्डेले सन् १९७६ मा कम्पनी स्थापना गरेका थिए। 

कालिका कन्स्ट्रक्सनले पुल, सडक, हाइड्रोपावर, सिँचाइ तथा खानेपानी पूर्वाधार, भवन निर्माण र ढल निकासका पूर्वाधार निर्माण गर्दै आएको छ। कम्पनीले निर्माण गरेका आयोजनामा सिक्टा सिँचाइ आयोजना, मदन भण्डारी राजमार्गका विभिन्न खण्ड, कोशी पुल, कर्णाली पुल, कमला पुललगायत दर्जन बढी ठेक्का लिएको थियो। 

समानान्तर निर्माण
‘क’ वर्गको ठेकेदार कम्पनी समानान्तर निर्माण सेवा प्रालिले ३ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको छ। समानान्तर निर्माण सेवाले संयुक्त उपक्रममा आयोजना निर्माण गरी आव २०७७/०७८ मा उक्त आम्दानी गरेको हो। गत आर्थिक वर्ष कम्पनीको आम्दानी ३ अर्ब ४१ करोड रुपैयाँ रहने अपेक्षा गरिएको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको २ अर्ब ९३ करोड रुपैयाँ सञ्चालन आय रहेको थियो। त्यसअघि २०७५/०७६ मा २ अर्ब ९९ करोड रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको प्रवर्द्धक अच्युत प्रसाद खरेल छन्। अध्यक्ष खरेल १९९३ देखि निर्माण क्षेत्रमा आबद्ध छन्। निरोज थपलिया कम्पनीका प्रबन्ध निर्देशक छन्। 

समानान्तर निर्माण सेवा २००९ मा दर्ता भएको थियो। समानान्तर निर्माण सेवाले भवन निर्माणबाट मुख्य आम्दानी गरिरहेको छ। समानान्तर निर्माण सेवाले अहिले सर्वोच्च अदालतको नयाँ भवन, आयल निगमको कर्पोरेट कार्यालय निर्माण गरिरहेको छ।

गोदावरी सनराइज सम्मेलन केन्द्र, महान्यायाधिवक्ताको कार्यालय, पासपोर्ट र कन्सुलर विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणको भवनमा समानान्तरले काम गरेको थियो। भवन निर्माणबाहेक सडक र खानेपानी व्यवस्थापनमा कम्पनीले काम गरिरहेको छ। कम्पनी सरकारी भवन निर्माणमा आबद्ध छ। 

लामा कन्स्ट्रक्सन
त्यस्तै सांसद तथा कांग्रेस नेता जिप छिरिङ लामाको लामा कन्स्ट्रक्सन कम्पनीको पनि १ अर्बमाथि सञ्चालन आय छ। १९७६ मा लामा कन्स्ट्रक्सन ‘घ’ वर्गको फर्मको रुपमा दर्ता भएको थियो। यो कम्पनी १९८९ मा ‘क’ वर्गमा रुपान्तरण भइसकेको थियो।

आर्थिक वर्ष २०१९ मा कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन आय गरेकामा २०२० मा १ अर्ब २० करोड रुपैयाँ रहेको थियो। कम्पनीले सडक, पुल, भवन, ढल व्यवस्थापन निर्माणको काम गरिरहेको छ। 

जिप छिरिङ लामाको कम्पनीमा ४९ प्रतिशत सेयर छ। यसबाहेक पिताम्बर बाबुको २७ प्रतिशत र २४ प्रतिशत लह्मु लामाको हिस्सा छ। 

रमन कन्स्ट्रक्सन
रमन कन्स्ट्रक्सन नेपालको ठूलो निर्माण कम्पनीको रुपमा परिचित छ। रमनले आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेकोमा २०७७/०७८ मा १ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको थियो। अन्य कम्पनीको तुलनामा रमन कस्ट्रक्सनको नाफा बढी छ।

कर, ब्याजबाहेकको नाफा २५ प्रतिशत रहेको रेटिङ एजेन्सी इक्राले उल्लेख गरेको छ। बलराम महतो र उनका २ छोरा रमन र पवन महतो कम्पनीका सञ्चालक छन्।   

रमन कन्स्ट्रक्सनले ठेक्का पाएको चर्चित आयोजना धरहरा हो। काठमाडौं तराई द्रुतमार्ग, विराटनगर–इटहरी–धरान सडक खण्ड, बागमती सिँचाइ आयोजना, कमला सिँचाइ आयोजनालगायतमा कम्पनीले काम गरेको छ। 

आशीष निर्माण
आशीष निर्माण सेवाले वार्षिक २ अर्ब बढीको कारोबार गर्न थालेको छ। कम्पनीको आम्दानी ७४.७५ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले २०७६/०७७ मा १ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

‘क’ वर्गको निर्माण कम्पनी आशीष निर्माण सेवाले आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। १९९८ मा निर्माण कम्पनी स्थापना भएको थियो। कम्पनीको मुख्य काम भवन निर्माण, सडक निर्माण हो। कम्पनीमा ऋषिकेश गौली प्रबन्धनिर्देशक छन्। 

कम्पनीले संयुक्त उपक्रमबाट ८२ प्रतिशत आम्दानी गरेको छ। दमक भ्यू टावर, कालिगण्डकी करिडोर, बबरमहल रेट्रो फिटिङको काम यसले गरिरहेको छ। 

सुमो कन्स्ट्रक्सन
सुमो कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिले वार्षिक ४ अर्ब ६७ करोड रुपैयाँको सञ्चालन आय गरेको छ।

कम्पनीले साढे १२ प्रतिशतले आम्दानी बढाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले २०७६/०७७ मा ४ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसअघि आव २०७५/०७६ मा १ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

२००९ मा सुमो इन्जिनियरिङ प्रालि रहेकोमा २०१७ मा नाम परिवर्तन गरिएको थियो। कम्पनीले मुख्य निर्माणको काम हाइड्रोपावर कम्पनीमा गर्छ। सुमो कन्स्ट्रक्सनको मुख्य प्रवर्द्धक दुगड ग्रुप हो। कम्पनीका अध्यक्ष विवेक दुगड र सीईओमा दीपक पौडेल छन्। 

एमभी दुगड ग्रुपअन्तर्गतको निर्माण कम्पनीले २०७८ मा करिब ४ अर्बको आम्दानी गरेको छ। सुमो कन्स्ट्रक्सनले १०० किमि बढी सडक, सुरुङमार्ग, लिखु–खिम्ती प्रसारणलाइन निर्माण गरेको छ। 

राजेन्द्र निर्माण
राजेन्द्र निर्माण सेवाले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ। आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसअघि २०७५/०७६ मा १ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको छ। ‘क’ वर्गको निर्माण कम्पनी १९९९ मा स्थापना भए पनि २००८ पछि मात्रै व्यापारमा वृद्धि भएको थियो। 

निर्माणमा आफ्नो क्राइट एरिया पु¥याउन राजेन्द्र निर्माण सेवाले जेभी (संयुक्त उपक्रम) मा काम गर्दै आएको छ। कम्पनीको कर, ब्याज र अवमूल्यनअघिको आम्दानी उच्च छ। यसको नाफा २३ प्रतिशत छ। 

कम्पनीको सञ्चालक भीम बहादुर साउद र उनका छोरा सुरेन्द्र साउद हुन्। पछिल्लो १३ वर्षमा कम्पनीले सडक, भवन, पुल, सिँचाइ र खानेपानी व्यवस्थापनका क्षेत्रमा राम्रो काम गरिरहेको छ। कम्पनीले सरकारी ठेक्का सिधै र सबकन्ट्याक्टरको रुपमा जिम्मा लिएर काम गरेको छ।

बाँनिया निर्माण
बाँनिया निर्माण सेवा ‘क’ वर्गको निर्माण कम्पनी हो। यसले आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब २६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ९९ करोड रुपैयाँ मात्रै सञ्चालन आय गरेको कम्पनीले २०७५/०७६ मा १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

कम्पनीले सडक, पुल, सिँचाइ पूर्वाधारमा काम गरिरहेको छ। कम्पनीको अध्यक्ष इन्द्र बहादुर बानियाँ ३ दशकदेखि निर्माण क्षेत्रमा रहेका छन्। कांग्रेस नेता इन्द्र बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीका आकांक्षी समेत हुन्। उनी प्रदेश सभाको उम्मेदवारको लागि मकवानपुरबाट सिफारिस भएका छन्।

ऋषिराज बानियाँ प्रबन्धनिर्देशक छन्। काठमाडौं–तराई द्रुतमार्ग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको भवन, वीरगन्ज–ठोरी राजमार्गमा कम्पनीले काम गरेको छ। 

एपेक्स कन्स्ट्रक्सन
एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रा.लिले वार्षिक अर्ब बढीको कारोबार गर्दै आएको छ। कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको छ। आव २०७६/०७७ मा ८४ करोड रुपैयाँको मात्रै कारोबार गरेको थियो।

कोभिड महामारीको कारण लकडाउन हुँदा २०७६/०७७ मा आम्दानी घटेको उल्लेख छ। त्यसअघि आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ। 

कम्पनीका प्रवर्द्धक राजन कुमार बास्तोलासहित सक्षम श्रेष्ठ, रमेश बहादुर अधिकारी र रुपा शाही बास्तोला छन्। रेल्वे ट्रेक बेड, द्रुतमार्ग, लम्की टीकापुर सडक खण्ड ठेक्कामा एपेक्सले काम गरिरहेको छ। 

भीमेश्वर ड्रिलिङ
भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा.लिले पनि वार्षिक पौने २ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गर्न थालेको छ। आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको हो।

भक्तपुरमा दर्ता रहेको ‘क’ वर्गको ठेकेदार कम्पनीले २०७६/०७७ मा ९७ करोड रुपैयाँ आम्दानी गरेको थियो। नेपालमा डिप बोरिङ, ड्रिलिङसम्बन्धी काम र खानेपानीका पूर्वाधारमा बढीजसो यो कम्पनी आबद्ध छ। कम्पनीको प्रबन्धनिर्देशक सहदेव खड्का छन्। 

एचएम कन्स्ट्रक्सन
एचएम कन्स्ट्रक्सन प्रा.लिले पनि वार्षिक २ अर्ब बढीको कारोबार गर्न थालेको छ। ललित थापा र करुण श्रेष्ठको कम्पनी ‘क’ वर्गको हो।

आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब १० करोड रुपैयाँ सञ्चालन आम्दानी गर्दा २०७६/०७७ मा १ अर्ब २६ करोड रुपैयाँ छ। कम्पनीले भवन, पुल, सडक, खानेपानीका आयोजना निर्माण गरिरहेको छ। 

सगुन कन्स्ट्रक्सन
‘ख’ वर्गको सगुन कन्स्ट्रक्सन अर्को निर्माण कम्पनी हो। यसले अर्बमाथि आम्दानी गर्न थालेको छ। आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

बुटवलमा दर्ता रहेको कम्पनीले साना र ठूला दुवैखाले आयोजनामा निर्माणको जिम्मा पाएको छ। सडक, खानेपानी, भवन, पुललगायतमा ठेक्का लिई काम गर्दै आएको छ। कम्पनीको प्रबन्धनिर्देशक सहदेव खड्का छन्। 

के.एस कन्स्ट्रक्सन
के.एस कन्स्ट्रक्सन प्रा.लि १९९२ मा ‘घ’ वर्गको कम्पनीका रुपमा दर्ता भएको थियो, जुन २००८ मा ‘क’ वर्गमा स्तरोन्नति भएको थियो।

कम्पनीले एकल ठेक्कामै अर्ब बढी आम्दानी गर्न थालेको छ। आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ। कम्पनीले २०७७/०७८ मै अर्ब क्लबमा प्रवेश गरेको थियो। 

सीई कन्स्ट्रक्सन
निजी क्षेत्रको मात्रै ठेक्का लिइरहेको सीई कन्स्ट्रक्सन ठूलो निर्माण कम्पनीको रुपमा चर्चित छ। कम्पनीले वार्षिक अर्ब बढीकै आम्दानी गर्दै आएको छ। १९९२ मा स्थापना भएको सीई कन्स्ट्रक्सन हाइड्रोपावर, हाउजिङ, अपार्टमेन्ट, हस्पिटल्स, होटल, निजी क्षेत्रका कार्यालयहरु, व्यावसायिक भवनलगायतका ठेक्का लिँदै आएको छ।

कम्पनीमा अध्यक्ष विजय राजभण्डारी, गोपाल मानन्धर र श्याम मिलन श्रेष्ठको ३०–३० प्रतिशत सेयर छ। ओम बहादुर राजभण्डारी १० प्रतिशत रहेको छ। २०२० मा कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँको टर्न ओभर गरेको थियो। 

यो पनि : विजयको छलाङः ‘घ’ वर्गको ठेकेदारदेखि ग्रान्डी र मेरियटसम्म

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .