कारोबार


खल्ती प्रयोगकर्तालाई 'सुपर वालेट' सुविधा

खल्ती प्रयोगकर्तालाई 'सुपर वालेट' सुविधा

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १८:२९, काठमाडौँ

आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि 'सुपर वालेट' सुविधा सार्वजनिक गरेको छ।

ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्दछ। यससँगै खल्ती नेपालमा 'नियो बैंकिङ' युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ।

यसअघि यो ब्याज सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो। तर अब यो सीमा हटाउँदै खल्तीले आफ्ना सम्पूर्ण केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताहरूका लागि 'सुपर वालेट' को सुविधा विस्तार गरेको छ। यससँगै खल्ती वालेट अब केवल भुक्तानी गर्ने माध्यम मात्र नभई प्रयोगकर्ताको एक आधुनिक बचत उपकरणका रूपमा परिणत भएको छ।

सुपर वालेटको विशेषता र फाइदाहरूमा आकर्षक ब्याजदरको सुविधा छ। जसअनुसार हाल वार्षिक २.७५ प्रतिशतका दरले ब्याज प्रदान गरिने र यो दर साझेदार बैंकद्वारा निर्धारित मानक ब्याजदरमा आधारित रहेको हुनाले मासिक रूपमा परिवर्तन हुन सक्नेछ। त्यस्तै यसमा स्वचालित ब्याजको सुविधा पनि दिइएको छ। यसअनुसार सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको मौज्दातमा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः वालेटमा जम्मा हुनेछ।

यसमा सरल डिजिटल प्रक्रिया अपनाए पुग्नेछ। जसअनुसार कुनै बैंक भ्रमण वा झन्झटिलो कागजी प्रक्रिया बिना नै खल्ती एपबाटै यो सुविधा तुरुन्त सुचारु गर्न सकिनेछ।

सुपर वालेट सक्रिय गर्न प्रयोगकर्ताको खाता केवाईसी प्रमाणित हुनुपर्नेछ र निम्नमध्ये कुनै एक सर्त पूरा गरेको हुनुपर्नेछ। केवाईसी प्रमाणित भई कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको, वा केवाईसी प्रमाणित भई वालेटमा ओभरनाइट ब्यालेन्स रु. १,००० कायम गरेको हुनुपर्नेछ। 

यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध रहेकाले पीओएस र मर्चेन्ट खाताहरू यसका लागि योग्य नहुने बताइएको छ।

कसरी आवेदन दिने?
प्रयोगकर्ताहरूले खल्ती एपको होम स्क्रिनमा रहेको 'सुपर वालेट' सेक्सनमा गई 'एप्लाई' बटनमा ट्याप गरेर सहजै आवेदन दिन सक्नेछन्।

आवेदन दिएको भोलिपल्ट बिहानसम्ममा सुपर वालेट सक्रिय हुनेछ। साविकका आइएमई पे प्रयोगकर्ताहरूको हकमा यो सुविधा पहिले नै सक्रिय रहेकाले उनीहरूले पुनः आवेदन दिनु पर्ने छैन।

यस विशेष अवसरमा बोल्दै आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मीले नेपालको ठूलो जनसङ्ख्या आज पनि औपचारिक बैंकिङ प्रणालीको पहुँचभन्दा बाहिर रहेको उल्लेख गर्दै सुपर वालेटमार्फत यही असमानतालाई सम्बोधन गर्नलागेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad