कारोबार


हप्तामा २ दिन विदाको प्रस्ताव फेरि बहसमा, होला त पर्यटन क्षेत्र चलायमान?

हप्तामा २ दिन विदाको प्रस्ताव फेरि बहसमा, होला त पर्यटन क्षेत्र चलायमान?

वसन्त अर्याल
भदौ २८, २०७७ आइतबार १०:९,

कोरोना महामारीका कारण पर्यटनलगायतका क्षेत्र ठप्प भएपछि त्यसलाई पुनः चलायमान बनाउनका लागि सरकारले बिभिन्न बैकल्पिक उपाय खोजि गरेको बताएको छ।
यसै क्रममा हप्तामा एक दिनको सट्टा दुई दिन सार्वजनिक विदा दिने बिकल्पबारे पनि छलफल सुरु गरिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ का कारण ठप्प भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हप्ताको दुई दिन विदा प्रस्तावमाथि छलफल सुरु गरेको हो।

मन्त्रालयले अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा समेत रहेको हप्ताको दुई दिन विदा कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास गरेको छ।

अहिले कयाैं देशमा हप्ताको पाँच दिन र ४० घण्टा कर्मचारीले काम गर्ने व्यवस्था रहेको छ। तर नेपालमा हप्ताको ६ दिन र ४२ घण्टा कर्मचारीले काम गर्ने व्यवस्था छ।

अधिकांश मुस्लिमबहुल देशले शुक्रबार र शनिबार विदा दिने गरेका छन् भने पश्चिमा देशहरु बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा एसियाली देशहरु चीन, जापानले शनिबार र आइतबार विदा दिने गरेका छन्।

नेपालमा शनिबार विदा दिने प्रचलन राणा शासन कालमा भएको पाइन्छ। केही वर्षअघि लोडसेडिङ अत्यधिक हुँदा ऊर्जा बचत, सरकारी साधन कम चल्दा इन्धन बचत, प्रदूषण कम हुने, कर्मचारी रिफ्रेसमेन्ट र आन्तरिक पर्यटनमा वृद्धि गर्ने उद्देश्यले हप्ताको दुई दिन सार्वजनिक विदा दिने व्यवस्था गरिएको थियो।

तर सेवा प्रवाह राम्रो नभएको भन्दै उक्त व्यवस्था खारेज गरी पुरानै व्यवस्था कायम गरिएकाे थियाे।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारी र सार्वजनिक कार्यालयमा सातामा २ दिन विदा दिने विषयमा छलफल भइरहेको बताए।

उनले एक कार्यक्रममा भने, ‘तत्काल विदेशी पर्यटक आउने अवस्था छैन, आए पनि कम संख्यामा मात्रै आउनेछन्, यस्तो अवस्थामा हामीलाई अझै १/२ वर्ष जति लाग्नसक्छ। त्यसैले सरकारी र सार्वजनिक कार्यालयमा २ दिन विदा गरौं भन्ने प्रस्ताव समेत गरेको छु।’

मन्त्रीको योजनाअनुसार शुक्रबार र शनिबार विदा भयो भने कर्मचारीलाई दुई दिन घुम्न जान पनि पाउने र वर्षमा ५० लाख मानिसले आन्तरिक पर्यटनमा योगदान पुर्याउन सकिने आँकलन छ।

मन्त्रालयले यस विषयमा छलफल चलाए पनि योजना भने अझै नबनेको पर्यटन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले बताए।

‘योजना बनिसकेको छैन, बनाउने क्रममा छौँ। शुक्रबार र शनिबार हुन्छ वा शनिबार र आइतबार हुन्छ। हप्तामा दुई दिन विदा गरेर भए पनि आन्तरिक पर्यटन बढाउनुपर्छ भनी मन्त्रालयमा छलफल चलिरहेको छ’, सह–सचिव तथा प्रवक्ता भट्टराईले भने, ‘सरकारी कर्मचारी मात्रै होइन सरकारी निकाय, संस्थान, निजी क्षेत्र सबैलाई विदा हुने गरी छलफल चलेको छ।’

अहिले पर्यटन मन्त्रालयले हप्तामा दुई दिन विदा दिने व्यवस्थामा छलफल चलाए पनि संसदीय समितिले संघीय निजामती सेवासम्बन्धी विधेयक मस्यौदामा यस्तो व्यवस्था स्वीकार गरेको छैन।

उक्त विधेयकमा संशोधन प्रस्ताव राख्दै नेपाली कांग्रेसका संसद गगन थापाले हप्ताको दुई दिन विदा दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका थिए। सांसद थापाले कर्मचारीलाई हप्तामा ४० घण्टा काम गर्ने गरी दुई दिन विदा दिनुपर्ने बताएका थिए।

राज्य व्यवस्था समितिले उनको संशोधन प्रस्ताव स्वीकार नगरी विधेयक पारित गरिसकेको छ। उक्त विधेयक प्रतिनिधि सभामा पेश भएको छैन। राष्ट्रिय सभामा अझै छलफल हुन्छ।

‘राम्रो अध्ययन गरेपछि मात्रै हप्तामा दुई दिन विदा’
पूर्व अर्थसचिव डा. शान्तराज सुवेदीले नेपालले पहिले प्रयोगमा ल्याइसकेको व्यवस्था असफल भएको भन्दै त्यसको राम्रोसँग अध्ययन गरेर मात्रै अघि बढ्नुपर्ने बताए।

‘सर्भिस डेलिभरी प्रभावकारी हुन्छ, बिहान ९ देखि बेलुकी ५ बजेसम्म काम हुन्छ भनिएको थियो। एउटा सेवाको लागि दुई/तीन दिन सेवाग्राहीले कुर्नुपर्दैन भन्ने तर्क अघि सारिएको थियो’, सुवेदीले त्यो व्यवस्था लागू गर्दाको प्रसंग सम्झिँदै भने, ‘हप्तामा दुई दिन विदा गर्दा लोडसेडिङ, इन्धन, प्रदूषण कम हुन्छ भन्ने थियो। यो सबै आँकलन गरेअनुसार नतिजा आएन।’

९ बजे आउँछन् भनेका कर्मचारी सवा/साढे ९ बजे बल्ल आउनथाले। पहिला सेवाग्राही जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो। शुक्रबार गयो भने त्यो दिन काम नबन्ने र सोमबारसम्म कुर्नुपर्ने अवस्था आयो। हप्तामा ६ दिन पाउने सेवा ५ दिन पाउँदा सेवाग्राहीले उचित नमानेकाले व्यवस्था असफल भएको उनको भनाइ छ।

अहिले हप्तामा दुई दिन विदा हुँदा पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन बढ्ने आँकलन गरे पनि धेरै पर्यटन बढाउन सहयोग गर्ने सम्भावना कम रहेको सुवेदी बताउँछन्।

‘पहिला आन्तरिक पर्यटन बढ्ने भनेकोमा दुई दिन विदा दिँदा घुम्न जाने पर्यटक बढेनन्। दुई दिनको विदामा लामो दूरीमा कर्मचारी जान पाउने भएनन्। छाेटो दूरीको लागि एकैठाउँ कति पटक जाने?’, सुवेदीले भने, ‘जहाज चढेर बाहिर जानको लागि कर्मचारीको तलबले पुग्दैन। २ दिनको विदाले कर्मचारी भ्रमणमा जान्छन् र आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिन्छन् कि दिँदैनन् भन्ने विषयमा अध्ययन नै गर्नुपर्छ।’

नेपाली कर्मचारीको हैसियत कति छ, आफ्नै खर्चले कति पटक घुम्न सक्छन् भन्ने अध्ययन गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘सरकारले घुम्ने खर्च दियो भने त कर्मचारी बाहिर जालान् नभए विदा दिएर मात्रै घुम्न जाँदैनन्।’

उनले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सुझाव दिँदै भने, ‘वर्षमा एक हप्ते वा १० दिने पर्यटन कार्यक्रम ल्याई कर्मचारीलाई घुम्न जाने व्यवस्था भए आन्तरिक पर्यटनमा टेवा पुग्छ। यसमा घुम्न जाने कर्मचारीबाट त्यहाँको पर्यटन प्रवर्द्धनको लागि के गर्नुपर्छ सुझाव संकलन गर्न सकियो भने अझ राम्रो हुन्छ।’

त्यो बेला अदालतले दुई दिन सार्वजनिक विदा दिन सुरु पनि गरेको थियो। यसलाई पनि एकरुपमा होस् भनेर तत्कालीन सरकारले गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .