मुलुकको पहिलो सडक सुरुङमार्ग ‘नागढुंगा’ आगामी जेठदेखि परीक्षणका रुपमा सञ्चालनमा आउने भएको छ।
नागढुंगा सुरुङमार्गमा आगामी जेठदेखि परीक्षणकालीन रुपमा गाडी सञ्चालन गर्ने तयारी भइरहेको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए।
नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भारका लागि गत बुधबार (वैशाख १६ गते) युसिन–एआरटी जेभीसँग सम्झौता भइसकेको छ। युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हुन्। १ अर्ब १० करोड ४० लाख रुपैयाँमा ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको ठेक्का पाएको हो।
‘सम्झौताको तीन महिनाभित्र सुरुङमार्ग सञ्चालन गर्नुपर्ने प्रावधान छ। परीक्षणका रुपमा वैशाखमै सुरुङमार्ग सञ्चालन गर्ने योजना थियो। तर प्राविधिक कारणले वैशाखमा परीक्षण गर्न सम्भव भएन। अब जेठमा परीक्षणका रुपमा सुरुङमार्ग सञ्चालनमा आउनेछ’, नेपालले नेपालखबरसँग भने।
युनिस एआरटी जेभीका प्रबन्धनिर्देशक रामचन्द्र तिमिल्सिना पनि जेठमा परीक्षण रुपमा सुरुङमार्ग सञ्चालन गर्ने गरी तयारी भइरहेको बताउँछन्।

‘कार्यतालिकाअनुसार वैशाख २१ गतेदेखि नै फिल्डमा परिचालन हुने योजना थियो। निर्माण कम्पनीले सुरुङमार्ग हस्तान्तरण नगर्दा फिल्डमा परिचालन हुन सकिएको छ। केही दिनमा सुरुङमार्ग उपलब्ध गराउने आयोजनाले प्रतिबद्धता जाहेर गरेको छ। सुरुङमार्ग उपलब्ध हुनेबित्तिकै तालिम (परीक्षण उद्धार) सुरु गरिनेछ’, तिमिल्सिनाले भने।
जेठको पहिलो सातासम्म सुरुङमार्गमा उद्धार परीक्षणको तयारी गर्ने योजना छ। उद्धार परीक्षणको कार्य सकेलगत्तै परीक्षणका लागि सवारीसाधनहरु सुरुङमार्गभित्र गुड्न दिइनेछ।
सुरुङमार्ग हस्तान्तरण नभए पनि तालिमका लागि समस्या नहुने निर्देशक नेपाल बताउँछन्। उनका अनुसारतालिमका लागि निर्माण कम्पनीको पनि सहयोग आवश्यक पर्नेछ।
सुरुङमार्गमा यात्रुवाहक सवारीसाधन प्रवेश गराउनुअघि उद्धार कार्यको परीक्षण गर्नुपर्ने हुन्छ। सुरक्षाका दृष्टिकोणले सुरुङमार्गलाई सुरक्षित मानिन्छ। तर पनि यात्रुवाहक सवारीसाधनलाई सुरुङमार्गभित्रबाट गुडाउनुअघि केही पूर्वतयारी भने आवश्यक पर्ने निर्देशक नेपाल बताउँछन्।
‘परीक्षणकालमा सुरुङमार्गभित्र सवारीसाधन दुर्घटना भए कसरी उद्धार गर्ने भन्ने सिमुलेसन गरिन्छ। तालिमको काम सकेर केही समय निःशुल्क रुपमा सवारीसाधनलाई सुरुङमार्ग भएर यात्रा गर्न दिइनेछ’, नेपालले भने।
सुरुङमार्ग २४ घण्टै सञ्चालन हुने भएकाले कर्मचारीहरु सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि अभ्यस्त बनाउन केही समय तालिम तथा परीक्षणमा खर्चिएको उनी बताउँछन्।
सुरुङमार्गको निर्माणको ९९.५ प्रतिशत काम सकिसकेको र निर्माण व्यवसायी जापानको हाजमा एन्डो कर्पोरेसन जेभीले हस्तान्तरणको प्रक्रिया अघि बढाइसकेको आयोजनाले जानकारी दिएको छ।

‘कामको मूल्यांकन गरिरहेका छौँ। मूल्यांकन अन्तिम चरणमा पुगेको छ। एक–डेढ हप्तामा हस्तान्तरण प्रक्रिया अघि बढ्छ’, नेपालले भने।
नागढुंगा उकालो र ट्राफिक जाम घटाउने उद्देश्यले सडक विभागले नागढुंगा सुरुङमार्गको सम्भाव्यता अध्ययन सन् २०१३ को फेब्रुअरीमा गरेको थियो।
वि.सं. २०७६ कात्तिक २८ गते यसको ठेक्का लागेको थियो भने २०८० वैशाख ३० गतेसम्म निर्माण सक्नुपर्ने म्याद थियो। तर कोभिड–१९ महामारी र स्थानीयको अवरोधका कारण पछिल्लो पटक २०८२ कात्तिक ८ गतेसम्म म्याद थपिएको थियो।
त्रिभुवन राजपथको सिस्ने खोला धादिङ–किसिपिडी काठमाडौं (नागढुंगा सुरुङमार्ग)को लम्बाइ २.६८८ किलोमिटर छ।
सुरुङमार्गभित्र सवारी गुड्नका लागि ३.५ मिटर चौडाइका २ लेनका सडक छ। त्यसको बीचमा १.५ मिटरको मेडियन र दुवैतर्फ ढलका लागि ०.५ मिटरको नालीको व्यवस्था छ।
सुरुङमार्ग प्रवेशका लागि पूर्वमा काठमाडौंतर्फ २.३०७ किलोमिटर र पश्चिममा धादिङतर्फ ०.५६५ किलोमिटरको एप्रोच सडक छ।

Shares

प्रतिक्रिया