अभिनेता आर्यन सिग्देल र निर्देशक दिनेश राउतबीच गजबको ‘बन्डिङ’ छ। चाहे दिनेशको पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ होस् या त्यसपछि रिलिज भएका ‘आई एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पुजार सार्की’ र अहिले रिलिजको तयारीमा रहेको ‘महाभोज’। दिनेशको सबैजसो फिल्ममा आर्यन छुटेका छैनन्। त्यसैले त जबजब फिल्मवृत्तमा दिनेशले फिल्म बनाउने घोषणा गरिन्छ, पहिलो अड्कलबाजी सुरु हुन्छ– हिरो त पक्कै आर्यन नै होलान्।
दिनेशको अघिल्लो फिल्म ‘पुजार सार्की’मा आर्यनसँगै देखिएकी अभिनेत्री अञ्जना बराइली अहिले ‘महाभोज’मा पनि दोहोरिएकी छन्। यो साता नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेकी अञ्जनालाई आर्यनकै सामु हामीले सोध्यौँ– ‘अब दिनेश राउतको फिल्ममा नछुट्ने अर्को नाम थपिएको हो?’
जवाफमा उनले क्यारेक्टरमा फिट भएकै कारण दोहोरिएको बताइन्।
‘म ‘पुजार सार्की’ सकिनेबित्तिकै यो फिल्मसँग जोडिएको हो,’ उनले भनिन्, ‘दिनेश सरका लागि आफ्नो, अरुको मान्छे भन्ने हुँदैन। धेरैले भनेअनुसार र मैले बुझेअनुसार क्यारेक्टरसँग कुनै एक्टर फिट हुन्छ र कम्फर्टेबल लाग्छ भने उहाँले दोर्याएर काम गर्नुहुन्छ। म पनि फिट भएरै जोडिएको हो। भोलि मलाई नमिल्ने क्यारेक्टर भयो भने नजोडिन पनि सक्छु।’

त्यसपछि हामीले आर्यनलाई सोध्यौँ– ‘तपाईंलाई त दिनेशको फिल्ममा सधैँ सुहाउने है?’
थोरै हाँसोपछि जवाफमा उनले भने, ‘त्यस्तो होइन नि। उसको ‘प्रसाद’, ‘पर्व’, ‘प्रकाश’मा म कहाँ सुहाएँ त? सुहाएको भए त ती फिल्ममा पनि लिइन्थ्यो होला। खासमा हाम्रो सम्झौता ‘गाउँ रमाइलो’ भन्ने प्रोजेक्टका लागि भएको हो। तर दिनेश स्क्रिप्टमा एकदमै खारिने मान्छे। लेख्दै जाँदा उसको आइडिया परिवर्तन भयो। अनि ‘महाभोज’ बनेको हो। धन्न हामीलाई सुहाउने क्यारेक्टर बचेछ र हामी जोडिन पायौँ। दिनेशका लागि न कोही आफ्नो छ, न कोही आफन्त। सिनेमा नै उसको प्राथमिकता हो।’
सहकारी ठगीको विषय उठाएको ‘महाभोज’मा आर्यन, अञ्जनाबाहेक दयाहाङ राई, खगेन्द्र लामिछाने, मलिका महत लगायत अन्य कलाकारको पनि अभिनय रहेको छ। दयासँगको एउटा फाइट सिन सम्झिँदा अहिले पनि आर्यनको जिउ सिरिङ्ग हुन्छ।
‘तपाईँले ट्रेलरमा पनि देख्न सक्नुहुन्छ, दयाको हातमा ओरिजिनल खुकुरी भएको सिन हो,’ आर्यनले सम्झिए, ‘डमी खुकुरी सुहाएन। त्यसैले हामीले रियल खुकुरी नै प्रयोग गर्यौँ। मैले दयालाई ‘तिमी मिलाएर हान, म मिलाएर छल्छु’ भनेर गरेको सिन हो थियो। खासमा त्यस्तो गर्न हुन्थेन तर हामीले रिस्क मोल्यौँ। अहिले पनि बिर्सन सक्दिनँ म सुटिङको त्यो क्षण।’

जतिबेला आर्यनका ‘मेरो एउटा साथी छ’जस्ता फिल्महरू हलमा लागिरहेका थिए, त्यतिबेला अञ्जना सानै थिइन्। अझ आर्यन त उनको ‘क्रस’ नै थिए।
‘जुन टाइममा मैले उहाँलाई स्क्रिनमा हेरिरहेको हो, त्यतिबेला हिरो भनेको गुडलुकिङ, फाइट हान्ने, डान्स हान्ने हुन्छ भन्ने मान्यता थियो,’ अञ्जनाले आर्यनअघि मुस्कुराउँदै भनिन्, ‘मलाई उहाँ सबै क्वालिटी भएको हिरोजस्तो लाग्थ्यो। खासमा उहाँ मेरो बच्चाबेलाको क्रस नै हो। उहाँसँग काम गर्न पाउँछु भन्ने त कहिल्यै सोचेको थिइनँ। यति चाँडै सिनेमा क्षेत्रमा आउँछु भन्ने पनि सोचेको थिइनँ। ’
आर्यनलाई फिल्मको वर्कसर्पमा या सुटिङका क्रममा भेट हुँदा पनि अञ्जनाले यो कुरा बताएकी थिइनन्। अन्तर्वार्ताकै बेला उनले यो कुरा खुलाएको बताइन्।

हामीले आर्यन र अञ्जना दुवैलाई सोध्यौँ– ‘पर्दाबाहिर रोएको क्षण याद छ?’
जवाफमा आर्यनले आफ्नै फिल्म ‘मेरो एउटा साथी छ’ हेर्दा बहुत रोएको बताए।
‘आफ्नो सिनेमा हेरेर आफैँ रोएको छु। मैले त्यो फिल्मका बेला ग्लिसरिन प्रयोग गरेको थिइनँ। एउटा जोनमा थिएँ म। अहिले पनि मलाई त्यतिबेला रोएको क्षण याद छ,’ उनले भने।
अञ्जना आफूलाई ससना कुराले पनि छोइरहने भएकाले रोइरहने बताइन्। त्यत्तिकैमा आर्यनले सम्झाइदिए, ‘ऊ पुजार सार्कीको सुटिङका बेला धेरै रोएको मलाई थाहा छ।’

‘पुजार सार्कीमा गीतको सुटिङका बेला दिनेश राउतले मेकअपको विषयमा गाली गरेपछि रोएको थिएँ। उहाँले चित्त बुझेन भने सबैको अगाडि भन्दिहाल्ने बानी रैछ, त्यहीबेला रोएँ,’ अञ्जनाले सम्झिइन्।
‘लेटस् टक’ को ‘क्विक सेभेन’ सेग्मेन्टमा हामीले दुवैलाई सोध्यौँ– ‘तपाईंले जिन्दगीमा बुझेको सबैभन्दा कठोर सत्य के हो?’
‘सधैँ टाइम एउटै रहँदैन,’ एकताका खुब चम्किएका र बीचमा फिल्म क्षेत्रबाट निष्क्रिय जस्तै भएका आर्यनले भने, ‘तर सधैँ समय एउटै रहेन भन्दैमा निराश नहुनु, जीन्दगी अघि बढिरहेको छ। मेरो करिअरग्राफले पनि सिकायो, अरु धेरै कुराले सिकायो। खुसी हुँदा नमात्तिनु, दुःख हुँदा नआत्तिनु।’
आर्यनको भनाइमा सहमति जनाउँदै अञ्जनाले थपिन्, ‘समय र परिस्थितिअनुसार आफूलाई ढाल्न सक्नुपर्छ। मेरो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ रेकर्ड ब्रेक गर्नेगरी चल्यो। त्यसपछि रिलिज भएको ‘डोरी’ आएको गएको नै थाहा भएन। धेरै पर पुग्नै पर्दैन। यही उदाहरणबाट नि मैले सुखमा मात्तिनु, दुःखमा आत्तिनु भन्ने महसुस गरेँ।’

अहिले फिल्मवृत्तमा अञ्जनालाई छोटो समयमा सफलताको उचाइमा पुग्न सफल अभिनेत्रीका रूपमा चर्चा गरिन्छ। ‘महापुरुष’, ‘पुजार सार्की’हुँदै सबैभन्दा बढी कमाउने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को हिरोइन बनिन् उनी।
हामीले आर्यनलाई भन्यौँ– कुनै बेला तपाईंलेजस्तै अहिले लगालग हिट फिल्मको स्वाद चाखिरहेकी अञ्जनालाई तपाईं के सुझाव दिन चाहनुहुन्छ?
त्यसपछि अञ्जनातिर हेर्दै आर्यनले भने, ‘उतारचढाव, अप–डाउन भनेको जीवनको एउटा हिस्सा हो। त्यो बेलामा कहिल्यै पनि नआत्तिनू, मलाई सम्झिनू। त्यो उतारचढाव भोगेर आएको आर्यन सिग्देल कस्तो थियो मैले भेट्दाखेरी भनेर सम्झिनु, मोटिभेट भइन्छ।’
भिडिओ :
फोटो/भिडिओ : सरोज नेपाल/सौगात दाहाल

प्रतिक्रिया