इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलग’ आयोजना गरेको छ।
खासगरी काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपायहरू खोज्न विभिन्न सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याएको कम्पनीले जनाएको छ।
कार्यक्रममा सरकारी नेतृत्व, विषयविज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजका प्रतिनिधि तथा निजी क्षेत्रका अग्रणी व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
कम्पनीका अनुसार यस संवादको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीको विषयका रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय प्रक्रिया र ठोस कार्ययोजनातर्फ अगाडि बढ्नु हो।
सहभागीहरूले हालको वायु गुणस्तर अवस्था, प्रदूषणका प्रमुख स्रोतहरू, विद्यमान नीति तथा कार्यक्रमहरूको प्रभावकारिता, र कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे गहन तथा परिणाममुखी छलफल गरेका थिए ।
डायलगमा चार प्रमुख उद्देश्यहरू उच्च–स्तरीय सरोकारवाला समन्वय, वर्तमान अवस्थाको समग्र नक्साङ्कन, अवरोधहरूको पहिचान र रणनीतिक समाधान तथा निजी क्षेत्रको सक्रिय सहभागिता प्रवर्द्धन रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री माधव चौलागाईंले सरकारले हालसम्म गरेका प्रगतिहरूलाई उल्लेख गर्दै आगामी दिनमा अझ तीव्र, समन्वित र परिणाममुखी कार्यको आवश्यकता औँल्याए। उनले साझा लक्ष्यका लागि विभिन्न सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउन पहल गरेकोमा इनड्राइभ तथा एएआईको प्रशंसा गरे।
काठमाडौँको वायु प्रदूषण समस्या बहुआयामिक छ । उत्सर्जनको ठूलो हिस्सा बायोमास तथा घरेलु इन्धन प्रयोगबाट आउने गरेको छ भने यातायात र औद्योगिक विस्तारले थप दबाब सिर्जना गरिरहेको छ। भौगोलिक अवस्थाका कारण जाडो याममा प्रदूषणको स्तर अझ बढ्ने गरेको छ।
यस्ता चुनौतीहरू समाधान गर्न विश्वसनीय तथ्याङ्क, पारदर्शी अनुगमन प्रणाली, जनविश्वास र समन्वित कार्य अनिवार्य हुन्छ। विशेष गरी अन्तर्राष्ट्रिय सहयोग क्रमशः घट्दै गएको सन्दर्भमा स्थानीय स्वामित्वमा आधारित दिगो प्रणालीहरूको विकास अझ महत्त्वपूर्ण बनेको कम्पनीले जनाएको छ।
अल्माटी एयर इनिसिएटिभकी सीईओ जुलदिज साउलेबेकोभाले भनिन्, ‘वायु गुणस्तरमा दिगो सुधार ल्याउन विश्वसनीय तथ्याङ्क, सचेत नागरिक र सरकारसँगको नजिकको सहकार्यमा आधारित बलियो स्थानीय प्रणाली आवश्यक पर्छ। अल्माटीमा प्राप्त अनुभवले देखाउँछ कि जब प्रमाण, सार्वजनिक सहभागिता र नीति एकसाथ आउँछन्, प्रणालीगत परिवर्तन सम्भव हुन्छ। काठमाडौँले आफ्नै स्थानीय रूपमा सञ्चालन हुने स्वच्छ वायु मार्ग निर्माण गर्ने यात्रामा हामी सहयोग गर्न पाउँदा गर्व महसुस गर्छौँ।’
समग्रमा, यो वायु संवादले स्वच्छ हावा, स्वस्थ नागरिक र दिगो सहरी भविष्यतर्फ नेपालले चाल्न खोजेको अन्तर–क्षेत्रीय सहकार्यको महत्वपूर्ण प्रारम्भिक कदमको प्रतिनिधित्व गर्ने कम्पनीले उल्लेख गरेको छ।
यसले नीति, विज्ञान र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्दै दीर्घकालीन जनस्वास्थ्य तथा वातावरणीय लाभ सुनिश्चित गर्ने दिशामा स्पष्ट सन्देश दिएको छ।
Shares

प्रतिक्रिया