पूर्वाधार सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग केवल पहाडभित्रको सुरुङ मात्र नभई समयलाई जोड्ने सुरुङमार्ग भएको बताएका छन्। नागढुंगा सुरुङमार्ग उद्घाटन गर्ने क्रममा सचिव सिग्देलले यस्तो बताएका हुन्।
‘सिस्नेखोला र बलम्बु बीचको यात्रा समयलाई आधा घण्टाभन्दा बढीबाट घटाएर केही मिनेटमा सीमित गरिदिएको छ। साथै, यसले मोडहरू र पहिरोको जोखिम भएका भित्ताहरूको खतरालाई हटाएको छ। जसका कारण पुस्ताौंसम्मका यात्रीहरूले सहनुपरेको थियो’, उनले भने।
पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको, सुरुङमार्ग निर्माणमा संलग्न ६३ वर्षीया पूर्ण जोशी लगायतबाट सोमबार सुरुङमार्गको औपचारिक उद्घाटन भएको हो।
नागढुंगा सुरुङमार्गले काठमाडौं उपत्यकाको पश्चिमतर्फको प्रवेशद्वार र राष्ट्रिय राजमार्ग सञ्जालको सबैभन्दा बढी भीडभाडयुक्त एवं जोखिमपूर्ण खण्डहरूमध्ये एकको रूपमा काम गर्ने उनले बताए। सुरुङमार्गको उद्घाटनसँगै आज त्यो अध्याय समाप्त भएको उनको भनाइ छ। यो सुरुङमार्ग नेपाल–जापान मित्रताको पछिल्लो र सम्भवतः सबैभन्दा स्पष्ट अभिव्यक्ति भएको उनले बताए।
पूर्वाधार इतिहासमा कोशेढुंगा : राजदूत तोरु
नागढुङ्गा सुरुङमार्ग देशको पूर्वाधार इतिहासमा कोशेढुङ्गा भएको जापानी राजदूत मायदा तोरुले बताए।
‘यो उद्घाटन अझ बढी अर्थपूर्ण छ। किनभने यसै वर्ष जापान र नेपालले आफ्नो कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउँदै छन्,’ राजदूत तोरुले भने।
यो सुरुङमार्ग जाइकाको करिब १५ अर्ब जापानी येन वा करिब १५.२ अर्ब नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। यो हाम्रा दुई देशबीचको घनिष्ट र चिरस्थायी साझेदारीको जीवन्त प्रमाणको रूपमा उभिएको उनको दाबी छ।
‘नागढुङ्गा सुरुङमार्ग, नेपालको पहिलो हिमालीरपहाडी सडक सुरुङमार्गको रूपमा, देशको पूर्वाधार इतिहासमा एक नयाँ अध्यायको सुरुवात हो। काठमाडौँलाई पोखरा र अन्य पश्चिमी क्षेत्रसँग जोड्दै। यस सुरुङमार्गले कठिन हिमाली भूभागका कारण पहिले अवरुद्ध हुने मानिसहरू र वस्तुहरूको आवतजावतलाई उल्लेखनीय रूपमा सुधार गर्नेछ। यसले स्थानीय समुदायहरूको जीवनस्तर सुधार्न र देशभरिका आर्थिक गतिविधिहरूलाई गति दिन महत्त्वपूर्ण योगदान र्पुयाउनेछ,’ उनले भने।
‘सुरुङमार्गको उद्घाटनसँगै नेपाल सरकारका लागि अर्को ठूलो दायित्व सुरु हुन्छ। यो सुरुङमार्गले भविष्यसम्म नै नेपाली जनतालाई आफ्नो पूर्ण लाभ दिइरहोस्। म आशा र विश्वास गर्दछु कि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो सुरुङमार्गलाई आगामी वर्षौँ र दशकौँसम्म स्वतन्त्र र दिगो रूपमा मर्मतसम्भार गर्ने लक्ष्यका साथ आफ्नै सञ्चालन तथा रेखदेख क्षमताको विकास गर्नेछ।’ उनले भने।
नागढुङ्गा सुरुङमार्गले आर्थिक विकासको लागि एक बलियो जगको रूपमा काम गर्नेछ र नेपालको उज्ज्वल र आशाजनक भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास गरे।
पूर्वाधारको एक महत्त्वपूर्ण खण्ड : अध्यक्ष अकिहिको
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिकोले नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा यो आयोजना पूर्वाधारको एक महत्वपूर्ण खण्ड मात्र नभई देशको यातायात विकासमा एक रूपान्तरणकारी कोशेढुङ्गाको रूपमा उभिएको बताए।
‘नागढुङ्गा सुरुङमार्ग ऐतिहासिक महत्त्वको आयोजना हो। धेरै वर्षसम्म सडक सुरुङमार्गको निर्माण नेपाली जनताको साझा आकांक्षा थियो। आज त्यो आकांक्षा साकार भएको छ’, अध्यक्ष अकिहिकोले भने।
यस सुरुङमार्गको उद्घाटनले पुनरुत्थानबाट विकासतर्फ र जोखिमबाट उत्थानशीलतातर्फको यात्रालाई मूर्त रूप दिने बताउँदै अकिहिकोले यसले धेरै हिसाबले नेपालीहरूको आकांक्षालाई प्रतिविम्बित गर्ने उल्लेख गरे।
‘यसले कनेक्टिभिटीमा सुधार गर्छ, सुरक्षा बढाउँछ र प्राकृतिक विपत्तिहरूविरुद्धको उत्थानशीलतालाई सुदृढ बनाउनेछ’, अकिहिकोले भने।
नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा, यसले काठमाडौँलाई पश्चिमी नेपाल र भारतसँग जोड्ने एक महत्त्वपूर्णद्वारको रूपमा काम गर्नेछ।
नागढुङ्गा करिडोरबाट दैनिक करिब ९ हजार सवारी साधनहरू आवतजावत गर्छन्। विगतमा, अत्यधिक सवारी चाप (जाम) को समयमा यो यात्रा गर्न एक घण्टाभन्दा बढी समय लाग्न सक्थ्यो। सुरुङमार्ग सञ्चालनमा आएसँगै अब यो समय घटेर ५ देखि ७ मिनेट मात्र लाग्नेछ।
यसले संकटको समयमा मानिसहरूको आवतजावत, आपतकालीन सेवाहरू र अत्यावश्यक वस्तुहरूको ढुवानी सुनिश्चित गर्न उत्थानशील पूर्वाधारको कत्तिको महत्त्व हुन्छ भन्ने कुरा स्पष्ट रूपमा प्रमाणित गरेको उनले बताए। तथापि, यो सफलता सहजै प्राप्त भने भएको उनको भनाइ छ।
‘आयोजनाले अत्यन्तै जटिल भौगोलिक अवस्थाहरूको सामना गर्नुपरेको थियो। जुन हिमालय निर्माण गर्ने टेक्टोनिक प्रक्रियाहरूबाटै बनेका हुन्। सुरुङ खन्ने क्रममा, इन्जिनियरहरूले पटक÷पटक पहिरो जाने, चट्टानहरू भासिने र अत्यधिक जमिनको दबाबजस्ता समस्याहरूको सामना गर्नुपर्यो, जसका लागि निरन्तर अनुकूलन र अभिनव इन्जिनियरिङ समाधानहरूको आवश्यकता थियो’, उनले भने।
यी चुनौतीहरूलाई पार गर्न आयोजनाले जापानी प्राविधिक विशेषज्ञता र नेपाली व्यवसायीहरुको समर्पण तथा कौशललाई प्रतिक हो। यहाँ कार्यरत कुल जनशक्तिको करिब ९८ प्रतिशत भाग नेपाली इन्जिनियर, प्राविधिक र श्रमिकहरूको रहेको उनले बताए। जसको प्रतिबद्धता सुरुङमार्गको सफल निर्माणका लागि अपरिहार्य थियो। जापानी विशेषज्ञहरूले उनीहरूसँगै मिलेर काम गरे, ज्ञान आदानप्रदान गरे र सुरक्षा तथा गुणस्तर व्यवस्थापन अभ्यासहरूलाई सुदृढ बनाए।
आयोजनाबाट प्राप्त अनुभवले इन्जिनियरहरूलाई नेपालको भावी पूर्वाधार विकासमा अग्रणी भूमिका खेल्न सक्षम बनाउने उनको भनाइ छ।
नागढुङ्गा सुरुङमार्गको अनुभवका आधारमा नेपाल र जापानले सुरुङ योजना, निर्माण, सञ्चालन र मर्मतसम्भारमा क्षमता अभिवृद्धि गर्न एक नयाँ प्राविधिक सहयोग पहल सुरु गरिरहेका छन्। यस आयोजनाले नेपालमा हाम्रो साझेदारीको नयाँ अध्याय खोल्ने उनले विश्वास व्यक्त गरे।
यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव पनि परेको छ। विगत सात दशकमा, हाम्रो साझेदारी आपसी विश्वास र सहयोगमा आधारित भएर निर्माण भएको छ। नागढुङ्गा सुरुङमार्ग हामीले मिलेर के हासिल गर्न सक्छौँ भन्ने कुराको एक शक्तिशाली प्रतीकको रूपमा उभिएको उनले बताए।
जाइका एक विश्वसनीय साझेदारको रूपमा नेपालको दिगो विकासलाई सहयोग गर्न र हाम्रा दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको उनले बताए।
उद्घाटन कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने सम्बोधन गरेनन्।
Shares

प्रतिक्रिया