कारोबार


कृषकलाई आकर्षित गर्दै मादले काँक्रो

कृषकलाई आकर्षित गर्दै मादले काँक्रो

नेपालखबर
असोज २३, २०८२ बिहिबार ११:३५, तनहुँ

तनहुँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन्।

आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि आम्दानी बढेको बताए। उनले यस वर्ष आफूले पनि काँक्रो बिक्री गरी रु ४० हजार ५०० आम्दानी गरेको बताए।

गुरुङले ५० बोट काँक्रोका बिरुवा लगाएका छन्। ‘बजार नपाउँदा विगतमा काँक्रो कुहिएर जाने गरेको थियो । हाल बजार राम्रै छ’, उनले भने,‘गाउँपालिकाले हाम्रो उत्पादन हाटबजारसम्म निःशुल्क ढुवानी गरिदिएको छ, त्यसकारण सहज रूपमा काँक्रो बिक्री भइरहेको छ । यसले हामीलाई निकै सहज भयो।’

सोही ठाउँका जितबहादुर गुरुङले रु ३० हजार ५००, तुलबहादुर गुरुङले रु १२ हजार ५००, सङ्गीता गुरुङले रु ४५ हजार ५००, लालश्री गुरुङले रु ४५ हजार ५००, तेजबहादुर गुरुङले रु २० हजार ५००, डिलुमाया गुरुङले रु १२ हजार ५००, रत्नमाया गुरुङले रु १४ हजार ५००, सीता गुरुङले रु नौ हजार ५००, रजमाया गुरुङले रु दश हजार ५००, फूलमाया गुरुङले रु ३५ हजार ५००, धनमाया गुरुङले रु १५ हजार ५००, खड्क गुरुङले रु ५० हजारको मादले काँक्रो बिक्री गरेका छन्।

छिम्केश्वरी कृषक समूहमा आबद्ध यीलगायत कृषकले मात्रै रु चार लाख तीन हजार बराबरको मादले काँक्रो बिक्री गरेको कृषक जितबहादुर गुरुङले जानकारी दिए। आँबुखैरेनीमा प्रत्येक सोमबार र शुक्रबार लाग्ने हाटबजारमा आफूहरूले उत्पादन गरेको मादले काँक्रोले राम्रो बजार पाएको उनले सुनाए।

‘गाउँपालिकाले जति उत्पादन भए पनि बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हामी ढुक्क छौँ । यसले कृषकलाई आकर्षित गरेको हो’, गुरुङले भने।

गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकले करिब पाँच हजार ५०० केजी मादले काँक्रो उत्पादन गरी बिक्री गरेको जानकारी दिए।

उनका अनुसार छिम्केश्वरी कृषक समूहका कृषकले रु चार लाख तीन हजार, घलडाँडा कृषक समूहका कृषकले रु एक लाख नौ हजार, केउरिनी कृषक समूहका कृषकले रु ७६ हजार, माई छिम्केश्वरी कृषक समूहका कृषकले रु १८ हजार, खोलागाउँ कृषक समूहका कृषकले रु तीन हजार, एकता कृषक समूहका कृषकले रु २६ हजार बराबरको काँक्रो बिक्री गरेका छन् । यसबाट ४४ जना कृषक लाभान्वित भएका छन्।

केसीका अनुसार आँबुखैरेनी गाउँपालिका–५ र ६ मा धेरैले काँक्रोखेती गरिरहेका छन्। विगतमा विभिन्न जटिलतासँगै रोग कीराको प्रकोप, प्राविधिक ज्ञान र बजार समस्याका कारण सोचेअनुरुप उत्पादन हुन सकिरहेको थिएन। गाउँपालिकाले मादले काँक्रोलाई रैथाने बालीका रूपमा राखेर प्रवर्द्धनमा सहयोग गरेपछि केही समस्या समाधान भएको केसीको भनाइ छ।

उनले भने, ‘यस वर्ष दुई वडाका ४४ जना कृषकले पाँच दशमलव पाँच मेट्रिक टन काँक्रो उत्पादन गरेर बिक्री गर्न सफल हुनुभयो । विगतमा उत्पादन भए पनि बजारीकरण मुख्य समस्याका रूपमा थिया । हाटबजारबाट यसको बजारीकरण हुँदा कृषक उत्साहित हुनाका साथै उत्पादन बढाउन प्रोत्साहित हुनुभएको छ।’

आँबुखैरेनी गाउँपालिका–२ मा प्रत्येक सोमबार र आँबुखैरेनी गाउँपालिका–३ मा प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको छ। गाउँपालिकाभित्रका सबै कृषकले आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बिक्री गर्ने गर्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad