सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ अल्ट्रा पातलो, हलुका र इन्ट्युटिभ इंटेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रिअर्डर गर्न मिल्ने जनाएको छ।
ग्यालेक्सी जेड फोल्ड७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र एआई प्रविधिलाई एकसाथ ल्याएको छ। यो डिभाइसले अल्ट्रा-स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने, खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्ले मार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्ने कम्पनीको दाबी छ।
ग्यालेक्सी जेड फ्लिप७ चाहिँ स्मार्ट एआई फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो।
यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम रहेको कम्पनीको भनाइ छ। फ्ल्यागशिप क्यामेरा, एज-टु-एज फ्लेक्सविन्डो, र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउने पनि दाबी गरिएको छ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजन प्रमुख निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गरेको बताए।
ग्यालेक्सी ए.आइ र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिने उनको भनाइ छ।
यसैगरी, ग्यालेक्सी जेड फ्लिप७ ले परिष्कृत डिजाइन ल्याएको छ, जसमा अब झनै ठूलो र उपयोगी कभर स्क्रिन छ। अब यो स्क्रिनमा अझ धेरै विजेटहरू र एप्सहरूसँगको इन्टरेक्सन सम्भव छ। फोन खोल्नु नपरीकनै। दुईवटा क्यामेराको वरिपरि रहेको बेझेल मात्र १२५ मिमी मोटाइको छ र ४.१ इन्चको फ्लेक्सविन्डोले पूरै सतह ओगटेकोले स्क्रिनलाई जेड फ्लिप सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो बनाएको छ।
फोन फोल्ड गरिएको अवस्थामा पनि, प्रयोगकर्ताले फ्लेक्सविन्डो बाटै दैनिक कामहरू सजिलै गर्न सक्छन्, जसले पकेटबाट झिकेर सिधै प्रयोग गर्न मिल्ने फोल्डेबल अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ। फ्लिप७ को मुख्य क्यामेरा अहिले झनै राम्रो स्टेबलाइजेसन र रङको सटीकता दिन्छ, भने थर्मल म्यानेजमेन्ट र सफ्टवेयर सुधार मार्फत ब्याट्री लाइफ पनि अझ लामो बनाइएको छ।
नेपालमा यी स्मार्टफोनहरू २५६जीबी भेरियन्टमा अगस्त ७ देखि प्रिअर्डर लिनका लागि वेबसाइटमा गएर आवश्यक प्रक्रिया अपनाउन सकिने कम्पनीले जनाएको छ।
प्रिअर्डरको लागि दर्ता गरी रु ५,००० को अग्रिम भुक्तानी गरेपछि ग्राहकहरूले ओटीपी प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर उनीहरूले स्टोरमा नयाँ फोल्डेबल फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्नेछन्।
Shares

प्रतिक्रिया