कारोबार


४ अर्ब लगानीको लुम्बिनी सेरामिक्स : ३ सय जनालाई रोजगारी, १० प्रतिशत सस्तो मूल्यमै टायल

४ अर्ब लगानीको लुम्बिनी सेरामिक्स : ३ सय जनालाई रोजगारी, १० प्रतिशत सस्तो मूल्यमै टायल

वसन्त अर्याल
मंसिर १५, २०८१ शनिबार १४:४८, बर्दिया

कोभिड महामारीको समयसम्म नेपालमा ९९ प्रतिशत टायल भारतबाट आयात हुन्थे। नेपालमा कुनै राम्रो उद्योग थिएनन्। वार्षिक साढे १० अर्ब रुपैयाँको टायल नेपाल भित्रिने गरेका थिए। 

कोभिड महामारीसँगै नेपालमा टायल उद्योग खुल्न थाले। नेपालमा बढ्दो खपत र आयात प्रतिस्थापन गर्न आधा दर्जन उद्योग नेपालमै खुलिसकेका छन्।

व्यवसायीहरुले नेपालमै अर्बौँ रुपैयाँ लगानी गरे। नेपालमा रोजगारी सिर्जना गरिरहेका छन्। आयातित टायलको सट्टा नेपालमै उत्पादन भएकाले बजार लिँदै छन्। नेपालमा खुलेका उद्योगले पनि पछिल्लो २ वर्षयता आफ्ना उत्पादन बजारमा पुर्‍याएका छन्। अबको केही वर्षमा टायलमा आत्मनिर्भर हुने उद्योगी बताउँछन्। 

नेपालमा सहरी जनसंख्या बढ्दै जाँदा पूर्वाधारका संरचना पनि सहरमै विकास हुँदा टायल खपत समेत बढ्ने आकलन छ। सामान्यतः हरेक वर्ष करिब १० प्रतिशत बजार बढ्दै आएको छ।

हालै बर्दियाको गुलरियामा नयाँ उद्योग लुम्बिनी सेरामिक्स लिमिटेड सञ्चालनमा आएको छ। लेमिनार ब्रान्डको रुपमा बजारमा आएको टायल्स काठमाडौंको उत्तर ढोकामा एक्सिपिरियन्स युनिट राखेको छ। 

१२.५ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा विभिन्न व्यवसायीको लगानी छ। कम्पनीको अध्यक्ष सुब्रत धिताल छन्। सञ्चालकहरुमा श्याम सुन्दर खेतान, आशुतोस खेतान, सिन्नी खेतान, शशी चौरिवाल, सिर्जन अर्याल छन्। 

कम्पनीले १ दिनमा १ लाख ४० वर्गफिट टायल उत्पादन गर्न सक्छ। गत भदौ १ बाट उत्पादन सुरु गरेको थियो। दशैँसम्म परीक्षणको रुपमा सञ्चालन गरे पनि दशैँपछि आफ्ना उत्पादन बजार पठाउन थालेको छ। 

‘नेपालमै खुलेका टायल्स भारतीयभन्दा २० प्रतिशत सस्तो हुन्छ’, लुम्बिनी सेरामिक्सका अध्यक्ष सुब्रत धिताल भन्छन्, ‘हाम्रो उद्योगले अन्य नेपाली उद्योगभन्दा पनि १० प्रतिशत कममै टायल बजारमा ल्याएको छ।’

उद्योगमा जडान गरिएका टायल्स स्पेन, इटाली, चीन र भारतबाट नयाँ प्रविधिसहितका छन्। टायलको डिजिटल प्रिन्टर र गुणस्तर चेक गर्ने मेसिन इटालीबाट ल्याएको छ। इंक ग्लेज इटाली र स्पेनका कम्पनीको भएको जनाएको छ। 

‘४ लाख ३५ हजार वर्गफिटमा उद्योगका संरचना बनेका छन्’, लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चौरिवाल भन्छन्, ‘उद्योगमा कुल लगानी करिब ४ अर्ब छ।’

करिब ३०० कर्मचारीलाई रोजगारी दिएको छ। जसमा केही प्राविधिक जदशक्ति विदेशी छन्। लुम्बिनी सेरामिक्सले शतप्रतिशत भिट्रिफाइ टायल बनाउँछ। जुनमा पानी नछिर्ने, कडा र छिटै फुट्ने सम्भावना कम हुन्छ।

सेरामिक्स टायलले वाटर प्रुफ ९६ प्रतिशतसम्म हुन्छ भने भेट्रिफाइड टायल्सको ९९.९२ प्रतिशत वाटर प्रुफ हुन्छ। यसले भेट्रिफाइड टायल्सको आयु लामो हुन्छ। 

‘नेपाली उद्योगले भिट्रिफाइड टायल उत्पादन नगरे पनि गलत ब्रान्डिङ गरिरहेका थिए’, चौरिवाल भन्छन्, ‘लेमिनारका टायल शतप्रतिशत भेट्रिफाइड नै उत्पादन गरेका छौँ।’

नेपालमा सेरामिक्स टायल उत्पादन हुने गरेको छ। भिट्रिफाइड टायल आयात गर्नुपर्ने अवस्था रहेकाले नयाँ उद्योग खुलेको उनी बताउँछन्। 

घर वा अफिसभित्र र बाहिर जुनसुकै ठाउँमा प्रयोग हुने टायल बनाउँछ। कम्पनीले ५०० फरक डिजाइनका टायल बनाउँछ। टायल म्याट, ग्लोसी, म्याट कार्भिङ, हाई ग्लोस, ग्रिप ९, फुल बडी र लक्जरी डिजाइनका ट्रु म्याट टायल्स बनाउँछ। कम्पनीले अर्डरअनुसार डिजाइन र साइज समेत बनाएर दिन सक्छ। कुनै कम्पनीले आफ्नो लोगोसहितको टायल बनाउन चाहे लेमिनारले पूरा गर्छ।

हाल नेपाली बजारलाई नै लक्षित गरेर खोलेको उद्योगले भविष्यमा छिमेकी मुलुकमा समेत निर्यात गर्नसक्ने लक्ष्य राखेको छ। कम्पनीले सुरुमा भारतबाटै कच्चा पदार्थ ल्याएर टायल्स उत्पादन गरिरहेको छ। यसले कम्पनीको उत्पादनमा स्थिर र एकै गुणस्तरको बनाउन मद्दत गर्छ। तर आगामी दिनमा कम्पनीले नेपाली माटोलगायतका कच्चा पदार्थबाटै निर्माण गर्नसक्ने जनाएको छ। 

आफ्नो उत्पादनलाई देशभर पुर्‍याउन कम्पनीले डिलर बनाउँदै छ। यसमार्फत अबको केही महिनाभित्रै नेपालका अधिकांश ठाउँमा उपलब्ध हुने जनाएको छ। 

सामान्यतया माटो र खनिज पदार्थबाट टायल उत्पादन हुने भएकाले धेरै वातावरण प्रदूषणमा धेरै असर गर्दैन। तर उद्योगहरुले धूलो र माटो पकाउँदा प्रयोग हुने कोइलाको धूवाँलाई ‘रिफाइन’ भने गर्नुपर्छ। कम्पनीले उद्योगमा ढल प्रशोधन केन्द्र, वेस्ट ट्रिटमेन्ट प्लान्ट स्थापना गरेको छ। उद्योगभित्र धूलो कम गराउने उपकरण जडान गरिएको छ। 

नेपालमा धमाधम टायल उद्योग खुले पनि सम्भावनासँगै चुनौती पनि कायमै छन्। नेपालको अर्थतन्त्रको गति कम हुँदा टायल उद्योगलाई समेत प्रभाव परेको छ। निर्माण क्षेत्र बढ्दा टायलको खपत बढी हुन्छ। नेपाली दक्ष जनशक्ति नहुँदा विदेशी कामदारको भर छ। नेपालमा टायल उद्योगको सम्भावना बढ्दो छ। अन्य देशसँग तुलना गर्दा प्रतिव्यक्ति टायल खपत कम छ। 

कसरी बन्छन् टायल्स?
विभिन्न प्रकारका माटोबाटै टायल्स बन्छन्। लेमिनार ब्रान्ड उत्पादन गर्ने कम्पनीले ६० टन माटो एकै पटक टायल निर्माणको प्रक्रियामा पठाउन सक्छ। माटोमा पानी मिलाएर घुलेपछि माटोको पानीलाई कोइला भट्टीमा हालेर सुकाइन्छ। टायल्सका लागि चाहिने कच्चा पदार्थको रुपमा धूलो माटो निस्किन्छ।

उक्त माटोलाई प्रेसर दिएर टायल्सको आकार दिइन्छ। ५ हजार टन क्षमताको प्रेसर मेसिन जडान गरिएको छ। ती कच्चा टायल्सलाई १२ सय डिग्रीको तापक्रममा पकाएपछि कडा हुन्छन्। एक पटक पकाएपछि डिजिटल प्रिन्टिङको लागि लागिन्छ।

टायलको माथि कलरले डिजाइन बनाइन्छ। भुइँमा लगाइने टाइल कलर मात्रै लगाउँदा छिट्टै जाने भएकाले मेसिनले एक तहको ‘कोट’ लगाइन्छ। 

डिजाइनअनुसार बनिसकेका टायल्सलाई मेसिनले ४–५ चरणमा सफा गर्छ। फुटेका टाइल्स बाहिर निकालिन्छ। त्यसपछि पुनः टायल्सलाई भट्टीमा हालेर पकाइन्छ। अन्तिममा मेसिनबाट निस्किएका टायलको गुणस्तर चेक हुन्छ।

यी सबै प्रक्रिया उपकरणको सहायताले नै गरिन्छ। यसरी बनाएका टायल्स बलिया हुन्छन्। फुट्ने सम्भावना एकदमै कम हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad