कारोबार


ठेकेदारले माटो मिसिएको गिट्टी प्रयोग गरेपछि भत्काइयो ढलान

ठेकेदारले माटो मिसिएको गिट्टी प्रयोग गरेपछि भत्काइयो ढलान

नेपालखबर
पुस २२, २०८२ मंगलबार ७:१, म्याग्दी

म्याग्दीको धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन्।

दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो। 

योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ९सुविन०, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाएका हुन्।

स्थानीयवासीले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित पुग्दा उक्त ठाउँमा पिसिसी ढलानका क्रममा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनर्निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताए।

‘निर्माणस्थलमा तयार पारिएको मसला (सिमेन्ट, गिट्टी र बालुवा) को मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो’, उनले भने, ‘निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । निगरानी र अनुगमनमा कडाइका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिएका छौँ।’

स्थानीयवासी विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शङ्का लागेपछि व्यवसायीलाई सचेत बनाउँदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक र जनप्रतिनिधिहरूलाई जानकारी गराएको बताए।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो।

निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता जनाए। 

पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरको विषयमा लिखित रूपमा स्पष्ट निर्देशन दिए पनि कमजोरी देखिनु ठेकेदारको कमजोरी भएको बताए।

गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यस आयोजना म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त हो। हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब छ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ। ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ।

छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो। यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो।

आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ। यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो।

यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी ९सात किलोमिटर० र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको छ।

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ। म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ। 

धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी जलजला हुँदै ढोरपाटन हालै सडक सञ्जालमा जोडिएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad