कारोबार


पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १५:२०, मुस्ताङ

यहाँको थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ। स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी-जोमसोम सडकमार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गरेका हुन्।

लामो समय काठमाडौँमा होटल व्यवसाय सञ्चालन गरेका शेरचन राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको सहज पहुँच भएसँगै जन्मथलो फर्केर व्यवसाय सुरु गरेका हुन्। उनले थासाङ क्षेत्रमा पर्यटन विकास र स्तरीय होटल नभएका कारण पर्यटक लोभ्याउन ‘माटोको घर’ अर्थात् ‘मड रिसोर्ट’ निर्माण गरेको बताए।

शेरचनले सन् २०२० बाटै रिसोर्ट निर्माण सुरु गरेका थिए। रिपोर्टमा डाइनिङ हल र किचन कोठाबाहेक सुविधा सम्पन्न १० कोठा छन्। कोभिड र आन्तरिक समस्याका कारण रोकिएको निर्माणकार्य हालै सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ।

दुई करोड ५० लाख लागतमा निर्मित रिसोर्टमा छड, सिमेन्ट र बालुवा प्रयोग नगरी केवल माटोले मात्रै निर्माण गरिएको सञ्चालक शेरचनले बताए। उनका अनुसार विदेशीले बनाएका पूर्वाधार सामाजिक सञ्जालमा हेरेर भूकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री रिसोर्ट बनाइएको हो। यस प्रकारको संरचना निर्माण गर्दा पर्याप्त जानकारी नहुँदा केही बढी लागत लागेको शेरचनले सुनाए।

'माटोबाटै कोठा निर्माण गरिएका छन्। बाँस बस्न आउने पाहुनाका लागि शान्त र सुन्दर वातावरणमा आरामदायी सुविधा उपलब्ध गराउने हाम्रो सोच हो', उनले भने, 'समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको यस क्षेत्रमा बाह्रै महिना बस्न मिल्नेगरी वातवरणीय अनुकूलताको सुविधाका लागि माटोको घर (रिसोर्ट) निर्माण गरेको हुँ।'

सञ्चालक शेरचनले अब रिसोर्ट नजिकै एड्भेन्चर कार्यालय, स्ट्रिम बाथ, कोशेली घरलगायत विभिन्न ‘शो रुम’ निर्माण गर्ने योजना रहेको बताए। रिसोर्टका कोठाहरूको बाहिरी आवरणमा हिमाली धार्मिक तथा सांस्कृतिक पहिचान, जैविक विविधता र पर्यटकीयस्थललगायत चित्र कोरेर थप आकर्षक बनाउने लक्ष्य राखेको उनले जानकारी दिए।

'गाउँ छोडेर लामो समयसम्म काठमाडौँमा होटल सञ्चालन गरेको थिए। गाउँघरमा भइरहेको तीव्र विकासले गाउँतिर फर्काएको हो। मुक्तिनाथ दर्शन र कोरलानाका अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक आउन थालेकाले यहाँको पर्यटन सम्भावना देखेर थातथलो आए। यसै यतै बसेर नयाँ ढङ्गले होटल सञ्चालन गर्छु', शेरचनले भने।

यहाँको थासाङ गाउँपालिकाभित्र टिटी ताल, भूतर्छो ताल, सेकुङ ताल, धौलागिरि आइसफल, लुप्साङ खर्क, गुरुसाङ्वो गुफालगायत धार्मिक तथा सांस्कृतिक र जैविक विविधता रहेको छ। रिसोर्ट बनेपछि तिनको प्रचारमा पनि योगदान पुग्ने विश्वास गरिएको छ। यहाँको कालिगण्डकी फाँटमा साहसिक मोटरसाइकल ‘रेस’ र साइकल ‘ट्रेल’ रहेकाले पर्यटकका लागि थासाङ क्षेत्र उपयुक्त पर्यटकीय गन्तव्य रहेको छ । यहाँ घनाजङ्गल र याकचौरी खर्क रहेकाले पछिल्लो समय थासाङ क्षेत्र चलचित्र ‘हब’ बन्न थालेको छ।

'सम्भावना भएर पनि थासाङ क्षेत्र जिल्लाका अन्य स्थानभन्दा विकासका दृष्टिले पछाडि नै छ। रिसोर्टमार्फत यस ठाउँको विकासमा केही गर्न सकिन्छ की भनेर गाउँ फर्किएको छु,' शेरचनले भने, 'रिसोर्टमा बसेका पर्यटकबाट सकारात्मक प्रतिक्रिया आएकाले आफूलाई थप उत्साहित बनाइरहेको छ। पक्कै पनि यहाँ थप चहलपहल बढी पर्यटकीय तथा आर्थिक विकासमा टेवा पुग्ने छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad