कारोबार


आईसीएको राजदूत नियुक्त भइन् संस्कृति स्कुलकी निर्देशक दीप्ति आचार्य

आईसीएको राजदूत नियुक्त भइन् संस्कृति स्कुलकी निर्देशक दीप्ति आचार्य

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १२:३३, काठमाडौँ

९० बढी देशका १ हजारभन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए)ले दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आईसीएको राजदूतमा नियुक्त गरेको छ।

संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक आचार्यले नेपाल तथा छिमेकी देशहरूमा आईसीएको प्रतिनिधित्व गर्नेछिन्। उनले इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए)अन्तर्गत सञ्चालित इन्टरनेशनल अर्लि इयर्स करिकुलम (आईईवाईसी), इन्टरनेशनल प्राइमरी करिकुलम (आईपीसी) र इन्टरनेशनल मिडल इयर्स करिकुलम (आईएमवाईसी)मार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढ गर्न भूमिका खेल्ने बताइएको छ।

यो नियुक्तिले दुई दशकदेखि निरन्तर प्रगतिशील शिक्षाका लागि आचार्यले गरेको समर्पणको कदर गरेको आईसीएको भनाइ छ। उनको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेशनल स्कुल दक्षिण एसियामा प्रतिष्ठित आईपीसी मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएको थियो।

राजदूतका रूपमा नियुक्त भएपछि अब उनले अन्य विद्यालयहरूलाई पनि मार्गदर्शन गर्ने, तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको गुणस्तरीय कार्यान्वयनलाई क्षेत्रभर प्रवद्र्धन गर्ने भूमिका निर्वाह गर्ने बताइएको छ।

राजदूत नियुक्तिका विषयमा बोल्दै इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) की निर्देशक सारा ब्ल्याकमोरले भने, ‘हामी दीप्ति आचार्यलाई आईसीएको राजदूतका रूपमा सम्मानपूर्वक नियुक्त गर्न पाउँदा अत्यन्त हर्षित छौँ। गुणस्तरीय शिक्षाप्रति उहाँको अटल प्रतिबद्धता र नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रम स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिकाले उहाँलाई एसिया–प्रशान्त क्षेत्रमा विस्तार हुँदै गएको हाम्रो विद्यालय समुदायलाई मार्गदर्शन र प्रेरणा दिन उपयुक्त प्रतिनिधि बनाएको छ।’

आईसीएको यस ‘आईसीए एम्बासडर’ कार्यक्रमले ‘इम्प्रुभिङ लर्निङ’ दर्शनलाई उत्कृष्ट रूपमा बुझेर प्रभावकारी कार्यान्वयन गरेका अनुभवी शैक्षिक नेतृत्वकर्ताहरूलाई छनोट गर्ने गर्दछ। आचार्यको कार्यकाल अन्तर्राष्ट्रिय विद्यालयहरूको सञ्जाल सुदृढ बनाउने तथा शिक्षण विधि र नेतृत्वका उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्नेमा केन्द्रित रहने बताइएको छ।

को हुनु आचार्य?
दीप्ति आचार्य संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक हुन्। उनी नेपालमा प्रगतिशील शिक्षाको अगुवा व्यक्तित्वका रूपमा चिनिन्छिन्।

त्यस्तै उनी एएमआई–प्रशिक्षित मन्टेश्वरी शिक्षिका हुनुका साथै अमेरिकाबाट मन्टेश्वरी शिक्षामा स्नातकोत्तर उपाधि हासिल गरेकी छिन्। आचार्य विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय ट्रेनरका रूपमा पनि क्रियाशील छिन्।

शिक्षा क्षेत्रमा योगदानसँगै उनी टोस्टमास्टर्स इन्टरनेशनलमा विशिष्ट नेतृत्वकर्ता छिन्। उनीले जिल्ला तहका उच्च नेतृत्व भूमिकामा कार्य गरिसकेकी छिन्। साथै, उनी समर्पित सामाजिक अभियन्ता हुनुका साथै जोन्टा क्लब अफ काठमाडौंकी सक्रिय सदस्य पनि छिन्। साथै उनले महिला तथा बालबालिकाको अधिकार र हितका लागि वकालत गर्दै आएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad