जीवन बीमक सङ्घ नेपालले दुई संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई नगद सहयोग गरेको छ।
संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार काठमाडौं इन्स्टिच्युटका डा. भागवान कोइरालालाई ४० लाख र समता एडुकेसनका निर्देशक दिपक सन्जेललाई ३० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक सङ्घ नेपालका अध्यक्षलगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशक समेतको उपस्थितिमा काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको थियो।
समता एडुकेसन ट्रस्ट संस्थाले देशभर ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ। त्यसैगरी, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ७ मा सहज र सुलभ मूल्यमा पेडियाट्रिक सुविधासहितका बाल अस्पताल बनाउने उद्देश्य लिएको छ भने नेपालको सातैवटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ।
जीवन बीमक सङ्घ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।
आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने उनको भनाइ थियो।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले राम्रो काम गर्ने समाजसेवी संस्थाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताए। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सबै कम्पनीहरुले यस्ता कार्य गर्नुपर्ने उनले बताए।
Shares
प्रतिक्रिया