कारोबार


फ्रेन्च फ्राइज उद्योग खोलेको फर्स्ट च्वाइस फुडले थाल्यो विदेश निर्यात

फ्रेन्च फ्राइज उद्योग खोलेको फर्स्ट च्वाइस फुडले थाल्यो विदेश निर्यात

नेपालखबर
असार ६, २०८२ शुक्रबार १५:८, काठमाडौँ

नेपालमै फ्रेन्च फ्राइज उद्योग खोलेको फर्स्ट च्वाइस फुडले विदेशमा निर्यात थालेको छ।

पाँच वर्षअघि नेपालमै आलु उत्पादन गरी फ्रेन्च फ्राइज  बनाइरहेको उद्योगले नेपाली बजारसँगै विदेशमा निर्यात थालेको हो।

अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको एक कार्यक्रममा बिहीबार फर्स्ट च्वाइस फुडका २ वटा प्रोडक्ट लञ्च गरेका थिए। अर्थमन्त्री विष्णु पौडेलले सानो व्यवसायबाट सुरु गरी ठूलो उद्योग स्थापना गरी हजारौँलाई रोजगारी दिएको भन्दै लगानीकर्ताको प्रशंसा गरे।

फ्रेन्च फ्राइज ब्रान्ड हिमालयन क्रिस्प र हाम्रो फ्राइज नेपाली बजारसँगै विदेशमा निर्यात हुने कम्पनीले जानकारी दिएको छ।

फर्स्ट च्वाइस फुड्स रुपन्देही जिल्लाको शुद्दोधन गाउँपालिकामा छ। युरोपियन प्रविधिमा आधारित आलु प्रशोधन उद्योगबाट फ्रेन्च फ्राइज र पाइपलाइनमा रहेका आलु टिक्की, बर्गर प्याटी, स्माइली, ह्यास ब्राउन आलु वेजेस बनाउने तयारीमा छ। 

‘हिमालयन र हाम्रो फ्राइज ब्रान्डमार्फत नेपालको स्वादलाई विश्वमा पुर्‍याउन खोजिरहेका छौँ’, अध्यक्ष कृष्णप्रसाद पौडेलले भने, ‘अमेरिकाको एफडीएमा दर्ता भएर, हामी छोटो समयमै भारतीय बजारमा निर्यात गरिरहेका छौँ र अमेरिका, दुबई, मलेसिया, साउदी अरेबियाजस्ता तेस्रो मुलुकहरुमा पनि निर्यात गर्ने तयारीमा छौँ।’ 

करिब ५ बिघा क्षेत्रफलमा फैलिएको, ६० हजार स्क्वायर फिटको यो उद्योग भवन, करिब २ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको छ। जसमा निजी क्षेत्र, प्राइभेट इक्विटी र बैंकको साझेदारी छ।

अध्यक्ष पौडेलले विश्वस्तरीय फ्रोजन पोटाटो प्रोडक्ट र  फ्रेच फ्राई  उत्पादन संसारका जुनसुकै ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको दाबी गरेका छन्। उनले नेपाली किसानबाट आलु फलाएरै फ्रेन्च फ्राई उत्पादन गरिरहेको जानकारी दिए। 

‘विगत ५ वर्षदेखि हामीले तराई, पहाड र हिमाली क्षेत्रमा प्रशोधनयोग्य आलुको अनुसन्धानको लागि करोडौँ रकम खर्च गरिसकेका छौँ। यसैको प्रतिफलस्वरूप यो वर्ष किसानहरुबाट लगभग २ हजार मेट्रिक टन आलु हाम्रो उद्योगले खरिद गरेको छ’, पौडेलले भने, ‘मिहिनेती किसानले उत्पादन गरेका आलुहरु आज फ्रेन्च फ्राइज बनेर हजुरहरुका टेबलसम्म आइपुगेका छन्। अहिले हामी विशेष गरी कैलाली, नवलपुर, सिन्धुली, काभ्रेपलाञ्चोकलगायत १९ जिल्लामा सफल परीक्षण गरी १०औँ हजार किसानहरुमार्फत आलु उत्पादन गरिरहेका छौँ।’

उनले काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ्ग, नेपालगन्जजस्ता मुख्य सहरहरुमा ५ वटा वितरक, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेस्टुरेन्ट, १७१ मोडर्न मार्टमार्फत उपभोक्तामाझ हाम्रो उत्पादन पुर्‍याएको बताएका छन्।

यो पनि–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad