कारोबार


वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधनमा क्षति

वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधनमा क्षति

नेपालखबर
साउन २६, २०८२ सोमबार १३:४८, मनाङ

हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ। वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१/८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) ले जनाएको छ।

यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी ५८, बाख्रा, खसी र च्याङ्ग्रा २२, घोडा एक र गाई, गोरु छ गरी ८७ पशुचौपायको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) का प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार हिउँ चितुवा, चितुवा र भालुलगायत जङ्गली जनावरको आक्रमणबाट यहाँका किसानले पशुधनमा क्षति व्यहोर्नुपरेको छ।

गतवर्षको तुलनामा यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी बढी मरेका छन्। गत आर्थिक वर्ष २०८०/८१ मा याकचौरी १७, बाख्रा, खसी र च्याङ्ग्रा ३७ र घोडा एक मरेका प्रमुख भुजेलले बताए। आहारको अभावले वन्यजन्तुले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको उनले बताए। उनले भने, ‘मांसाहारी वन्यजन्तुको आहार वनजङ्गलमा पाउन मुस्किल भएपछि घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको हो।’

याकचौरी खुला आकाशमा पाल्ने प्रचलन छ। एकै किसानले धेरै सङ्ख्यामा याकचौरी पालन गर्छन्। जसले गर्दा जोगाउन मुस्किल हुने गरेको छ । उनले भने, ‘याकचौरीका बाच्छाबाच्छीको सुरक्षाका लागि अहिले भने तारबार लगाएर सुरक्षित बनाइन्छ। तर, ठूला भएका याकचौरी खुला चौरमा नै राख्ने गरिन्छ। जसले गर्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको अध्ययनले देखाउँछ।’

साना चौरी भाग्न सक्दैनन्। जसले गर्दा बढी आक्रमणमा पर्ने गरेका छन्। तर, ठूला याकचौरी भाग्ने गर्दछन् र आक्रमणमा पर्दैनन्। विगतमा चरण क्षेत्र (खर्क) मावन बस्ती नजिकै हुने र अहिले तापक्रम वृद्धि हुँदै गएपछि खर्कमाथि सर्दै जाँदा वन्यजन्तुको आक्रमण बढ्दै गएको प्रमुख भुजेलको अनुमान छ।

उनले भने, ‘जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रको खर्कमा परेको छ । यसको प्रभावले तापक्रम वृद्धि भई खर्क माथि सर्दै गएको छ। खर्क माथि सरेर पशुको चरण क्षेत्र वनजङ्गलको नजिक हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने सम्भाव्यता बढेको छ।’ पानीको मुहान भएका क्षेत्रमा घाँसे मैदान (खर्क) हुने भएकाले वन्यजन्तुको आक्रमणको जोखिम कम हुने गरेकामा अहिले परिवर्तन भएको पाइन्छ।

पशुपालक किसान एवं याकचौरी कृषक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थाकालीले भने, ‘विगतमा वन्यजन्तुको आक्रमण हुन्थ्यो। तर, कम हुने गर्दथ्यो। अहिले बढ्दै गएको छ।’ 

पहिला पशु मरे भने क्षतिपूर्ति पाउने प्रावधान थिएन। जसले किसान मर्कामा पर्ने गरेका उनले बताए। पशुधनमा क्षति भए सरकारले किसानलाई प्रोत्साहन र सहयोग पु¥याउने उद्देश्यले क्षतिपूर्तिको व्यावस्था गरेको छ।

जसले पशुपालक किसानलाई राहत महसुस भएको अध्यक्ष थकालीको भनाइ छ। पानीका मुहान सुक्ने र समयमा हिमपात नहुँदा तल्लो क्षेत्रमा घाँसेमैदान हराउँदै गएकाले जङ्गल क्षेत्रमै चरण क्षेत्र बन्ने गरेको छ।

जसले गर्दा वन्यजन्तुको आक्रमण बढ्दै गएको आँकलन गर्न सकिने एक्यापले जनाएको छ। पानीको अभावले घाँसेमैदानको ठाउँ नै फेरिदा यहाँका पशुपालक किसानलाई समस्या हुनुका साथै जोखिममा पर्ने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad