कारोबार


थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ९:४८, रुपन्देही

पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन्।

एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिन इनर्जी फण्डबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवरद्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ विद्युतीय सवारीसाधन कोषले यहाँ ल्याएको थियो। 

लुम्बिनीमा ल्याइएका १४  भ्यान र पाँचवटा विद्युतीय बस वातानुकूलित, अपाङ्गमैत्री र स्वचालित ढोका भएका छन्। प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ। एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्ने उक्त बस/भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा रहेको जनाइएको छ। 

यही वैशाख १३ गते लु१झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्रामक्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना समेत भएको थियो । सेतोलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न अदालतले एक महिनाको समयसीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, ‘उक्त समयसीमा पनि नाघिसक्यो, अवस्था ज्युँका त्युँ छ।’

‘कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ’, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, ‘अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइने छ।’

लामो समयसम्म खुला आकाशमुनि एकै ठाउँमा थन्क्याएर राख्दा जाम हुने, बिग्रिने र ब्याट्री डिस्चार्ज हुनेजस्ता डर भएर कोषले आन्तरिक प्रयोजनका लागि गुडाउँदै गर्दा केही सवारीसाधनमा सामान्य क्षति पुगेको र  आगामी दिनमा त्यस्तो नहुन नदिने बताएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad