आइसवर्ग बियर उत्पादक हिमालयन ब्रुअरीले क्षमता करिब दोब्बर बढाएको छ।
कम्पनीको बियर उत्पादन क्षमता वार्षिक ८० हजार हेक्टोलिटरबाट १ लाख ५० हजार हेक्टोलिटर पुर्याइएको हो।
एक दशक अघिसम्म नेपालमा बियर भन्नेबित्तिकै आइसवर्गको नाम आउँथ्यो। देशभर हिमालयन ब्रुअरीले उत्पादन गर्ने यो बियर उद्योग पछिल्लो समय संकटमा आएर उत्पादन नै बन्द भएको थियो।
तर उद्योग बन्द भएकै बेला सेयर स्वामित्व परिवर्तन भयो। चौधरी ग्रुपका अरुण चौधरीले २ वर्षअघि सविनभक्त जोशी र अरविन्ददास जोशीको सेयर लगानी रहेको उद्योग १ अर्ब २० करोडमा खरिद गरेका थिए।
त्यसयता आक्रामक रणनीति लिँदै उद्योगले लगानी र क्षमता विस्तारलाई तीव्रता दिएको छ। उसले क्षमता विस्तारको लागि उद्योग विभागमा माग गरेको थियो। त्यो प्रस्तावलाई विभागले औद्योगिक प्रवर्द्धन बोर्डमा पुर्याएको थियो।
योसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा रहने उक्त बोर्डले हिमालयन ब्रुअरीलाई क्षमता विस्तारको अनुमति दिएको थियो।
उक्त बोर्डमा नेपाल राष्ट्र बैंकका गभर्नरदेखि अर्थ र वन मन्त्रालयसम्मका प्रतिनिधि रहने व्यवस्था छ।
उद्योग विभागका अनुसार पहिलेको हिमालयन ब्रुअरीको वार्षिक उत्पादन क्षमता ७० हजार हेक्टोलिटरले बढाउन अनुमति प्रदान गरिएको छ।
यो क्षमता विस्तारसँगै अन्य कम्पनीसँग उद्योगले प्रतिस्पर्धा गर्ने देखिएको छ।
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै बिक्री हुने बियरमा चौधरी ग्रुपकै नेपाल आइस पर्छ। उक्त उत्पादन विनोद चौधरीको हो।
आइसबर्गले नेपालभर सबैभन्दा धेरै बिक्री हुने टुबोर्ग, बाह्रसिंगेजस्ता ब्राण्डसँग प्रतिस्पर्धा गर्नेछ।
बजार बढाउने उद्देश्यले उद्योगको क्षमता विस्तार गरेको हिमालयन ब्रुअरीले आइसबर्गका अलावा काठमाण्डू र कमाण्डो बियर पनि उत्पादन गर्छ।
१९८० मा स्थापना, ६४ रोपनी जग्गा
हिमालयन ब्रुअरी लिमिटेड भारतको मोहन मीकिन लिमिटेडको प्राविधिक सहयोगमा सन् १९८० मा स्थापना भएको थियो।
तर सन् १९८३ बाट मात्रै उसले वार्षिक १५ हजार हेक्टोलिटरको क्षमतामा उत्पादन सुरु भएको हो।
यो कारखाना ललितपुरको गोदावरीमा छ। नेपालको प्रख्यात रोयल बोटानिकल गार्डेनको नजिक करिब ६४ रोपनी अर्थात् १ लाख १५ हजार वर्गमिटर जग्गामा उद्योग फैलिएको छ।
प्रतिक्रिया