कारोबार


पहिलो तीन महिनामा एनसेलको सञ्चालन आय ८ अर्ब, वित्तीय अवस्था बलियो

पहिलो तीन महिनामा एनसेलको सञ्चालन आय ८ अर्ब, वित्तीय अवस्था बलियो

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १७:२६, काठमाडौँ

एनसेल आजियटा लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ८ अर्ब १८ करोड ९० लाख कुल सञ्चालन आय गरेको छ। 

रेटिङ एजेन्सीका अनुसार गत आवको कुल सञ्चालन आय ३२ अर्ब ५४ करोड ५० लाख रहेको थियो। त्यसअघिको वर्षमा ३४ अर्ब रहेको थियो। 

पछिल्ला वर्षहरुमा कम्पनीको आयमा गिरावट देखिएको छ। सन् २०२२ मा कम्पनीले ३९ अर्ब ७२ करोड ५० लाख सञ्चालन आय गरेको थियो। त्यसपछि २०२३ मा ३७ अर्ब ४४ करोड आय गरेको थियो। 

एनसेल सन् २००१ मा स्पाइस नेपाल प्रालिको नाममा दर्ता भएको थियो भने २००५ को सेप्टेम्बरदेखि व्यावसायिक रुपमा सञ्चालन भएको थियो। त्यतिबेला कम्पनी नेपालको निजी क्षेत्रको पहिलो जीएसएम टेलिकम सञ्चालक बनेको थियो। मेरो मोबाइल ब्रान्डमा सुरु भएको एनसेल सन् २००८ सेप्टेम्बरमा युरोपेली टेलियासोनेराले धेरै सेयर स्वामित्व लिएसँगै सन् २०१० मार्चमा एनसेल बनेको थियो। 

कम्पनीको नामसमेत एनसेल प्रालि बनाइएको थियो। सन् २०१६ अप्रिल १२ मा कम्पनी आजियटा ग्रुप बर्हाद (आजियटा)को अंग बन्यो। सो ग्रुपले वेस्ट इन्डिजको रेनल्ड्स होल्डिङ लिमिटेडबाट ८० प्रतिशत स्वामित्व किनेको थियो। २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालि नेपालको नाममा थियो। त्यसपछि कम्पनीको नाम फेरि परिवर्तन भएर एनसेल आजियटा लिमिटेड (एनसेल) भयो। सन् २०२० अगस्ट ३ देखि कम्पनी पब्लिक लिमिटेड बनेको थियो। आजियटाले आफ्नो रेनल्ड्स होल्डिङमा रहेको शतप्रतिशत सेयर स्वामित्व स्पेक्ट्रलाइट युके लिमिटेडलाई सन् २०२३ डिसेम्बरमा बिक्री गरेको थियो। तर नेपालमा सरकारी स्तरबाट यो सेयर ट्रान्सफरको प्रक्रिया थाती रहेको छ। त्यसकारण यसको कानुनी नाम समेत अपरिवर्तित अवस्थामै छ। स्पेक्ट्रलाइट युके लिमिटेडको पूरै सेयर सतिश लाल आचार्यको नाममा छ। उनी नेपाली मूलका सिंगापुरे नागरिक हुन्। 

इक्रा नेपालले एनसेललाई २० अर्बसम्मको दीर्घकालीन कर्जा सीमा र १२ अर्बसम्मको अल्पकालीन कर्जा सीमा दिएको छ। एनसेलले इक्राएनपी एलए र इक्राएनपी ए१ रेटिङलाई निरन्तरता पाएको छ। 

एजेन्सीका अनुसार कम्पनीको वित्तीय अवस्था बलियो छ। राजस्वमा निरन्तर गिरावट आए पनि कम्पनीका सूचकहरु नाफादायक नै रहेको रेटिङ एजेन्सीले उल्लेख गरेको छ। गत वर्ष कम्पनीको नाफा मार्जिन दर ५० प्रतिशत रहेको छ। गत वर्ष कम्पनीको जीएसएम आम्दानीमा ५१ प्रतिशत बजार हिस्सा रहेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad