नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ हरेक मंगलबार सामाजिक सञ्जालमा गणेशको स्तुति पोस्ट्याउँछन्।
प्रस्ट छ– उनी विघ्नहर्ता गणेशका भक्त हुन्। संयोग नै भनौँ, अञ्जनका पिताको नाम पनि गणेश नै हो।
अञ्जन अहिले जे छन्, त्यसमा उनका ‘ठूलाबा’ बुद्धिबहादुर र पिता गणेशबहादुरको मार्गनिर्देशन, मामा आजाद श्रेष्ठको आडभरोसा, दाइ सुनिल (ठूलाबा बुद्धिबहादुरका छोरा) तथा भाइहरू निरञ्जन अनि निराकारको पनि उत्तिकै योगदान छ।
मामा उपाध्यक्षबाट विदा भए, भाञ्जा अध्यक्ष बने
महासंघको नेतृत्वका निम्ति अञ्जनका मामा आजाद श्रेष्ठ अगाडि सरेका थिए। २०५६ सालतिर पोखरा उद्योग वाणिज्य संघले बहालवाला अध्यक्ष हुँदा नै आजादलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएको थियो।
समय कस्तो थियो भने, मोफसलबाट पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका थिए।

मुल्मीपछि महासंघको नेतृत्वमा पुनः मोफसल अनि पोखराबाट प्रतिनिधित्व गराउनुपर्छ भन्ने मान्यताकै कारण ‘चतुर’ आजादलाई केन्द्रीय सदस्यमा पुर्याइएको थियो। उनी कालान्तरमा महासंघको उपाध्यक्षसम्म भए। अध्यक्षमा चाहिँ उनलाई सफलता मिलेन।
मामा आजादले महासंघको राजनीतिबाट विदा लिँदै गर्दा भाञ्जा अञ्जन अगाडि बढे। अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष बनेका उनी अहिले विधानतः अध्यक्ष बनेका हुन्। अञ्जनका पिता गणेशबहादुर पनि कुनै चेम्बर राजनीतिमा संलग्न थिए।
गणेशबहादुर पोखरा उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन्। त्यस्तै अञ्जनका दाजु सुनिल र भाइ निरञ्जनले पनि पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यको रुपमा काम गरिसकेका छन्।
त्यो बलियो जरा र फैलिएको यो वृक्ष
पोखराको बागबजारमा अञ्जन जन्मिँदा अहिले नेपालकै प्रतिष्ठित र सफल ‘लक्ष्मी समूह’को उदय भएकै थिएन। हजुरआमा पुतलीदेवीले चलाउँदै आएको परम्परागत दोकानमा पिताले पुष्टकारीमा भाग्य अजमाउन खोजे।
तर, भनेजस्तो नभएपछि ठूलाबा र पिता दुवैले जागिरमा हात हाले। गणेशबहादुरले जागिर छाडे।
केही नयाँ गरौँ भन्ने भावना बोकेर दाजुभाइ बटौली पुगे। घुम्दै गर्दा भारतीय नागरिक चन्द्रभालको मिठाइ पसलमा पुगे।
आधुनिक ‘कटर मेसिन’ले मिठाइ काटेको देखेपछि पुष्टकारीको सपना ब्युँतियो। दाजुभाइले ‘कटर मेसिन’ मागेका के थिए, चन्द्रभालले पूरै मेसिन र काम गर्ने मान्छे नै पठाइदिने वचन दिए।
दाइ बुद्धिबहादुर र चन्द्रभाल बनारसतिर लागे भने गणेश पोखरा फर्के। घर पछाडिको खरको टहरो भत्काएर उद्योग राख्ने ठाउँ बनाए।
चक्लेट कुुन चराको नाम हो भन्ने थाहै नभएका छिमेकीले भएको घर पनि भत्काउन थालेपछि ‘बहुला’ भनेर खिसी गरे। हौस्याउने काका तिलकबहादुर बजिमयले खोजिदिएको ६ हजार ऋणकै जगमा चुलो बनाए, मेसिन गाडे।
‘पहिलो दिन त माल राम्रो निस्क्यो तर दोस्रो दिन मेसिनले काम गरेन,’ गणेशहादुरले नेपालखबरसँगको एउटा भेटमा भनेका छन्, ‘काका (तिलकबहादुर)ले झारफुक गरे। संयोग, फेरि उत्पादन हुन थाल्यो।’
बजारमा नेबिको चक्लेटको बोलवाला थियो। त्यस्तै मिठाइ बनाउनुपर्छ भनेर खुब कस्सिए उनीहरू। नढाँटी भन्दा नक्कल नै गरे ।
विघ्नहरू हरण हुँदै गए। गणेशबहादुर त्यो बेला अञ्जन/निरञ्जनहरूलाई पिठ्युँमै बोकेर सामान बेच्न हिँड्थे रे!
उद्योग दर्ता गराउन छिमेकी वसन्त उदासले लेखेको निवेदन लिएर कम्पनी दर्ता गर्न जाँदा कन्फेक्सनरीको नाम सुनेर कर्मचारी नै झस्किएको गणेशबहादुर अझै सुनाउँछन्।
कर्मचारीले नाम नै नबुझेपछि ‘लक्ष्मी मिठाइ भण्डार’को नाममा वैधानिक रुपले सुरु भएको उद्योग नै अहिलेको लक्ष्मी हाउस हो।
गणेशबहादुरले हालैको भेटमा नेपालखबरसँग भनेका थिए, ‘बागबजारमा उद्योग चल्दै थियो। २०३३ सालतिर औद्योगिक क्षेत्र खुल्यो। उद्योग पनि ठूलो बनाउनुपर्छ भन्ने लाग्यो। हामी मेसिन हेर्न भारत गयौँ। त्यहाँ कन्फेक्सनरी भन्ने मिठाइ उद्योग देखेका थियौँ। उद्योग विभागमा आएर लक्ष्मी कन्फेक्सनरी उद्योग दर्ता गरिदिनुस् भन्यौँ। तर, कर्मचारीहरूले कन्फेक्सनरी भनेको के हो ? भनेर सोधे। त्यसको ठ्याक्कै अर्थ त हामीलाई पनि थाहा थिएन तर मिठाइ उद्योग हो भनेपछि उनीहरूले लक्ष्मी मिठाइ भण्डार नाम राखिदिए।’
२०३० सालदेखि २०४२ सम्म आइपुग्दा बुद्धिबहादुर/गणेशबहादुरले लक्ष्मी सोप एण्ड केमिकल इन्डस्ट्रिजबाट लक्ष्मी सोप नामक साबुन उत्पादन गरे। लक्ष्मी सफ्ट ड्रिक्स उद्योग खोलेर लेमना ब्रान्डको पेय निकाले। तर, ती दुवैमा सफलता मिलेन। मिठाइले चाहिँ उनीहरूलाई धोका दिएन।
आध्यात्मिक भएकोले लक्ष्मीलाई आफ्नो ब्राण्ड बनाएको बताउने गणेश आफैँ अध्यक्ष रहेको लक्ष्मी हाउसको छानामुनि सुजल फुड्स, सुजल फुड्स डेरी डिभिजन, लक्ष्मी कन्फेक्सनरी, जया कन्फेक्सनरी,सुजल प्लास्टिक, जयमा लक्ष्मी इन्टरनेसनल प्रालि, जया प्याकेजिङ, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाइ गाडीको आधिकारिक बिक्रेता र नेपाली उत्पादक), लक्ष्मी स्टिललगायतका उद्योगधन्दा छन्।

मिहिनेत र इमानमा अडेको लक्ष्मी समूह
बुद्धिबहादुर र गणेशबहादुरले ऋण लिए तर इमान जोगाए।
अहिले नेपालमै विदेशी ब्राण्डको गाडी एसेम्बल गर्ने लक्ष्मी समूहका अध्यक्ष कुनै बेला पोखराको बागबजारबाट झण्डै पौने घण्टाको पैदल यात्रा गरी औद्योगिक क्षेत्र पुग्थे रे!
‘पोखरामा यातायातको साधन थिएन। हामी बागबजारबाट हिँडेर नै कुँडहर पुग्थ्यौँ। पौने घण्टा लाग्थ्यो। कहिले साइकलमा जान्थ्यौँ। पोखरामा त्यो बेला चल्ने भनेको ९ नम्बरको ढ्वाङ थियो। विन्ध्यवासिनीबाट पृथ्वीचोकसम्म। कहिलेकाहीँ त्यसमा चढेर पृथ्वीचोकसम्म र त्यहाँबाट फेरि हिँडेर नै औद्योगिक क्षेत्र गइन्थ्यो। त्यसमा हाम्रो गुनासो थिएन’, गणेशबहादुरले भने, ‘२०३६/३७ सालतिर मैले ९ हजारमा पुरानो एम्बेस्डर गाडी किनेँ। पुरानो गाडी बिग्रिने भइराख्थ्यो। तर, त्यसले आउजाउ सजिलो भयो।’
द्वन्द्वले दिएको दुःख
धार्मिक स्वभावका दाजुभाइले सुरुवाती दिनमा जति दुःख गरे, त्यति नै कमाए पनि।
तर, त्यो कमाइलाई उनीहरूले अन्यत्र लगानी गरेनन्, उद्योगमै खन्याए। आफन्त र छोरा–नातिलाई पनि उद्योग क्षेत्रमै लगाए।
माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको समय असाध्यै पीडादायक रह्यो। ज्यानै लिनेसम्मको धम्कीका कारण गणेशबहादुरहरू व्यवसाय नै छाड्ने हो कि भन्नेसम्मको सोच बनाउन बाध्य बने।
त्यो बेला केही भारतीय साथीहरूले ‘तिमीहरूसँग सीप र क्षमता छ। नेपालभन्दा भारतकै बजार ठूलो छ’ भन्दै निम्ता नदिएका पनि हैनन्। तर, गणेशबहादुरले त्यता मन लगाएनन्।
‘हामीले जे कमाएका छौँ, यही नेपाल माताकै आशीर्वादबाट कमाएका हौँ। जे इज्जत र सम्मान पाएका छौँ, त्यो नेपालमै पसिना बगाएकाले पाएका हौँ, जे त होला तर देश छाड्नुहुन्न भन्ने अठोट गरियो। केही महिना घर छाडेर बस्नुपरे पनि हरेस खाइएन’, गणेशबहादुरले ती दिन सम्झिँदै भने।
छोरामात्र हैन, नाति पुस्ता पनि!
गणेशबहादुरका अनुसार लक्ष्मी ग्रुपको एउटै उद्देश्य छ– जति कमाइन्छ, त्यो उद्योगमै लगाउने।
‘हामी दुई भाइका ८ जना नाति छन्। एउटी नातिनी यहीँ पढ्दै छन्। ७ जना बाहिर पढेका। कोही अमेरिका, कोही सिंगापुर पढेका। सबै विदेश पढेर पनि फर्केर आएका छन्। यही ग्रुपमा आएर हामीलाइ सघाइरहेका छन्। अहिले हामीले उद्योगसँगै नातिहरूलाई एउटा नातिलाई ट्रेडिङ बिजनेस कस्तो हुन्छ भन्ने बुझ्नका निम्ति खटाएका छौँ। पहिला हामी दुई भाइले उद्योग सुरु गर्दा पनि हामीले जे जति कमाइ गरेका थियौँ, उद्योगमै लगानी गरेका छौँ’, गणेशबहादुर भन्छन्, ‘केही पैसाले घर बनाएको होला, गाडी चढेको भनेको होला। त्यो सापेक्षिक आवश्यकता हो। जति कमाइ हुन्छ, उद्योगमा लगाऊ। उद्योगजस्तो अरु केही छैन। तर, एउटै उद्योग नगर। भेराइटीहरू बनाऊ, डाइभर्सिफाइड गर।’
रिस नगर, उद्योग खोलेर हेर
गणेशबहादुरलाई अहिले पनि नयाँ उद्योग खोल्न पायो हुन्थ्यो भन्ने लाग्छ रे!
‘उद्योगमा गाह्रो छ, व्यवसायमा सजिलो छ। व्यापारमा आजै नाफा छ, उद्योगमा १० वर्षपछि बल्ल नाफा आउला। रिस्क नलिई उद्योग चल्दैन। मसँग केही पूर्वकर्मचारीहरू रिटायर्ड लाइफमा ‘के गरौँ’ भनेर सोध्नुहुन्छ। म उहाँहरूलाई उद्योग खोल्न सुझाव दिन्छु। उद्योग खोल्दा कति रिस्क मोल्नुपर्छ र कति दुःख हुन्छ भन्ने बुझेपछि तपाईंहरूले उद्योगीलाई हेर्ने दृष्टिकोण बदलिन्छ भन्छु’, उनले सुनाए।
गणेशबहादुर थप्छन्, ‘उद्योगीलाई अहिले पनि कालोबजारी नै हुन् भनेको छ। यस्तो नसोचियोस्! उद्योगी व्यवसायीले रोजगारी दिएको छ, राजस्व बुझाएको छ। बाहिरबाट आउने प्रतिस्थापित गरिरहेको छ भन्ने मनन गर्नुपर्यो। सम्मान गर्न परेन तर हतोत्साही गर्नुभएन। हिजो हामीले दरिद्रताले पिल्सिएर नगरी नहुने भएर उद्योगमा हात हालेको हो। वातावरण नै भएन भने अहिलेका केटाहरूले कहाँ गर्छन्? जसरी एउटा विद्यार्थीले मिहिनेत गदै डाक्टर गर्छ, एउटा व्यवसायी पनि सानो काम गर्दै अगाडि बढ्ने हो भन्ने बुझाउनुपर्यो। हाम्रा युवाहरूलाई भारतको गुजरातसहितका केही प्रदेशमा पठाइदिने हो भने उनीहरू काम भनेको के हो भन्ने बुझेर आउँछन् भन्ने लाग्छ। उद्योगमा पनि पुस्तान्तरण हुनुपर्छ। नयाँ दिमागले नयाँ काम गर्छ। रिस्क बढी मोल्छ। मेरोमा अहिले ३ हजार जति कर्मचारी होलान्। त्यो छोराहरूले गर्दा नै भएको हो।’
Shares

प्रतिक्रिया