कारोबार


मेरियट इन्टरनेशनलसँग सीजी हस्पिटालिटीको सहकार्य, भारतमा होटल उपस्थिति बलियो बनाउँदै

मेरियट इन्टरनेशनलसँग सीजी हस्पिटालिटीको सहकार्य, भारतमा होटल उपस्थिति बलियो बनाउँदै

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १८:५०, काठमाडौँ

नेपालको एक मात्र डलर अर्बपति विनोद चौधरीको सीजी हस्पिटालिटीले भारतमा होटल क्षेत्रमा उपस्थिति थप बलियो बनाउने भएको छ। 

मेरियट इन्टरनेशनलसँग मिलेर सीजीले भारतमा व्यवसाय विस्तार गर्नलागेको हो।

बिहीबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। मेरियट र सीजी हस्पिटालिटीको कन्सेप्ट हस्पिटालिटीले भारतमा ३८० नयाँ होटल र रिसोर्ट आगामी ५ वर्षभित्र विकास गर्ने सहमति गरेको छ। कन्सेप्ट हस्पिटालिटी मेनेजमेन्ट कम्पनी हो। यसलाई चेन होटल द फनको साथ छ।

सीजी कर्प ग्लोबल र सीजी हस्पिटालिटीका प्रबन्धनिर्देशक एवं सीईओ राहुल चौधरीले यो साझेदारीसँगै २०३० सम्म द फनलाई ५०० होटलयुक्त बनाउने लक्ष्य राखेको बताए। उनका अनुसार भारतमा आफ्नो सेग्मेन्टमा ठूलो ब्रान्ड बनाउने तयारी छ। त्यसैगरी सीजी हस्पिटालिटीको ग्लोबल फुटप्रिन्ट ६ सय ५० होटल पु¥याउने तयारी रहेको उनको भनाइ छ। 

यो सम्झौताअनुसार मेरियटले कन्सेप्ट हस्पिटालिटीमा डेढ करोड अमेरिकी डलर लगानी गर्ने चर्चित म्यागजिन फोर्ब्सले उल्लेख गरेको छ। त्यसैगरी मेरियटकै नयाँ लजिङ ब्रान्ड सिरिज बाई मेरियटले पनि विश्वमा डेब्यु गर्नेछ। त्यस्तै द फनको पोर्टफोलियोले भारतमा धेरै ब्रान्डमा व्यवस्थापन गरिरहेका मेरियटका १५८ प्रोपर्टीलाई पूरकको काम गर्नेछ।

‘यो सम्झौताले भारतमा मेरियटको नेतृत्वलाई थप बढाउँछ’, मेरियट इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी एन्थोनी कापुनोले भने। 

मेरियटले भारतलाई अमेरिका र चीनपछि तेस्रो ठूलो बजार बनाउने लक्ष्य राखेको छ। 

यता चौधरीको सीजी हस्पिटालिटीले अहिले १२ देशमा १९५ होटल, रिसोर्ट, वेलनेस डेस्टिनेसन व्यवस्थापन गरिरहेको छ। यसमा ताज, ताज सफारी र भिभान्ता ब्रान्ड समावेश छन्। दक्षिण मनिलाको बतांगासमा सान बेनितोमा रहेको द फार्मलाई पनि मेरियटको अटोग्राफ कलेक्सनमा समावेश गर्न सहमत भएको छ। 

७० हेक्टरमा रिब्रान्ड गरिएको विलासी वेलनेस रिसोर्ट यसै वर्ष सञ्चालनमा ल्याउने तयारी छ। भारतमा पनि चौधरीले वेलनेस रिसोर्ट खोल्ने तयारी गरिरहेका छन्। होटलबाहेक नेपालमा विभिन्न क्षेत्रमा चौधरीको लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad