पाल्पाको रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा स्थानीय किसानले कालिज पालन सुरु गरेका छन्। रामपुर नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले कालिज पालन व्यवसाय सुरु गरिएको छ।
चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन गरिएको छ।
व्यवसायी लोकमाया रानाले आफूले गरेको कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताइन्। गत जेठमा उनका छोरा मनिम रानाले सो व्यवसाय सुरु गरेका हुन्।
उनको फार्ममा हाल एक सय ५० कालिज छन् । गत जेठमा पोखराबाट पाँच सय चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको हो। नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको लोकमायाले बताइन्। जङ्गलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेका छन्।
एउटा चल्ला रु चार सयमा खरिद गरेर पाल्न थालिएको हो। करिब चार रोपनी जग्गा भाडामा लिए आफूसँगै एक जना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिइन्। पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त उनको भनाई छ।
करिब रु ३० लाखको लागतको लगानीमा व्यवसाय सञ्चालन गरिएको छ । अहिले यस क्षेत्रमा कालिजको मूल्य भाले रु तीन हजार, पोथी रु दुई हजार पाँच सयमा बिक्री हुने गरेको छ।
कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषत छदेखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ।
कलिलो तथा नरम घाँस घरमै खस्रो बनाएर पिसेको गहुँ, मकैको दाना कालिजको आहार हो । कालिजको मासुको माग पछिल्लो समय अत्यधिक मात्रामा बढ्दो छ।
कालिजपालन व्यवसायमा पछिल्लो समय युवाको आकर्षण बढिरहेको देखिन्छ । अहिले बजारमा कालिजको माग बढ्दो छ । बजार मूल्य राम्रो हुन थालेपछि यसको व्यावसायिक पालनमा आकर्षण बढ्न थालेका हुन्। रासस
Shares

प्रतिक्रिया