भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सूचना सुरक्षा सम्बन्धी विश्वव्यापी मान्यता प्राप्त आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ।
यो प्रमाणपत्रले एससीटीमा लागू गरिएको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी रूपमा सञ्चालन भइरहेको तथा संस्थाले आफ्ना ग्राहक, सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, साझेदार संस्था तथा अन्य सरोकारवालाको सूचनाको गोपनीयता, अखण्डता र उपलब्धता सुनिश्चित गर्न उच्चतम स्तरको सूचना सुरक्षा अभ्यास अवलम्बन गरेको पुष्टि गर्ने कम्पनीले जनाएको छ।
यसअघि नै एससीटीले अन्तर्राष्ट्रिय कार्ड भुक्तानी उद्योगका सुरक्षा मापदण्डअनुसार पीसीआई डीएसएस भर्सन ४.०.१ प्रमाणपत्र तथा पीसीआई ३डीएस प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ। योसँगै एससीटीले सूचना सुरक्षा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन तथा सुरक्षित डिजिटल भुक्तानी पूर्वाधारप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ। यी प्रमाणपत्रहरूले कम्पनीको सञ्चालन प्रणाली अन्तर्राष्ट्रिय स्तरका सुरक्षा मापदण्ड अनुरूप रहेको पुष्टि गर्नुका साथै सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, व्यापारी तथा सेवाग्राहीहरूको विश्वासलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्नु एससीटीका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि भएको बताए।
एससीटीले हाल नेपालभरका सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा अन्य साझेदारहरूमार्फत कार्ड स्विचिङ, कार्ड प्रोसेसिङ, क्यूआर भुक्तानी, डिजिटल भुक्तानी पूर्वाधार तथा विभिन्न अत्याधुनिक भुक्तानी सेवाहरू उपलब्ध गराउँदै आएको छ। संस्थाले सूचना सुरक्षा तथा सेवा गुणस्तरलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा निरन्तर अघि बढाउँदै आएको छ।
Shares

प्रतिक्रिया