एक बिहान। चियाको पहिलो चुस्की लिँदै गर्दा मोबाइलमा नोटिफिकेसनले भन्यो– नबिल बैंकको खातामा विदेशबाट पैसा आयो।
त्यही पैसा बैंकको किस्ता, बिजुली र पानीको बिल भुक्तानी, म्युचुअल फन्डको एसआईपीमा प्रयोग गरियो। एक कप चिया नसकिँदै सबै वित्तीय काम फत्ते भयो।
त्यो पैसा कतारमा वैदेशिक रोजगारीमा रहेका उनका आफन्तले आफ्नो ड्युटी सकिएपछि मोबाइल एपमार्फत पठाएका थिए। अहिले उनलाई नेपालमा पैसा पठाउनकै लागि अफिसमा विदा माग्नु पर्दैन, बैंकको कार्यालय धाउनु पर्दैन। मोबाइल एप्स ‘एनबैंक’मा केही क्लिक गरेको भरमा नेपालमा रहेको खातामा पैसा आइपुग्छ।
यी दुई दृश्य झट्ट सुन्दा काल्पनिक जस्तो लाग्छ। तर, होइन। यो त प्रविधिले सम्भव तुल्याएको दैनिक अभ्यासका प्रतीक हुन्।
केही वर्ष अघिसम्म बैंकिङ कारोबारको लागि सम्बन्धित कार्यालयमै पुग्नुपर्थ्यो, चेक काट्नुपर्थ्यो र बैंकको लामो लाइनमा लामबद्ध हुनुपर्थ्यो। अब ती झन्झट बितेका कथा भए। अब ग्राहकका लागि बैंक कुनै विशाल भवनमा होइन, आफ्नै हत्केलामा हराउने मोबाइलभित्रै उपलब्ध छ।
प्रविधि प्रयोगमा अग्रणी मानिएको नबिल बैंकले आफ्नो बैंकिङ कारोबारमा कृत्रिम बुद्धिमत्ता (एआई)लाई उत्तिकै प्राथमिकताका साथ स्थान दिइरहेको छ। नबिलले आफ्ना ग्राहकलाई बैंकमा नगई नै सबैजसो सेवा प्रयोग गर्न सक्ने अवस्था बनाइरहेको छ।
बैंकका सबैजसो सेवा उपलब्ध हुँदै गएका कारण नबिल बैंकले विकास गरेको ‘एनबैंक’ केवल एउटा मोबाइल बैंकिङ एप मात्रै नभएर आधुनिक डिजिटल बैंकिङको इकोसिस्टमकै रूपमा विकसित भइरहेको छ।
बैंकको कुल कारोबारमध्ये करिब ९० प्रतिशत डिजिटल माध्यमबाटै सम्पन्न हुन्छन्। शाखामा पुग्ने ग्राहकको संख्या करिब १० प्रतिशतमा सीमित छ।
बैंकिङ सेवामा आएको यो क्रान्ति नबिल बैंकले प्रविधिमा निरन्तर गरेको लगानीबाट सम्भव भएको हो।
ठूलो रकमको कारोबार, जटिल कर्जा प्रक्रिया वा कानुनी रूपमा शाखामा उपस्थित हुनैपर्ने सेवाका लागि मात्रै ग्राहकहरू बैंक पुग्छन्। यसले बैंकिङको शाखा अब स्मार्टफोनतर्फ सरेको स्पष्ट संकेत दिन्छ।

शाखाबाट स्क्रिनसम्मको यात्रा
नबिल बैंकले सन् २०२२ डिसेम्बर २२ मा ‘एनबैंक’ एप लन्च गरेको थियो। त्यसबेला एपको मुख्य उद्देश्य ग्राहकलाई शाखाको सीमाभन्दा बाहिर निकालेर चौबीसै घण्टा उपलब्ध हुने बैंकिङ सुविधा प्रदान गर्नु थियो।
यही डिजिटल प्लेटफर्मबाट आज खाता खोल्न, केवाईसी अद्यावधिक गर्न, कर्जा आवेदन दिन, कार्ड व्यवस्थापन गर्न, लगानी गर्न, बिल तिर्न, रेमिट्यान्स पठाउन र अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्ने अवस्था बनेको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली भन्छन्, ‘एनबैंक सुरु गर्दा हाम्रो उद्देश्य ग्राहकलाई एउटै एकीकृत डिजिटल प्लेटफर्ममार्फत सरल, सहज र आधुनिक नियो–बैंकिङ अनुभव प्रदान गर्नु थियो। अब हामी एनबैंकलाई बचत, कर्जा, रेमिट्यान्स, भुक्तानी, किनमेल र लगानीलगायत पैसासँग सम्बन्धित सम्पूर्ण आवश्यकता व्यक्तिगत रूपमा सम्बोधन गर्ने एआई–सञ्चालित सुपर एपका रूपमा विकास गर्दै छौँ।’
विदेशबाटै केवाईसी
नबिल बैंकले डिजिटल बैंकिङमा गरेको उल्लेखनीय नवप्रवर्तन हो— भिडिओ केवाईसी।
केही वर्ष अघिसम्म सामान्य पहिचान अद्यावधिक गर्नसमेत ग्राहकहरू बैंकको कार्यालय नै पुग्नुपर्ने अवस्था थियो। अहिले भने ग्राहकले आफूलाई अनुकूल समय बुक गरेर आवश्यक कागजातसहित भिडिओमार्फत बैंक प्रतिनिधिसँग केवाईसी अपडेट गराउन सक्छन्।
यो सुविधाले विदेशमा रहेका ग्राहकलाई सहज भएको छ। विदेशबाट भिडिओ कल गरेर पनि उनीहरुले आफ्नो केवाईसी अपडेट गर्न सक्छन्।
‘नविना’सँग नबिलका कुरा
नबिल बैंकले प्रविधिमा गरेको अर्को महत्वपूर्ण प्रयोग हो- ‘नविना’ नामक एआई च्याटबोट।
ग्राहकले कर्जा, ब्याजदर, कार्ड नवीकरण, डिजिटल सेवा वा खाता सञ्चालनसम्बन्धी जिज्ञासा एनबैंक एपमा रहेको ‘नविना’सँग सोध्न सकिन्छ।
प्रश्न राख्नासाथ नविनाले ग्राहकको जिज्ञासा समाधान गर्छिन्। तत्काल उत्तर प्राप्त हुने भएकाले सामान्य जानकारीका लागि शाखा वा कल सेन्टर धाउनुपर्ने बाध्यता नरहेको बैंकको भनाइ छ। यसले ग्राहकलाई छिटो सेवा दिनुका साथै कर्मचारीको कार्यभार पनि कम गरेको छ।
एआईले हेर्छ कर्जा योग्यता
नबिल बैंकले एआईको प्रयोगबाट सहजीकरण गरेको अर्को सेवा हो कर्जाको योग्यता परीक्षण। एनबैंकमार्फत उपलब्ध प्रि–अप्रुभ्ड डिजिटल लोन सेवामा ग्राहकको नियमित आम्दानी, कारोबारको इतिहास र क्रेडिट प्रोफाइलको आधारमा प्रणालीले नै स्वचालित रूपमा कर्जा योग्यता मूल्याङ्कन गर्छ।
योग्य ग्राहकले ५ हजारदेखि २ लाख रुपैयाँसम्मको कर्जा केही सेकेन्डमै प्राप्त गर्न सक्छन्। पाँच महिनासम्म नियमित आम्दानी बैंकको खातामा देखाएका ग्राहक कर्जाका लागि प्राथमिक रूपमा योग्य हुने व्यवस्था गरिएको छ। यसलाई बैंकले ‘फोन लोन’ भनेको छ। यसले परम्परागत कर्जा प्रक्रियालाई छोटो, सरल र छिटो बनाइदिएको छ।
यी सबै सुविधाले ‘एनबैंक’ केवल रकम पठाउने वा बिल तिर्ने माध्यममा मात्रै सीमित छैन। यसबाट ग्राहकले एसआईपी लगानी गर्न, टीएमएस पहुँच प्राप्त गर्न, कार्ड नवीकरण वा नयाँ कार्डको आवेदन दिन सक्छन्। डेबिट वा क्रेडिट कार्ड कुन शाखाबाट लिने भन्ने विकल्पसमेत मोबाइलबाटै छनोट गर्न सकिन्छ।
नबिल स्टक डिलरसँगको सहकार्यले पुँजी बजारमा डिजिटल पहुँच विस्तार गरेको छ। यसले सर्वसाधारणलाई लगानी प्रक्रियामा सहभागी हुन सहज बनाएको छ।
एनबैंकबाटै रेमिट्यान्स
रेमिट्यान्स नेपाली अर्थतन्त्रको मेरुदण्ड हो। खाडी क्षेत्रका मुलुकमा मात्रै करिब १७ लाख मानिस वैदेशिक रोजगारीमा छन्। युरोप, अमेरिका, अस्ट्रेलिया लगायतमा देशमा प्रशस्त नेपाली पुगेका छन्।
उनीहरुलाई नेपालमा पैसा पठाउन सजिलो माध्यम बनेको छ– एनरेमिट।
मोबाइल एप्लिकेसन एनबैंक प्रयोग गरेर सिधैं नेपालमा रेमिट्यान्स पठाउन मिल्ने सुविधा नबिल बैंकले दिएको छ। यसलाई बैंकले ‘एनरेमिट’ भनेको छ।
बैंकका अनुसार विश्वका १८८ देशमा रहेका नेपालीले अन्तर्राष्ट्रिय डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी तुरुन्तै नेपालस्थित बैंक खातामा रकम पठाउन सक्छन्।
यसले हुन्डीजस्ता अनौपचारिक माध्यमलाई निरुत्साहित गर्दै औपचारिक बैंकिङ प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको सीईओ ज्ञवाली बताउँछन्।
भारतसँगको सीमापार रकम स्थानान्तरण, अन्तर्राष्ट्रिय भर्चुअल डलर कार्ड, १९० देशमा प्रयोग गर्न मिल्ने ग्लोबल ई–सिम खरिदजस्ता सेवाले एनबैंकलाई ‘सुपर एप’तर्फ उन्मुख गरिरहेका छन्।
कोर बैंकिङ प्रणाली, साइबर सुरक्षा, डेटा व्यवस्थापन र प्रणालीको स्थायित्व सुधारमा पनि बैंकले निरन्तर लगानी गरिरहेको ज्ञवालीले जानकार दिए।
नवप्रवर्तनमा चार दशकदेखिकै अग्रता
नबिल बैंकले ४२ वर्षको यात्रा पूरा गरेको छ। चार दशकको बैंकिङ यात्रा पूरा गर्दा बैंकले यात्राको केन्द्रमा ‘विश्वास’ राखेको बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीले बताए।
यस अवधिमा बैंकले आर्जन गरेको ‘विश्वास’ नै बैंकको सबैभन्दा ठूलो सम्पत्ति भएको चौधरीको भनाइ छ।
नबिलले परिवर्तनको प्रतीक्षा गरेर नबसी सधैं परिवर्तनको नेतृत्व गरेको उनको दाबी छ। त्यही परिवर्तनको नेतृत्व गरेकै कारण आधुनिक बैंकिङको जग बसाल्न योगदान पुगेको चौधरी बताउँछन्।
चौधरी भन्छन्, ‘एनबैंक एपमार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा आफूलाई स्थापित गर्दै ग्राहकको बैंकिङ अनुभवलाई पूर्ण रूपमा बदल्यौँ। अहिले नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गरिरहेको छ। हामीले नवप्रवर्तनलाई अपनाउने मात्र गरेका छैनौं, यो नबिलको डीएनएमै छ।’
हाल एनबैंकका प्रयोगकर्ता १० लाखभन्दा बढी पुगेको बैंकको दाबी छ। यो संख्या केवल एउटा एपका प्रयोगकर्ताको आँकडा मात्र होइन, नेपालमा डिजिटल बैंकिङप्रति बढ्दो विश्वासको संकेत पनि हो।
डिजिटल बैंकिङप्रति बढेको यो भरोसाले अब बैंकिङ कारोबारको लागि कार्यालय समय पर्खिरहनु पर्दैन। अब बैंक सधैँ खुला र सधैँ उपलब्ध छ।
नबिल बैंकले नगदरहित, पारदर्शी र डिजिटल अर्थतन्त्र निर्माणमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ।
Shares

प्रतिक्रिया